
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमस्टेक)का महासचिव तेन्जिङ लेकफेलले शिष्टाचार भेट गरेका छन्। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा बिमस्टेकमा हालसम्म भएका प्रगतिलाई कसरी अघि बढाउने तथा बिमस्टेक प्रक्रियालाई थप सुदृढ बनाउने विषयमा विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
नेपालको चारदिने भ्रमणमा रहेका महासचिव लेकफेललाई प्रधानमन्त्रीले बिमस्टेकजस्ता क्षेत्रीय संगठनमा नेपालको रचनात्मक संलग्नता रहिरहने तथा बिमस्टेक प्रक्रियाप्रति नेपालको पूर्ण प्रतिबद्धता रहेको बताए। बिमस्टेकले हालसम्मका प्रगतिलाई सुदृढ तुल्याउन तथा क्षेत्रीय सहयोगको आकांक्षालाई साकार पार्न महत्वपूर्ण उपलब्धि हासिल गर्ने विश्वास प्रधानमन्त्रीले व्यक्त गरेका थिए।
भेटका क्रममा महासचिव तेन्जिङ लेकफेलले काठमाडौंमा सम्पन्न बिमस्टेक शिखर सम्मेलन सहयोगका क्षेत्रलाई सुव्यवस्थित र संस्थागत सुदृढीकरणका लागि महत्वपूर्ण कोसेढुङ्गा भएको बताएका थिए। बिमस्टेकप्रतिको नेपालको प्रतिबद्धताको उनले सराहना गरेका थिए।
कोभिड–१९ महामारीका कारण दुई वर्षअघि हुनुपने बिमस्टेकको पाँचौ शिखर सम्मेलन आगामी चैतमा श्रीलंकामा आयोजनाको प्रस्ताव गरेको छ। यद्यपि सदस्य देशबाट त्यो अनुमोदन हुन बाँकी छ।
प्रारम्भमा बंगलादेश, भारत, श्रीलंका र थाइल्याण्डमात्र सदस्य रहेको चारदेशीय उक्त संस्थामा भुटान, म्यान्मार र नेपाल थपिएपछि बिमस्टेक बनेको हो। २०५४ साल जेठ २४ गते स्थापना भएको उक्त क्षेत्रीय सङ्गठनको सदस्यता नेपालले २०६० साल माघमा लिएको हो। रासस