PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

मतभारको ‘महाभारत’ : सत्ता गठबन्धनको घेराबन्दीमा एमाले, जसले राष्ट्रियसभामा यसरी गुमाउँदैछ ८ सिट



प्रकाश भण्डारी

मतभारको ‘महाभारत’ : सत्ता गठबन्धनको घेराबन्दीमा एमाले, जसले राष्ट्रियसभामा यसरी गुमाउँदैछ ८ सिट

काठमाडौं : राष्ट्रिय सभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले फेरि शक्ति गुमाउने निश्चित जस्तै छ। चार वर्षे कार्यकाल पूरा गरेर एमालेका ८ सांसद बिदा हुँदैछन्। उक्त स्थानमा एमालेका उम्मेद्वार विजयी हुने सम्भावना निकै कम छ। कारण हो - एमालेका विरुद्ध सत्तारुढ दलको गठबन्धन।

एमालेबाट रिक्त हुने ८ सिट नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चाले भाग लगाएका छन्। जारी निर्वाचनको मतदाना समीकरण अनुसार एमालेले उक्त ८ सिट संरक्षण गर्न निकै कठिन छ।

पहिलो पटक प्रतिनिधि सभा विघटन भएपछि अदालतको आदेशले तत्कालीन सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भयो। आन्तरिक विवाद लम्बिँदै जाँदा पुनः सत्तारुढ दल एमाले विभाजन भयो। जुन समयमा प्रतिनिधि सभा दोस्रो पटक विघटन भई अदालतले पुनर्स्थापना गरिसकेको थियो।

पार्टी विभाजनसँगै संघमा ओली सत्ताबाट हट्नुपर्‍यो। प्रदेश सरकारबाट पनि एमाले 'आउट' भयो। प्रदेश १, वाग्मती, गण्डकी, लुम्बिनीको सत्ताबाट एमालेले हात धुनुपर्‍यो।

विभाजन क्षति अहिले पनि एमालेले ब्यहोरिरहेको छ। अब थप क्षति राष्ट्रिय सभा निर्वाचनबाट हुँदैछ एमालेलाई।

५९ सदस्यीय राष्ट्रिय सभाका लागि २०७४ मा पहिलो निर्वाचनमा एमाले करिब बहुमतमा थियो। एक्लैले २७ जितेको एमालेले मनोनीतबाट पनि २ सदस्य थप गरेको थियो। उक्त निर्वाचनमा कांग्रेसले १३ र माओवादी केन्द्रले १२ सिट जित निकालेका थिए। माओवादीले मनोनीतमा एक सिट समेत पाएर कांग्रेस बराबर भएको थियो।

तर, पार्टी विभाजन र सत्ता गठबन्धनको चुनावी तालमेलले एमालेलेलाई आफ्नो शक्ति जोगाउनै मुस्किल छ।

चार वर्षे कार्यकाल अनुसार रिक्त भएको १९ पदका लागि हुने निर्वाचनमा गठबन्धनले आफ्ना सिटहरुलाई यथावत राखेर एमालेका खाली हुने ८ सिटका लागि तालमेल गर्ने निर्णय गरिसकेको छ। एमाले एक्लै चुनावमा जाँदा उसका विरुद्ध सत्ता गठबन्धनका ५ दल छन्। गठबन्धनले १९ सिटलाई बाँडफाँड गरेका छन्। भागबन्डा अनुसार कांग्रेसले ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले ५/५, जसपाले २ र राष्ट्रिय जनमोर्चाले १ ठाउँमा उम्मेद्वारी दिने सहमति भएको छ।१ सिट भने यस पटक पनि मनोनयनबाट पूरा हुनेछ।

एमालेका १९ नेता गठबन्धनका १९ उम्मेद्वारविरुद्ध मैदानमा छन्, राष्ट्रिय सभाको निर्वाचनमा।

यस्तो हुनेछ अंक गणित

माघ १२ गते हुने निर्वचनका लागि प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख मतदाता हुनेछन्। निर्वाचन आयोगका अनुसार ५ सय ३२ प्रदेशसभा सदस्य र १ हजार ४ सय ९३ स्थानीय तहका प्रमुख/उपप्रमुख गरी जम्मा २ हजार २५ जनाले मतदान गर्नेछन्।

प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख/उपप्रमुखको मतभार १८ हुनेछ। यसरी हेर्दा अहिले ५ सय ३२ जना प्रदेश सभा सदस्यको मतभार २५ हजार ५ सय ३६ हुन्छ। १ हजार ४ सय ९३ प्रमुख/उपप्रमुखको मतभार २६ हजार ८ सय ७४ हुन्छ। राष्ट्रिय सभा निर्वाचनका २ हजार २५ जना मतदाताको जम्मा मतभार ५२ हजार ४ सय १० हुन आउँछ।

सुदूरमा गठबन्धनलाई निकै सहज

सुदूर पश्चिम प्रदेश सभामा एकीकृत समाजवादी र स्थानीय तहमा नेपाली कांग्रेस बलियो छ। जम्मा ५२ जना प्रदेश सभा सदस्य छन्। ८८ वटा स्थानीय तहमा १ सय ७५ जना प्रमुख/उपप्रमुख छन्। जम्मा २ सय २७ जना मतदाता छन्। मतभार हेर्दा सत्ता गठबन्धन सहज अवस्थामा छ। गठबन्धनको पक्षमा ३ हजार ७ सय ८९ र एमालेको पक्षमा १ हजार ८ सय ४ मात्रै मतभार छ।

कांग्रेसको मतभार १ हजार ९ सय ८ छ। माओवादीको ९ सय २७ र एकीकृत समाजवादीको ९ सय ६ मतभार छ। जसपा र लोसपाको मतभार ४८/४८ छ।

सुदूर पश्चिममा ३ पदका लागि ६ जना उम्मेद्वार छन्। गठबन्धनका ३ र एमालेका ३ उम्मेद्वार चुनावी मैदानमा छन्। गठबन्धनका मदनकुमारी शाह (गरिमा), जगत पार्की र नारायणदत्त मिश्र उम्मेद्वार छन्। एमालेबाट सन्तोषकुमारी शर्मा थापा, नरेश विक र डिल्लीराज भट्ट उम्मेद्वार छन्।

कर्णालीमा के छ अवस्था?

कर्णाली प्रदेशमा ३५ जना प्रदेश सभा सदस्य र ७९ स्थानीय तहमा १ सय ५८ प्रमुख/उपप्रमुख छन्।

यस प्रदेशमा एमालेको कूल मतभार १ हजार ४ सय ३४ छ। एकीकृत समाजवादीको ३ सय ७८, कांग्रेसको १ हजार ८, माओवादी केन्द्रको १ हजार ५ सय १२ गरी गठबन्धनसँग कर्णालीमा जम्मा २ हजार ८ सय ९८ मतभार छ। कर्णालीमा एक जना राप्रपाका प्रदेशसभा सदस्य छन्। उनको मतभार ४८ छ।

कर्णालीमा गठबन्धनका नरबहादुर विष्ट, दुर्गाकुमारी गुरुङ र उदयबहादुर बोहोरा उम्मेद्वार छन्। एमालेका चुडामणि शर्मा, गंगा थापा र पदमबहादुर माझी उम्मेद्वार छन्।

लुम्बिनीमा पनि उस्तै हाल

लुम्बिनी प्रदेश सभामा एमालेको बलियो उपस्थिति रहे पनि निर्वाचनमा जित्ने अवस्था छैन। गठबन्धनको मतभार एमालेको भन्दा दोब्बर छ।

लुम्बिनीमा २ सय ९६ मतदाता छन्। ८१ प्रदेश सभा सदस्य र २ सय १५ स्थानीय तहका प्रमुख/उपप्रमुख छन्।

प्रदेश सभामा एमालेका ३७, माओवादी केन्द्रका १९, कांग्रेसका १९, जनता समाजवादी पार्टी, नेपालका ४, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीका १/१ मतदाता छन्।

लुम्बिनीमा प्रदेश तर्फको ३ हजार ८ सय ८८ र स्थानीय तहको ३ हजार ८ सय ७० गरेर ७ हजार ७ सय ५८ मतभार छ।

गठबन्धनमा आवद्ध दलहरुको प्रदेशतर्फको मतभार २ हजार १ सय १२ छ। स्थानीय तहतर्फ कांग्रेसका ६३, माओवादीका ३६, जसपाका १३, राजमोका ५ र एकीकृत समाजवादीका ४ प्रमुख/उपप्रमुख छन्। कूल मतभार २ हजार १ सय ७८ छ। दुवैतर्फ कूल मतभार ४ हजार २ सय ९० कायम हुन्छ। एमालेको मतभार ३ हजार ४ सय ६८ छ।

लुम्बिनीमा पनि ६ जना उम्मेद्वार छन्। गठबन्धनका युवराज शर्मा, राज्यलक्ष्मी गैरे र तुलबहादुर विश्वकर्मा उम्मेद्वार छन्। एमालेका रामदयाल गुप्ता, भारती खनाल र कृष्ण सुनार मैदानमा छन्।

गण्डकीको अवस्था कस्तो?

गण्डकी प्रदेश सभामा एमालेका २७, कांग्रेसका १५, माओवादीका १२, जसपाका २ तथा जनमोर्चा र स्वतन्त्र १/१ गरेर ५९ सदस्य छन्। प्रदेश सभा तर्फको मतभार २ हजार ८ सय ३२ छ। जसमा एमालेको १ हजार २ सय ९६ र सत्ता गठबन्धनबाट कांग्रेसको ७ सय २०, माओवादी केन्द्रको ५ सय ७६, जसपाको ९६, जनमोर्चा र स्वतन्त्रको ४८/४८ मतभार छ।

यस्तै, गण्डकीमा ८५ स्थानीय तहका १ सय ७० प्रमुख उपप्रमुख छन्। जसमा एमालेका ६९, कांग्रेसका ८२, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका ३, एकीकृत समाजवादीका १ मतदाता छन्। यस्तै, गण्डकीमा राष्ट्रिय प्रजातन्त्र पार्टीका २ मतदाता छन्।

जसअनुसार स्थानीय तहमा एमालेसँग १ हजार २ सय ४२ मतभार छ। कांग्रेसको १ हजार ४ सय ७६, माओवादी केन्द्रको २ सय १६, जनमोर्चाको ५४, एकीकृत समाजवादीको १८ गरी सत्ता गठबन्धनसँग १ हजार ७ सय ६४ मतभार छ।

प्रदेश र स्थानीय तहसमेत गरेर गठबन्धनसँग ३ हजार २ सय ४ र एमालेसँग २ हजार ५ सय ३८ मतभार छ।

प्रदेशमा एमालेबाट पुण्यप्रसाद पौडेल, लीला पोखरेल र अर्जुन सुनाम उम्मेद्वार छन्। गठबन्धनका सुरेश आलेमगर र भुवन सुनार र कमला पन्त उम्मेद्वार छन्।

वाग्मतीमा कसको कति छ दम?

बलियो उपस्थिति रहेको वाग्मतीमा पनि सत्ता गठबन्धनका कारण एमाले जित्ने अवस्थामा छैन। प्रदेश सभाका १ सय ९ सदस्य र कुल १ सय १९ स्थानीय तहका २ सय ३७ मतदाता प्रदेशमा छन्।

प्रदेश सभामा ५ हजार २ सय ३२ र स्थानीय तहमा ४ हजार २ सय ६६ मतभार वाग्मतीमा छ। जम्मा मतभार ९ हजार ४ सय ९८ छ।

प्रदेश सभामा एमालेका ४३ सदस्यको २ हजार ६४ मतभार छ। यस्तै, स्थानीय तहमा १ सय १५ जनाको २ हजार ७० मतभार छ। वाग्मतीमा एमालेको कूल मतभार ४ हजार १ सय ३४ छ।

यस्तै, स्थानीय तहमा गठबन्धनबाट कांग्रेसको १ हजार २ सय ६, माओवादी केन्द्रको ६ सय १२ र एकीकृत समाजवादीको ३ सय ६ गरी जम्मा २ हजार १ सय २४ मतभार छ।

प्रदेश सभामा माओवादी केन्द्रका २३, कांग्रेसका २२, एकीकृत समाजवादीका १३ र जसपाको एक गरेर ५९ सदस्य छन्। कूल मतभार २ हजार ८ सय ३२ छ। प्रदेश र स्थानीय तहमा गरेर ४ हजार ९ सय ५६ मतभार छ।

प्रदेश सभामा नेमकिपाका २, राप्रपाका २ र विवेकशील साझा पार्टीका तीन मतदाता छन्। यस्तै स्थानीय तहमा ४ मतदाता छन्। जस अनुसार प्रदेशमा ३ सय ३६ र स्थानीय तहमा ७२ मतभार छ।

वाग्मतीमा एमालेबाट निरकुमारी कुँवर (निरु दर्लामी) र गोपाल शाक्य उम्मेद्वार छन्। त्यस्तै, गठबन्धनबाट कृष्णप्रसाद पौडेल र गोमा तिमिल्सिना उम्मेद्वार छन्। नेपाल मजदुर किसान पार्टीबाट कृष्णबहादुर तामाङ र गीता काफ्लेले पनि उम्मेद्वारी दिएका छन्।

प्रदेश २ मा एमाले झन् कमजोर

प्रदेश २ मा ५ जना चुनावी मैदानमा छन्। गठबन्धनबाट माओवादी केन्द्र र जसपाका १/१ जना तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट १ र एमालेबाट २ जनाले उम्मेद्वारी दर्ता गराएका छन्।

गठबन्धनबाट महिलातर्फ माओवादी केन्द्रकी उर्मिला अर्यालले उम्मेद्वारी दर्ता गराएकी छिन्। यस्तै, जसपाबाट अन्यतर्फ मोहम्मद खालिद सिद्धिकीले उम्मेद्वारी दर्ता गराएका छन्। लोसपाबाट महिलातर्फ रूपा यादवले उम्मेद्वारी दर्ता गराएकी छिन्। एमालेबाट विनादेवी साह र उस्मान अन्सारी चुनावी मैदानमा छन्।

प्रदेश २ मा स्थानीय तहमा २ सय ६८ र प्रदेश सभामा १ सय ४ मतदाता छन्।

प्रदेश र स्थानीय तह दुवै गरेर गठबन्धनमा कांग्रेसको २ हजार ३ सय ७०, माओवादी केन्द्रको १ हजार १ सय २२, एकीकृत समाजवादीको ८ सय ५८, जसपाको २ हजार ९ सय ८८ गरी सात हजार ३ सय २ मतभार छ। त्यस्तै लोसपाको १ हजार ५ सय ६० मतभार छ। त्यस्तै एमालेसँग ९ सय ४२ मात्र मतभार रहेको छ।

प्रदेशमा स्वतन्त्रबाट २ पालिकाको ३६ मतभार र प्रदेशसभामा नेपाल संघीय समाजवादी पार्टीका १ सांसदको ४८ मतभार छ।

प्रदेश १ : जहाँ छ चर्को टक्कर

प्रदेश १ मा भने गठबन्धनसँग एमालेको बलियो टक्कर छ। प्रदेश १ जम्मा ३ सय ६४ मतदाता छन्। जसमा ९२ प्रदेशसभा सदस्य र २ सय ७२ जना स्थानीय तहका मतदाता छन्।

प्रदेशमा एमालेसँग ४ हजार ५ सय २४ र गठबन्धनसँग ४ हजार ६ सय ६८ मतभार छ। मतभार फरक १ सय ४४ मात्र छ ।

प्रदेशसभामा गठबन्धनबाट कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जसपाका ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ मतदाता छन्। जम्‍मा मतभार २ हजार ४ सय छ।

एमालेका ४१ सांसद छन् जसको कूल मतभार १ हजार ९ सय ६८ छ। राप्रपाका एक सदस्य सभामा छन्। मतभार ४८ छ।

स्थानीय तहमा एमालेका १ सय ४२ प्रमुख/उपप्रमुख छन् जसको मतभार २ हजार ५ सय ५६ छ।

गठबन्धनमा स्थानीय तहमा कांग्रेसका ९६, माओवादी केन्द्रका १६, एकीकृत समाजवादीका १०, जसपाका ४ गरेर १ सय २६ मतदाता छन्। यी सबैबाट कूल मतभार २ हजार २ सय ६८ हुन जान्छ।

प्रदेश १ मा स्थानीय तहमा राप्रपाका ४ जना मतदाता छन् जसको मतभार ७२ छ।

प्रदेश १ मा तीन पदका लागि आठ जनाले मनोनयन दर्ता गराएका छन्। गठबन्धनबाट गोपाल बस्नेत, जयन्ती राई र हेमराज राई थुलुङ छन्।

एमालेबाट गुरु बराल, सुमित्रा भण्डारी र सोनाम ग्याल्जेन शेर्पाले उम्मेद्वारी दिएका छन्। राप्रपाबाट दुई जनाले मनोनयन दर्ता गराएका छन्।

प्रदेशबाट अनन्तराज न्यौपाने/सुमित मिश्र/निशा गुरुङ/रीना थापा/ रमेश पराजुली/पीबी खड्का र एम बमको सहयोगमा।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell