
पोर्चुगिच फुटबल स्टार क्रिस्टियानो रोनाल्डोको नवनिर्मित मूर्तिलाई लिएर भारतको गोवामा विवाद चलिरहेको छ। भारतीय फुटबल खेलाडीलाई सम्मान गर्नुको सट्टा पोर्चुगिच खेलाडीको मूर्ति बनाइएको भन्दै बिरोध भएको हो।
भारतको गोवा राज्यका मन्त्री मिचेल लोबोले २९ डिसेम्बरमा सामाजिक सञ्जाल ट्वीटरमा रोनाल्डोको मुर्तिसँगको तस्बिर सेयर गर्दै फुटबलप्रेमी युवाहरुको अनुरोधमा आफूहरुले पार्कमा रोनाल्डोको मूर्ति राखेको उल्लेख गरेका छन्। जसमा उनले यो कदमले युवाहरुलाई फुटबललाई अझ माथि लैजान प्रेरणा मिल्ने उल्लेख गरेका छन्।
For the love of football and at the request of our youth we put up Cristiano Ronaldo's statue in the park to inspire our youngsters to take football to greater heights. It was an honour to inaugurate the beautification of open space, landscaping, garden with foundation & walkway. pic.twitter.com/VU5uvlSlMT
— Michael Lobo (@MichaelLobo76) December 28, 2021
'जब मानिसहरुले फुटबलको कुरा गर्छन्, तब रोनाल्डोको कुरा गर्छन्। त्यसैले हामीले यो मूर्ति राख्यो ताकी हाम्रा युवाले प्रेरणा पाउन सकुन् र यो खेलप्रतिको प्यासन बढेर जावस।' उनले पछि भनेका छन्।
गोवाको मुख्य शहर पनाजीमा यो ४०० किलोको मुर्ति राखिएको भोलिपल्टै मानिसहरु कालो झण्डा लिएर विरोधमा उत्रिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
विरोधमा उत्रनेहरुले विदेशी खेलाडीको मूर्ति राखेको विषयलाई मात्र नभएर पोर्चुगलकै खेलाडीको मुर्ति राखिएकोमा धेरै आक्रोशित बनेका हुन्। गोवामा पोर्चुगलले शताब्दी भन्दा लामो समयसम्म उपनिवेश बनाएको थियो भने ६० वर्ष अघिमात्र उपनिवेश हटेको थियो। हालको भारतको अधिकांस क्षेत्र १९४७ मा स्वतन्त्र भए पनि गोवा १९६१ मा मात्र स्वतन्त्र भएको थियो।
भारतीय टोलीबाट समेत खेलिसकेका गोवाका खेलाडी मिकी फर्नान्डेजले यो निर्णयलाई पोर्चुगिच शासनको 'हाङओभर' को भएको प्रतिकृया दिएका छन्।
'रोनाल्डो संसारकै उत्कृष्ट खेलाडी हुन् तर हामीसँग गोवाकै खेलाडीको मूर्ति हुनुपर्थ्यो,' उनले भनेका छन्।