
काठमाडौः बहुचर्चित ३३ किलो सुन प्रकरणका अर्का फरार व्यक्ति पक्राउ परेका छन्।
तस्करीका मुख्य नाइके भनिएका चुडामणि उप्रेती 'गोर'का भाई रमेश उप्रेतीलाई प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको हो। मंगलबार बिहान दुबईबाट एयर अरेबियाको विमानबाट आएका उनलाई नियन्त्रणमा लिएको थियो। उनलाई तीन वर्षअघि दुबई प्रहरीले नियन्त्रणमा लिएको थियो। तर आवश्यक कागजपत्र नेपाल प्रहरीले उपलब्ध गराउन नसक्दा नेपाल ल्यााउन सकेको थिएन।
सुन प्रकरणका मुख्य योजनाकार भनिएका गोरेलाई अदालतले जन्मकैद सजाय सुनाइसकेको छ।
२०७४ माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ केजी सुन बाहिरिएको थियो। विमानस्थलबाट सहजै बाहिरिएको सुन बानेश्वर र एयरपोर्टको बीच बाटोबाट नै गायव भएको थियो। यही विषयमा सुन तस्करबीच विवाद भएपछि २०७४ फागुन १८ गते ३५ वर्षीय सुन व्यापारी सनम शाक्यको हत्या भयो र तस्करीका घटनाका प्लट बाहिरिएका थिए।
दुबईमा रहेका गोरेका भाइ रमेश उप्रेतीले तस्करीको सुन बोकाएर नेपाल पठाउने गरेको आरोप अभियोग पत्रमा उल्लेख थियो। ३३ केजी सुन हराएको जानकारी रमेशलाई पहिले नै थियो। गोरेले फोनमार्फत् हराएको सुन खोजी भइरहेकोसमेत उनलाई जानकारी दिएका थिए। सनमको हत्या भएको दिन गोरेले सबैभन्दा पहिलो जानकारी दिने व्यक्ति उनै रमेश भएको अभियोग पत्रमा प्रतिवादीहरुको बयानबाट खुल्छ।
२०७५ वैशाख १९ गते सातजना प्रहरी सहित ६३ जना विरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको थियो। सङ्गठित अपराध, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानमा मुद्दा दर्ता भएको थियो।
अझैसम्म ३३ किलो सुन कहाँ गयो भन्ने पत्ता लाग्न सकेको छैन।