PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

‘ओमोक्रन भेरियन्ट’ले बलिउड तर्सिएपछि फेरि अन्यौलमा नेपाली फिल्म क्षेत्र



लक्ष्मी बलायर

‘ओमोक्रन भेरियन्ट’ले बलिउड तर्सिएपछि फेरि अन्यौलमा नेपाली फिल्म क्षेत्र
फाइल फोटो

काठमाडौं : अक्षयकुमार अभिनित बलिउड फिल्म 'सूर्यवंशी' ले नेपाली सिनेमाहलमा कोरोनाअघिकै पुरानै माहोल फर्काउन सफल भएको थियो। यो फिल्मले फर्काएको दर्शक देखेर नेपाली निर्माताहरु पनि रिलिज डेट तोक्न कस्सिए। जसकारण 'चपली हाइट ३, लप्पन छप्पन २, प्रेमगीत ३, म यस्तो गीत गाउँछु -२, सम्हालिन्छ कहिले मन' लगायत होल्डमा रहेका ठुला बजेटका फिल्महरुको रिलिज मिति तय भए। त्यसपछि हलिउड फिल्म 'स्पाइडर म्यान' र साउथ फिल्म 'पुष्पा' ले बक्सअफिस नै तताएको छ।

तर अहिले भारतमा ओमोक्रन भेरियन्ट फेलिएसँगै कोरोना संक्रमितको संख्या फेरि बढ्दो छ। विभिन्न राज्यहरुले संक्रमणको चुनौतीलाई मध्यनजर गर्दै फेरि प्रतिबन्धहरु लागू गरेका छन्। जसको प्रत्यक्ष असर परेको छ: सिनेमाहलमाथि। कुनै राज्यमा ५० प्रतिशत अकुपेन्शीमा मात्रै हल खुलेका छन् भने कुनै राज्यका हल पूर्ण रुपमा बन्द भइसकेका छन्।

‘ओमिक्रोन’ त्रासका कारण फिल्मको रिलिज मिति परिवर्तन हुने ट्रेन्ड नै सुरु भएको छ। एसएस राजामौलीको बहुप्रतिक्षित फिल्म 'आरआरआर', शाहीद कपुरको फिल्म 'जर्सी', अक्षयकुमारको 'पृथ्वीराज' र प्रभासको 'राधेश्याम' ले पनि रिलिज मिति स्थगित गरिसकेका छन्। जसको असर नेपाली सिनेमा क्षेत्रमा पनि परेको छ।

निर्माता/निर्देशक सन्तोष सेनले फिल्म 'प्रेमगीत ३' को प्रदर्शन मिति स्थगित गरिसकेका छन्। कोरोना महामारीबिच होल्डमा रहेको यो फिल्म आगामी फागुन १३ गते रिलिज हुने पक्का भएको थियो। 'प्रेमगीत ३' लाई हिन्दी भाषामा पनि डबिङ गरिएको छ। जसकारण निर्माण टिमको विश्वभर एकैदिन फिल्म प्रदर्शन गर्ने तयारी थियो। तर भारतका साथै विश्वभर ओमोक्रन भेरियन्टको संक्रमण बढ्दै छ। भारतीय वितरकले सबै ठाउँमा एकैदिन फिल्म प्रदर्शन गर्न सन्तोषलाई आग्रह गरेपछि उनले रिलिज मिति स्थगित गरेका हुन्।

बहुप्रतिक्षित बलिउड फिल्म लगायत नेपाली फिल्मले नै प्रदर्शित मिति स्थगित गरेसँगै नेपाली सिनेमा क्षेत्र फेरि अन्यौलमा परेको छ।

भारतसँगको खुला सिमानाका कारण नेपालमा पनि ओमोक्रनको जोखिम बढी छ। जसले नेपाली फिल्ममेकरहरु पनि रिलिज मितिलाई लिएर दुविधामा छन्।

निर्देशक सुदर्शन थापाले फिल्महलमा माहोल बनेसँगै दुइटा फिल्मकै रिलिज मिति तय गरे। 'म यस्तो गीत गाउँछु २' र ‘सम्हालिन्छ कहिले मन’। 'म यस्तो गीत गाउँछु २' कोरोनाको महामारीको चपेटामै परेको फिल्म हो। यो फिल्म २०७६ फागुन ३० गते रिलिज हुने भनिएको थियो। तर फिल्म कोरोना संक्रमण बढ्दो ग्राफसँगै फिल्म प्रदर्शन हुन सकेन। फिल्म प्रचारको लागि मात्रै ५० लाखसम्म खर्च भइसकेको निर्माण टिमको दाबी छ।

डेढ वर्षपछि सुदर्शनले हिम्मत जुटाएर 'म यस्तो गीत गाउँछु २' माघ १९ मा र ‘सम्हालिन्छ कहिले मन’ फागुन २७ मा रिलिज गर्ने निधो गरे। तर अब भने सुदर्शन रिलिज मिति बारे दुविधामा छन्।

'अहिलेसम्म त रिलिज मिति सारेका छैनौँ। मिति सार्ने कि नसार्नेबारे तीन/चार दिनमा टिमसँग छलफल गरेर निर्णय गर्नेछौँ। यदि सरकारले ५० प्रतिशत अकुपेन्शीमा हल खोल्ने निर्णय गरेको खण्डमा रिलिज मिति सार्नु पर्ने बाध्यता नै आउँछ' उनले भने।

त्यसैगरि मुकुन्द भट्टको निर्देशन रहेको फिल्म 'लप्पन छप्पन २' फागुन १३ गते रिलिज हुने भनिएको छ। आफू आगामी फिल्म 'एक्स ९' को तयारीमा लागेको कारण अहिलेसम्म रिलिज मिति सार्नेबारे केही नसोचेको उनले जानकारी दिए।

खगेन्द्र लामिछानेको निर्देशन रहेको फिल्म 'पानी फोटो' पनि रिलिजको लाइनअपमै भएको फिल्म हो। केही दिनपछि उनी फिल्मको प्रदर्शित मिति तोक्ने तरखरमा थिए। तर अहिलेको अवस्थामा रिलिज डेटबारे केही ‘फिक्स’ नभएको लामिछाने बताउँछन्।

भन्छन्, 'केही दिनदेखि म काठमाडौं बाहिर थिए। फर्केर रिलिज मिति तय गर्ने सोच थियो। तर, ‌ओमोक्रनको त्रासबिच प्रदर्शित मितिको टुङ्गो छैन्। यसबारेमा केही दिनपछि टिमसँग छलफल गरेर केही निर्णय गर्नेछौँ।'

कलाकार किरण केसी लगायतको लगानी रहेको 'लक्का जवान' रिलिज पनि अन्यौलमै छ। आगामी वैशाखतिर रिलिज गर्ने सोच भएपनि भारतमा कोरोना संक्रमित बढेसँगै पर्ख र हेर को अवस्था बाहेक कुनै विकल्प नरहेको उनी सुनाउँछन्।

त्यसैगरि फूलमान बल निर्देशित 'निरफूल' ले पनि प्रदर्शित मिति तय गर्न सकेको छैन्। यो समयमा रिलिज डेट तोक्ने अवस्था नरहेको उनको तर्क छ।

'खासमा असारभित्रै फिल्म रिलिज गरिसक्ने सोच बनाएको थिएँ। जसकारण माघसम्म प्रदर्शित मिति तोक्ने सोच थियो। तर अब ओमोक्रनले गाह्रो बनाउँला जस्तो छ'उनले भने, 'मिति तोकिसकेका फिल्म पनि पछि हटिरहेका छन्। जसले गर्दा रिलिज मिति तय गर्ने कुनै सोच छैन। अवस्था सामान्य भएको अवस्थामा भने असारभित्र नै फिल्म रिलिज हुनेछ।'

फिल्म 'चपली हाइट ३' लाई भने राहत

‘चपली हाइट ३’ पुस ३० गते रिलिज हुँदैछ। पटकपटक रिलिज मिति सारेको फिल्म तोकिएकै डेटमा रिलिज हुने निर्माता अर्जुनकुमारले बताए।

पछिल्लो समय दक्षिण भारतका ठूला स्टारले अभिनय गरेका फिल्मको हिन्दी डबले नेपालमा आक्रामक व्यापार गरेको छ। जसको जल्दोबल्दो उदाहरण हो 'पुष्पा'। गत पुस २ गते साउथ फिल्म ‘पुष्पा’ को हिन्दी डब नेपाल आउने भएपछि ‘चपली हाइट ३’ को रिलिज मिति नै सार्नुपरेको थियो। जसकारण उनी नेपाली वितरकसँग रिसाए समेत।

अहिले भारतमा कोरोना संक्रमित बढेसँगै सम्पुर्ण फिल्मका रिलिज मिति स्थगित भइरहेका छन्। जसकारण नेपाली निर्मातालाई भने केही राहत मिलेको छ।

राहत पाउने फिल्ममा हाल रिलिज भइरहेको फिल्म 'कठपुतली' र 'चपली हाइट ३' पर्छन्। आउँदो पुस ३० गेतदेखि रिलिज हुने फिल्म 'चपली हाइट ३' ले कुनैपनि विदेशी फिल्मसँग भिड्नुपर्ने छैन।

विदेशी फिल्महरु रिलिज नहुँदा मल्टिप्लेक्समा शोहरु बढी पाउनेमा आशावादी छन् अर्जुनकुमार। 'हलिउड र बलिउड फिल्म पनि आउनुपर्छ। तर मैले विरोध गरेको साउथ फिल्मको हिन्दी डबको हो। नेपाली फिल्मलाई पनि प्राथमिकता दिनुपर्छ भन्ने मेरो माग हो। फिल्मको प्रचारप्रसार सामाग्रीहरु सबै सकिसक्यो। अब सबै दर्शकको हातमा छोडेको छु,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell