काठमाडौं : कञ्चनपुरमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। भारतमा डेल्टासँगै ओमोक्रन भेरियन्टको प्रभाव बढेर कोरोनाको संक्रमण बढ्न थालेपछि सीमा नाका हुँदै नेपाल फर्कनेको संख्या बढ्दै गएको छ। जसकारण यहाँ पनि संक्रमितको संख्यामा वृद्धि भएको हो।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार कोरोनाका सक्रिय संक्रमितको संख्या ४१ पुगेको छ। मंगलवारमात्रै १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भीमदत्त नगरपालिकामा ६, कृष्णपुर नगरपालिकामा एक तथा पश्चिमी सीमानाका हुँदै भारतबाट नेपाल प्रवेश गरेका आठ जनामा संक्रमण देखिएको छ। एन्टिजेन विधिबाट गरिएको परीक्षणमा नौ जनाको नतिजा पोजेटिभ आएको छ भने पिसीआर विधिबाट गरिएको परीक्षणमा ६ जनामा संक्रमण देखिएको छ।
कोरोना संक्रमण देखिएको मध्ये एक जना महाकाली अस्पतालको आइसोलेशनमा छन्। बाँकी सबै होमआइसोलेशनमा छन्।
यसैगरी त्रिनगर सीमा हुँदै नेपाल भित्रिएकाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएकामा १६ जनाको नतिजा पोजेटिभ आएको छ।
हालसम्म कञ्चनपुरमा नौ हजार ८५ जनामा कोरोना पोजेटिभ पाइएको छ। हालसम्म आठ हजार ८२३ जना निको भएका छन्। यस्तै, २०५ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ।
मंगलवारमात्रै सीमा नाका गड्डाचौकी हुँदै नेपाल भित्रिएका यात्रुको संख्या ४८२ रहेको छ। भित्रिनेमा पुरुष २९९, महिला १०० र बालबालिका ३२ छन्। नेपालबाट भारततर्फ जानेको संख्या ४३५ रहेको छ। सोही अवधिमा सीमानाका त्रिनगर हुँदै नेपाल फर्किएका यात्रुको संखर्या ३०९ तथा भारततर्फ जानेको संख्या २५९ छ।