PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

देउवालाई शेखरको प्रश्न : कुन मापदण्डका आधारमा केन्द्रीय सदस्य मनोनीत गरिएको हो?



पहिलोपोस्ट

देउवालाई शेखरको प्रश्न : कुन मापदण्डका आधारमा केन्द्रीय सदस्य मनोनीत गरिएको हो?

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कुन मापदण्डको आधारमा पार्टीको केन्द्रीय सदस्यहरु मनोनित गरिएको हो भनि सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका छन्।

बुधबार नेता कोइरालाले काठमाडौंमा पार्टीको १४ औँ महाधिवेशनमा आफ्नो समुहबाट निर्वाचन लडेका नेताहरुको बैठकलाई सम्बोधन गर्दै 'केन्द्रीय सदस्यहरुलाई के मापदण्ड अपनाएर नियुक्त गरिएको हो ?' भन्दै सभापति देउवालाई प्रश्न गरेका हुन्। उनले पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुनुपर्ने माग समेत गरे। साथै, पार्टी सभापतिलाई मन पर्ने र मन नपर्ने आधारमा व्यक्तिको छनौट भएमा दुर्घटना निम्तिनसक्ने चेतावनी समेत दिए।

'के मापदण्ड अपनाएर उहाँहरु नियुक्त हुनुभएको हो? हामी जान्न चाहन्छौँ। सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनौट भए पार्टीमा दुर्घटना हुन सक्छ। विधि र विधान बाहिर गएर गरिने सबै कामहरु बन्द गर्न हामी एकढिक्का भएर प्रयत्न गर्न जरुरी छ' उनले भने।

कोइरालाले पार्टीका निष्ठावान, इमान्दार र त्यागी नेता, कार्यकर्ताहरुलाई पाखा लगाउने कामका विरुद्ध आवाज उठाउनुपर्ने बताए। पार्टी नेतृत्वको गतिविधि र निर्णयले कांग्रेस संगठनमा निराशा पैदा भए आगामी निर्वाचनहरु असहज हुन सक्ने उनको भनाई छ।

उनले आगामी तीन वटै तहको निर्वाचनमा नेपाली कांग्रेस एक्लै लड्नुपर्ने बताए। 'अब आउने तीनवटा निर्वाचन हामीहरुको सम्मुख छ। नेपाली कांग्रेस एक्लै लड्छ र हामी विजय प्राप्त गर्छौ भन्नेकुरा पनि तपाईहरुको माझमा म भन्न चाहान्छु। कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन हामी देशभरी साथीहरु सामु जानेछौँ' उनले भने।

उनले आफ्नो समुह पार्टीको निर्णय गर्ने ठाउँमा प्रभावकारी हुन नसकेपनि पार्टी भित्र हुने सबै कार्यहरु न्यायसंगत, विधि र विधानसम्मत, विवेकपूर्ण र व्यवहारिक तरिकाबाट निर्णय गराउन आवाज उठाउने बताए। काठमाडौंस्थित होटल बसेरामा नेता कोइराला पक्षका नेताहरुको बैठक बसेको थियो। बैठकमा पार्टीको १४ औँ महाधिवेशनको समिक्षा गर्नुका साथै आगामी कार्यदिशाको सम्बन्धमा छलफल भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell