PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

अपरेसन एम्पुल : एउटा लागु औषध तर अर्को नामको लेवलिङ, सेवनकर्ताको ज्यान धरापमा !



पहिलोपोस्ट

अपरेसन एम्पुल : एउटा लागु औषध तर अर्को नामको लेवलिङ, सेवनकर्ताको ज्यान धरापमा !

काठमाडौं : अरु नै नामको औषधीको लेबलिङ गराएर तस्करहरुले लागु औषध कारोबार गर्दै आएको खुलासा भएको छ। लागु औषध नियन्त्रण ब्युरोको टोलीले गरेको अनुसन्धानमा एउटा औषधीको नाममा लागु औषध बिक्री गर्ने गरेको देखिएको हो।

ब्युरोको टोलीले सञ्चालन गरेको 'अप्रेसन एम्फुलु' अन्तर्गत चार जनाको समूहलाई नियन्त्रणमा लिएपछि लागु औषध कारोबार भित्रको अर्को अपराधको खुलासा भएको हो। ब्युरोको टोलीले पुस ७ गते भक्तपुरको दिव्यश्वरी खेल मैदानबाट लागु औषध डाइजेपाम एम्पुल, फेनारगन र बुफ्रेनोफिर्न सहित ३३ वर्षीय कृष्ण राम धकुकुछुलाई नियन्त्रणमा लिएको थियो। त्यसपछि अनुसन्धानको क्रममा विष्णुकुमार देउला, रामेछाप घर भएका भुषणलाई समेत नियन्त्रणमा लिन सफल भएको थियो।

प्रहरीको अनुसन्धान जारी नै रहेको समयमा धादिङ घर भएकी ५० वर्षीय नानीमैयाँ लामा मिजार र भारतीय महिला ३० वर्षीय रम्बादेखवी दासलाई पुस १२ गते प्रहरीले नियन्त्रणमा लियो। उनलाई काठमाडौंको होटेल मदिना एण्ड गेस्ट हाउसबाट नियन्त्रणमा लिएको ब्युरोका एसएसपी हृदय थापाले बताए।

उनीहरूले फेनारगन एम्पुलमा नोर्फिनको लेवलिङ लगाएर बिक्री गर्ने गरेका थिए। यो लागु औषधको एक सेटको मूल्य १ हजार देखि १२ सय रुपैयाँसम्म पर्छ। उनीहरूले यही औषधी भारतबाट भने ८० रुपैयाँ तिरेर ल्याउने गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ। कम मूल्यको औषधीमा महँगो मूल्यको स्ट्रीकर टाँसेर नाफा बढी कमाउन यस्तो गरेको देखिएको हो। जुन औषधी चिकित्सकीय निगरानीभन्द बाहिर प्रयोग गर्दा मानिसको मृत्यु समेत भएको एसएसपी थापा बताउँछन्।

'स्टिकर एउटा, औषधी अर्को पर्न गएर डोज बढी हुँदा मृत्यु समेत हुने गरेको पाइन्छ,' एसएसपी थापाले भने।

भारतीय नागरिक रम्भादेवी २०७५ चैत २९ गते लागु औषध सहित पक्राउ परेकी थिइन्। जिल्ला अदालत काठमाडौँले २ वर्ष कैद र १ लाख रुपैयाँ सजाय सुनाएको थियो। उनी सजाय भुक्तान गरेर निस्किएपछि पुनः लागु औषध कारोबारमा नै लागेको देखिएको छ। त्यस्तै नानीमैयाँ लामा पनि २०७२ फागुन ९ गते एम्पुल सहित पक्राउ परेको मुद्दामा २ वर्ष  कैद भुक्तान गरेर निस्किएकी महिला हुन्। उनीहरू बिच कारागारमा रहँदा नै चिनजान भएको खुलेको छ।

अर्का अभियुक्त विष्णु कुमार देउला पनि २०६४  सालमा ज्यान मुद्दामा १० वर्ष कैद भुक्तान गरेर निस्किएका व्यक्ति हुन्। कृष्ण राम धुकुछु  पनि करणी मुद्दामा १८ महिना कैद भुक्तान गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell