PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

उम्रिने पोस्तादान आयातपछि वाणिज्य विभाग सक्रिय, आयाकर्तालाई बोलाएर सोधपुछ गर्दै



सविन ढकाल

उम्रिने पोस्तादान आयातपछि वाणिज्य विभाग सक्रिय, आयाकर्तालाई बोलाएर सोधपुछ गर्दै

काठमाडौं: विदेशबाट आयात गरिएको पोस्तदाना (अफिमको बियाँ) उम्रिने फेला पारेपछि सरकारले थप अनुसन्धान अघि बढाउने भएको छ।

प्रहरीको अनुसन्धानबाट उम्रिने पोस्तादाना ल्याएको पुष्टि भएपछि आयातकर्तामाथि छानबिन गर्न लागिएको हो। आयात अनुमति दिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयातकर्तामाथि छानबिन गर्ने जानकारी दिएको छ।

विभागका महानिर्देशक प्रेमकुमार श्रेष्ठले पोस्तादाना उम्रिने ल्याएको जानकारी आएपछि अनुसन्धान अगाडि बढाउन लागिएको बताए। 'हामीलाई अहिलेसम्म कुनै निकायबाट पत्र आएको छैन। तर हामीले यो विषयमा आयातकर्तालाई बोलाएर सोधपुछ गर्नेछौं,' महानिर्देशक श्रेष्ठले भने।

विदेशबाट आयात गरिएको पोस्तादाना (अफिमको बियाँ) अंकुरण आएपछि अनुसन्धानमा तानिएको छ। लागुऔषध नियन्त्रण व्यूरोको टोलीले आयात गरिएको पोस्तादानामा लागुऔषध हुनसक्ने भन्दै अनुसन्धान गरेको थियो। तर पोस्तादानमा लागुऔषधको मात्रा भने भेटिएन। तर त्यही पोस्तादान भने अंकुरण हुने देखिएको थियो।

सरकारी तवरबाट सबै प्रक्रिया पूरा गरेर पोस्तादाना भित्रिएकाले प्रहरीले कारवाही अगाडि बढाउन सकेन। तर अनुसन्धानका क्रममा सरकारी मापदण्ड पूरा गरेर पोस्तादाना खरिद गरेको भने पुष्टि भएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन अनुसार पनि उम्रिने क्षमता भएका कुनै पनि वस्तु यसरी आयात गर्न पाइँदैन।

नेपाल साइटिसमा हस्ताक्षर गर्ने मुलुक भएकाले पनि यस्ता वस्तु आयात निर्यात गर्न पाउँदैन। विरुवा संरक्षण ऐन २०६४ ले अनुमतिविना विरुवाजन्य उपज (बीउ) आयात गर्न निषेध गरेको छ। तर, नेपालमा यस ऐनअनुसार निवेदन दिएर यस्ता उम्रिन सक्ने ड्राइ फुड भित्रिएको देखिन्न।

यसरी भित्र्याइएको पोस्तादान उम्रियो भने अफिमको बिरुवा बन्छ। अफिम लागुऔषध हो, जसको नेपालमा खेती गर्न निषेध छ। टर्की हुँदै नेपाल आएको पोस्तादाना प्रहरीले परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (नास्ट) र केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्न पठाएको थियो। कात्तिक १४ गते दुवै प्रयोगशालामा परीक्षणको लागि पठाएको हो। त्यसको दुई दिन अर्थात् कात्तिक १६ गते नास्टले उक्त पोस्तादानामा लागुऔषध नभएको भन्दै ब्युरोलाई पत्राचार गरेको थियो। ब्युरोको टोलीले कात्तिक १४ गते वनस्पति विभागलाई आयात गरिएको पोस्तादाना उम्रिने हो या होइन भनेर परीक्षण गर्न पठाएको थियो। यसरी परीक्षणका लागि पठाएको डेढ महिनापछि विभागले पोस्तादाना उम्रिने खालको रहेको भन्दै पत्राचार गरेको थियो।

मंसिर २९ गते वनस्पति विभागले पठाएको पत्रमा पोस्तादाना 'अंकुरण' हुनसक्ने भन्दै पत्राचार गरेको हो। यसरी पठाइएको नमुनामा ९० प्रतिशत उम्रनसक्ने क्षमता देखियो। अर्थात्, जति पोस्तादाना छर्‍यो 'ह्वारह्वार्ती' उम्रिने।

यस प्रकरणमा लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार प्रहरीले आयातकर्तालाई कारवाही गर्ने कुनै आधार भेटेन।

'हामीले अहिले अनुसन्धान रोकेका छौं। लागुऔषधमा कारबाही गर्ने कुनै आधार भेटिएन। तर यसले थ्रेट चाहिँ बढाएको छ,' लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी हृदय थापाले भने।

२०७७ चैत ३१ गते धनलक्ष्मी फूड प्रालिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट १ सय ४४ टन पोस्तादाना (अफिमको बियाँ) आपूर्ति गर्न स्वीकृति पाउँदा विरुवा संरक्षण ऐनलाई नजरअन्दाज गरेको देखिएको छ। तर यही कम्पनीले सुरुवातमा पोस्तादानालाई पप्पी सिड भनेर आयात गरिने पोस्तादाना अहिले मव सिड भनेर आयात गर्न थालेको भेटिएको हो। वीरगंजको सिर्सिया सुक्खा बन्दरगाहले उपलब्ध गराएको पत्र अनुसार कुवेर एक्जिम र धनलक्ष्मी फूडले मव सिड भनेर पोस्तादाना आयात गरेका छन्।

केपी शर्मा ओली सरकारका पालामा झापाका व्यवसायी प्रदीप मित्तलको समूहलाई २ हजार टन पोस्ता दाना आयात अनुमति दिइएको थियो। त्यस्तै, वैभव ट्रेड कन्सर्न, कुवेर एक्जिम प्रालि, राठी ट्रेडिङ लगायत कम्पनीहरूले पोस्तादान ल्याउनको लागि स्वीकृति पाएका थिए। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उनीहरुलाई स्वीकृति दिएको थियो।

संयुक्त राष्ट्र संघको अफिस अन ड्रग एन्ड क्राइम अन्तर्गत नार्कोटिक्स कन्ट्रोल बोर्डको स्वीकृति लिएर मात्र यस्तो सिड आयात गर्न पाइन्छ। तर, नेपालका फरक निकायलाई बेवास्ता गरेर पोस्तादाना भित्रिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell