PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

५० लाख स्रोत नखुलेको रकम सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलको, यस्तो छ सुपारीको अवैध कारोबारसँगको कनेक्सन



अनन्तराज न्यौपाने

५० लाख स्रोत नखुलेको रकम सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलको, यस्तो छ सुपारीको अवैध कारोबारसँगको कनेक्सन

विराटनगर : स्रोत नखुलेको रकमसहित प्रहरीले शनिवार बरामद गरेको रकम सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलको रहेको खुलेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट एयरलाइन्सकी कर्मचारी विराटनगर-४ की ३३ वर्षीया रेशा शाक्य पोखरेललाई ५० लाख रुपैयाँसहित पक्राउ गरिएको थियो। प्रहरीले पक्राउपछि थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको थियो।

विभागले शाक्यसहित तीन जना कर्मचारी नियन्त्रणमा लिएपछि दीपकले सौर्य एयरलाइन्सकै लेटरप्याडमा पचास लाख रुपैयाँ आफ्नो भएको जिकिर गर्दै कर्मचारीलाई रिहा गरिदिन अनुरोध गरेका थिए। विभागले पचास लाख रुपैयाँ धरौटी राखे मात्रै कर्मचारी रिहा गर्न मिल्ने जवाफ पठाएको थियो।

‘दीपक पोखरेलले सौर्य एयरलाइन्सको लेटरप्याडमा पैसा आफ्नो भएको भन्दै कर्मचारीलाई छाडिदिन आग्रह गरेका थिए। त्यसपछि आइतवार नगद वा चेक जम्मा गरिदिन भनेका थियौं,’ विभागका एक कर्मचारीले भने, ‘सोमवार पैसा जम्मा गरेपछि उनीहरु रिहा भएका छन्।’ ती कर्मचारीका अनुसार दीपकलाई विहीवार विभागमा बयानका लागि बोलाइएको छ।

ती कर्मचारीका अनुसार अब स्रोत नखुलेको ५० लाखसँगै पोखरेलका अन्य कारोबारको समेत अनुसन्धान हुनेछ। पोखरेल सौर्य एयरलाइन्समा आउनु अघि पनि सुपारी कारोबारमा जोडिएका थिए। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार हुँदा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सौर्यका सञ्चालक दीपक पोखरेलको नेतृत्वमा रहेको सुपारी समूहलाई २५ हजार टन सुपारी पैठारी गर्ने कोटा दिएका थिए।

स्रोतका अनुसार ५० लाख रुपैयाँ विराटनगरका व्यापारी दिनेश राठीको कार्यालयबाट दिएको भन्ने जानकारी आएको थियो। त्यस बारेमा राठीसँग पनि विभागले टेलिफोनमा सोधपुछ गरेको थियो। सोधपुछको क्रममा राठीले पोखरेलले विभिन्न समयमा कार्गोका सामान दिने गरेको र त्यही सामान नहेरि पठाइदिने गरेको जवाफ दिएका थिए।

विभागले सोधपुछ गरेपछि राठी पनि अहिले काठमाडौं आइसकेका छन्। स्रोत नखुलेको ५० लाखको कनेक्सनका बारेमा राठीसँग पनि थप सोधपुछ हुनेछ।

५० लाख र अवैध सुपारी व्यापारको कनेक्सन कसरी खुल्यो ?

काठमाडौंमा पक्राउ परेकी रेशासँग विभागले सोधपुछ गरेपछि सौर्यका विराटनगरस्थित स्टेसन म्यानेजर प्रकाश पौडेललाई पनि पक्राउ गरिएको थियो। पौडेलले दिएको बयान अनुसार राठीसँग सोधपुछ गरिएको थियो।

त्यतिनै बेला दीपकले औपचारिक रुपमा पत्र लेखेपछि थप अनुसन्धान अगाडि बढेको थियो। स्रोतका अनुसार सुपारीको अवैध कारोबारकै कनेक्सन यो पचास लाख रुपैयाँसँग जोडिन्छ। व्यवसायीले आफूले पाएको कोटाअन्तर्गतको सबै सुपारी इन्डोनेसियाबाट पैठारी गरेका छन्। यसरी पैठारी गर्दा कसैले प्रति टन १ हजार ५० र कसैले १ हजार ८ सय डलरको बिल बनाएका छन्।

भन्सार विभागले सुपारीको भन्सार मूल्य प्रति टन १ हजार ५० डलर निर्धारण गरेको छ। जबकी इन्डोनेसियामा सुपारीको वास्तविक मूल्य प्रति टन २ हजारदेखि २३ सय डलरसम्म छ। यसरी 'अन्डर इन्भ्वाइसिङ' गरेर ल्याइएको सुपारीलाई पैठारीकर्ताले प्रति किलो २ सय ५० देखि ३ सय ३० सम्मको भ्याट बिल बनाएर प्रति किलो ७ सयदेखि ८ सय सम्ममा विक्री गरिरहेका छन्।

राजस्व अनुसन्धान विभागका एक उच्च अधिकारीले विभागमा प्रति किलो ३ सय ५ रुपैयाँमा सुपारी विक्री गरिएको बिल प्राप्त भइसकेको जानकारी दिए। ‘इन्डोनेसियाबाट पैठारी गरेर विराटनगर वा झापाको गोदामसम्म ल्याइ पुर्‍याउँदा राजस्वलगायतका सबै खर्च गरेर खासमा सुपारीको परल मूल्य प्रति किलो नेरु ३ सय ४५ हुन्छ’, एक पैठारीकर्ताले भने तर कोटा पाउने सबै पैठारीकर्ताले प्रति किलो ३ सय ३० भन्दा बढीको बिल बनाएका छैनन्।’

'अन्डर इन्भ्वाइसिङ' गरेर पैठारी गरिएको सुपारी 'अन्डर इन्भ्वाइसिङ'मै विक्री गर्नुको मुख्य कारण मूल्य अभिवृद्धि कर र आयकर बढी तिर्नु नपरोस् भनेर हो भन्ने स्रोतको दाबी छ। यसरी 'अन्डर इन्भ्वाइसिङ'मा सुपारी विक्री गर्दा स्रोत खुल्न नसक्ने ठूलो धनराशी जम्मा हुन जान्छ। यही स्रोत खुल्न नसकेको रकम सौर्य एयरलाइन्सबाट पठाउने गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell