भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ। पछिल्लो एक हप्तादेखि भारतमा दैनिक संक्रमितको संख्या बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा ५८ हजार ९७ जनामा संक्रमण देखिएको छ। यससँगै हाल भारतमा १ लाख ७० हजार भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। मंगलवार ३७ हजार ३७९ जना संक्रमित पहिचान भएका थिए।
यस्तै थप ५३४ जना संक्रमितको मृत्यु भएको छ।
भारतका कयौं राज्यमा ओमोक्रन भेरियन्ट फैलिएर संक्रमितको संख्या बढेसँगै प्रतिबन्धहरु लगाउन सुरु गरिएको छ। भारतको २३ राज्यहरुमा ओमोक्रनको १८०० भन्दा बढी केसहरु पुष्टि भइसकेको छ।
दिल्लीमा मात्रै दुई हप्तायता ४५ प्रतिशत केस बढेको छ। संक्रमण नियन्त्रण गर्न रात्रिकालीन कर्फ्यू लागू गरेको दिल्ली सरकारले अब 'विकेन्ड कर्फ्यू' लगाउने घोषणा गरेको छ। अबदेखि आइतवार र सोमवार दिल्लीमा सरकारी र अत्यावश्यकबाहेका सबै सेवाहरु बन्द हुनेछन्। यस्तै, निजी कम्पनीहरुलाई पनि ५० प्रतिशत कमर्चारीलाई घरबाटै काममा लगाउन भनिएको छ। अरु कयौं राज्यहरुले पनि रात्रिकालीन कर्फ्यू लगाउनुका साथै भिडभाड गर्न प्रतिबन्ध लगाएको छ।
कोरोना हटस्पट नै बनेको महाराष्ट्रमा पनि ओमोक्रनको प्रभाव बढ्दो छ। १० हजार सक्रिय संक्रमित रहेको यो राज्यमा ५०० भन्दा बढी ओमोक्रन संक्रमित रहेका छन्।