
काठमाडौं : सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले संसदको अवरोध हटाउनका लागि राजनीतिक दलहरुका बिचमा सहमतिको बिन्दु खोज्नुपर्ने बताएका छन्।
बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठक पछि प्रतिक्रिया दिदैँ नेपाली कांग्रेसका नेता तथा समितिका संयोजक पौडेलले बैठकमा आफुले संसद र अदालतको अवरोध हटाउनका लागि सहमती र सम्झौताको बिन्दु खोज्नुपर्ने कुरा राखेको बताएका हुन्।
'नेपाललाई असफल राष्ट्र बनाउन पाइदैन भन्ने मेरो भनाई हो। सबै नेताहरुलाई मैले अनुरोध गरेको छु। सहमति र सम्झौताको बिन्दु खोजौँ। तर यो अदालतको अवरोध, संसदको अवरोध, यो मुलुकमा एमसीसीको अवरोध जतिपनि अवरोधहरु छन्। सबै गतिरोधलाई हटाएर मुलुकलाई अब गति दिनुपर्छ' उनले भने।
आफूले बैठकमा बुँदासहित सुझावहरु प्रस्तुत गरेको र भोलि त्यसमा छलफल हुने उनले बताए।
'उहाँले अलिअलि दुखेसो, गुनासोहरु गर्नुभएको छ। तिनका बाबजुद पनि त समाधान त चाहियो। निकास त चाहियो नि जसरी पनि भन्ने कुरा मेरो छ' उनले भने।
पौडेलले आफूले प्रधानमन्त्री शेरबहादुर देउवाले गतिरोध अन्त्य गरी समाधान निकाल्नका निम्ति अग्रसरता देखाउनुपर्नेमा जोड दिएको पनि बताए।