PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

छोरोलाई खुवाएको त्यो च्यावनप्रास जसले तस्करीको 'ड्रग्स' हङ्कङ पुग्न रोकियो भने कारोबारीलाई पुर्‍यायो कारागार



सविन ढकाल

छोरोलाई खुवाएको त्यो च्यावनप्रास जसले तस्करीको 'ड्रग्स' हङ्कङ पुग्न रोकियो भने कारोबारीलाई पुर्‍यायो कारागार
फाइल फोटो

काठमाडौं : सामान्यतया कुनै घटना भइसकेपछि वा गोप्य सूचनाको आधारमा नै प्रहरीले घटनाको अनुसन्धान गर्छ। अपराधीले छाडेको सबुत प्रमाण पहिल्याउँदै प्रहरी उनीहरू सम्म पुग्छ। कतिपय घटनामा प्रहरीमात्र होइन, अपराध लुकाउन अपराधी पनि सफल हुन्छन्। तर, कहिलेकाँही अञ्जानमा सिर्जना भएको 'लोभ'ले पनि प्रहरीलाई अपराधीको कठालो समाउने आधार तय हुन्छ।

चितवनमा एउटा यस्तै अपराधिक घटना भयो जसले नयाँ तथ्य बाहिर ल्यायो जुन निक्कै रोचक पनि छ। घटना लागू औषधसँग जोडिएको थियो झुक्याएर लैजाने तयारीमा थिए तस्करहरु। घटनामा प्रहरीले केही मानिसलाई नियन्त्रणमा समेत लियो। देशभित्रको कारोबार मात्र होइन, एक देशबाट अर्को देशमा हुँदै थियो लागु औषधको कारोबार। तर, त्यसका कारोबारी लागु औषध विदेश पुग्न नपाउँदै प्रहरीको फन्दामा परे। भनौं, अपराध गर्नेहरु अञ्जानमै प्रहरीको नियन्त्रणमा आइपुगे।

घटना करिब दुई महिना अघिको हो। हङ्कडबाट खाद्य सामग्री ल्याउन एक व्यक्तिले नेपालको ट्रान्सपोर्ट कम्पनीमा कुरा गरे। कार्गोको जिम्मेवारी नमस्ते कार्गोले पायो। सामान चितवनमा जम्मा गरिएको थियो। चाउचाउदेखि च्यावनप्राससम्म निर्यात हुँदै थियो।

चितवनको रत्ननगर–३, शान्ति चोकमा रहेको एक घरको गोदाममा सामान राख्न थालिएको थियो। गोदाममा राखिएको च्यावनप्रास त्यहाँ काम गर्ने एक जना कर्मचारीले झिकेछन्। च्यावनप्रास देखेपछि उनले घरमा नै लगेर राखे। घरमा उनको छोराले च्यावनप्रास खाए।

'केही लोभ समेत देखियो। त्यसैले उसले घरमा नै लगेर च्यावनप्रास अरु आफन्तलाई पनि खान दिएको देखियो,' अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले सुनाए।

तर च्यावनप्रास खाएको केही समयमा उनी बिरामी भए। लठ्ठिए। होस् नै गुमेपछि तुरुन्तै उनलाई अस्पताल पुर्‍याइयो। चिकित्सकले सबै चेक गरे। त्यसपछि च्यावनप्रास खाएपछि बिरामी भएको जानकारी दिए। डाक्टरले च्यावनप्रासको बट्टा मागे। बट्टा मगाएर हेर्दा भित्र एउटा क्याप्सुल भेटियो। सोझो हिसाबले देखियो - क्याप्सुल त चरेस!

'च्यावनप्रासमा चक्कलेट जस्तै देखेछन्। नयाँ च्यावनप्रास आएको भन्दै खाएका थिए। त्यसपछि बिरामी भएर अस्पताल पुगेपछि घटना बाहिर आयो,' इलाका प्रहरी कार्यालय टाँडीका डीएसपी इन्द्रबहादुर रानाले भने।

त्यसपछि प्रहरीलाई खबर भयो। प्रहरीले गोदाममा गएर हेर्दा च्यावनप्रासको बट्टाभित्र चरेस भेट्यो। गोदाममा १ सय ९२ वटा बट्टा ३२ वटा कार्टुनमा प्याकेज गरेर राखेको अवस्थामा भेटिएको थियो। १ क्विन्टल ८४ किलो ३५० ग्राम चरेस बरामद गरिएको थियो त्यहीँ। सो घटनाको अनुसन्धान गर्न लागु औषध नियन्त्रण ब्युरोबाट प्रहरी समेत पठाइएको थियो। कार्तिक २९ गतेसम्म प्रहरीले यस घटना जोडिएका उद्धव अधिकारी, सुजन गुरुङ र अन्य एक जनालाई पक्राउ गर्न सफल भयो।

घटना हङ्कडसम्म जोडिएको थियो। उनीहरुले भारतको कोलकाता पोर्ट हुँदै हङ्कङ सामान पुर्‍याउन लागेका थिए। प्रहरीले हङ्कङमा भएका एक मानिसमाथि पनि अनुसन्धान गरेको थियो यसै घटनालाई लिएर।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell