पोखरा : दुई दशक अघि। गण्डकी र धौलागिरीलाई अन्नपूर्ण सर्किटले यसरी चिनायो कि ट्रेकिङको पर्यावाची शब्द झै सुनियो। सडकको सञ्जालबाट विल्कुलै दुर। नजिकमा छ त प्रकृतिमात्र। त्यसैले यो सर्किट संसारकै प्रिय पदमार्गका रुपमा स्थापित थियो। प्रकृतिको यस्तो रुपलाई धुलोले ढाक्दै गयो। सडकका ट्र्याक खोल्नेक्रम र तिनमा गाडी दगुर्न थालेपछि - मर्दै गयो पहिचान। धुमिल हुँदै गयो पुरानो पहिचान। तिनै अवस्थालाई नजिकबाट देखिएरहेका थिए राम ढुंगानाले।
नाम : राम ढुंगाना
स्थान : तमु
पेशा : ट्रेकिङ गाइड।
दाङसिङ – मोहरिया हिडन ट्रेक। खासमा यो रामको गाउँको बाटो।
सन् २०१० देखि पदयात्राका गाइड राम। चल्तीका सबै रुटमा पटकपटक पुगिसकेका। पर्यटक घुमाइरहँदा उनले बुझेका थिए - नेपालमा पदयात्राका लागि आउने पर्यटकको चाहना।
‘पर्यटकले शान्त रुट खोजिरहेका छन्। हाम्रै गाउँको बाटो प्रवर्द्धन गर्न सके हुन्थ्यो।’
गाउँकै साथीसँग उनले भने। ती साथी पनि ट्रेकिङ गाइड। तर, कसरी त?
२०७३ सालमा टानको वार्षिक कार्यक्रममा अन्नपूर्ण आरोहण दिवस मनाइँदै थियो। मनाउने कहाँ त? तय भएको थिएन। त्यो तय हुन नसक्नु रामका लागि अवसर बन्दै थियो। उनले विकल्प सुझाए।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चलले उनको आग्रह स्वीकार्यो। र, ८० जना भन्दा धेरै जनाको उपस्थितिमा सम्पन्न भएको कार्यक्रमले रामको गाउँलाई रुपान्तरित गर्यो - वैकल्पिक पदमार्गको रुपमा। खुलेका बाटो र उडेको धुलोभन्दा परको गाउँ स्थापित हुने बाटोको गोरेटो कोरियो।
त्यो औपचारिक कार्यक्रम पूरा भएको तीन महिनापछि तत्कालीन टानका अध्यक्ष विश्व अधिकारी फेरि थमडाँडा पुगे । त्यसपछि पदयात्रा मार्गको सूचीमा स्थापित बन्यो यो ठाउँ। अनि अटायो नक्सामा पनि।
‘ठाउँ राम्रो रहेछ भन्दै वैकल्पिक पदमार्गको रुपमा स्थापित गर्न लाग्नुभयो यो रुट,’ रामले सुनाए,’ जीपीएसमा नभएको लोकेसनका लागि सर्भे गरेर टानले नक्सा पनि छाप्यो।’
कास्कीको पुन हिल पदयात्रीका लागि लोभलाग्दो गन्तव्य। घान्द्रुक हुँदै पुन हिलको यात्रा स्वदेशीसँगै विदेशी पर्यटकको रोजाइमा पर्ने। विरेठाँटीबाट सुरु हुने पुनहिल यात्राका लागि दुई बाटा छन् - एक चर्चित गुरुङ गाउँ घान्द्रुक हुँदै पुन हिल। अर्को उल्लेरी र हिलेको बाटो। पर्यटकले राउन्ड ट्रिप गर्छन् यही रुटमा।
रामको गाउँ पुग्न भने विरेठाँटीबाट दायाँबायाँ नलागी सिधैँ माथितर उक्लिनुपर्छ। विकासको नाममा पछिल्लो समय पदमार्गमै मोटरबाटोको ट्र्याक खुले। पदमार्गको रुट छाटिँदै गयो। विरेठाँटीका दायाँबायाँका दुवै गाउँमा मोटरबाटो पुगे - धुलो उडाउँदै। तर, रामको गाउँमा भने अहिलेसम्म सडक सञ्जाल जोडिएको छैन। ग्रामीण सडक त पुगेको छ तर निश्चित स्थानसम्म मात्र। यसैको फाइदा उठाए रामले।
फिरन्ते उनी निश्चित थिए - पर्यटकलाई चाहिएको पदमार्ग यस्तै हो। शान्त भएकाले गाउँको बाटो पर्यटकको रोजाइमा पर्ने ठम्याउन कठिन थिए। ‘महावीर पुनले प्रवर्द्धन गरेको मासखर्क र नागी गएको थिएँ। दृश्य राम्रो छ त्यहाँ,’ रामले सुनाए, ‘हाम्रो गाउँको दृश्य राम्रो छ। सोचेँ घोरेपानी, घान्द्रुकसम्म बाटो पुगिसक्यो। यता पर्यटकले खोजेको शान्त पदमार्गका लागि गन्तव्य बन्नसक्छ।’
ट्रेकिङ रुट डोजरले खनेको सडकका कारण बिग्रिँदै गएकोमा टान चिन्तित थियो। त्यसैले अग्रसरता लिए। दाङसिङ – मोहरिया ट्रेकिङ रुटमा घरबास सञ्चालनमा आए। गाउँका तमु, मोहरिया, दाङसिङमा पर्यटकका लागि घरबास सञ्चालन हुन थाले। रामले आफ्नो गाउँ तमुमा अन्नपूर्ण रेन्ज होटल बनाए। बस्तीबाट टाढा थमडाँडा रित्तो थियो। यस मार्गको बिचमा चिया पसल नभए घरबास नै सन्चालन गर्नुपर्नेमा थिए राम। थमडाँडाबाट देखिने दृश्यमा पर्यटक रमाउँछन् भनेर घरबास सञ्चालनमा ल्याए। उनीसँगै पाँच जनाको लगानीमा थमडाँडामा सामुदायिक घरबास सञ्चालनमा आयो।
थमडाँडामा सामुदायिक घरबासको अध्यक्ष बने राम। उनीसँगै ट्रेकिङ गाइड रहेका अतीत गुरुङ पनि मिसिए। दुवैलाई साथ दिन दिनेश गुरुङ, मिमबहादुर गुरुङ र वकिल गुरुङ अघि सरे।
‘पाँच जनाको सहकार्यमा अघि बढ्यौँ। हामीमध्ये कोही ट्रेकिङ गाइड, लामो समयसम्म रिसोर्टमा कुक र बार टेन्डर गरेको साथीहरु,’ उनले सुनाए, ‘पर्यटनका क्षेत्रमा १२/१५ वर्ष काम गरेकाले अनुभव राम्रो भयो काम गर्न।’
२०७४ सालमा प्रदेशका तत्कालीन पर्यटन मन्त्री विकास लम्साल पुगेका थिए त्यस ठाउँमा। पदमार्गको प्रवर्द्धनमा थप इँटा चुलियो। मन्त्री लम्सालले बजेट दिने आश्वासन दिए प्रवर्द्धनका लागि। गण्डकी प्रदेश सरकार छुट्याएको त्यही बजेटले थमडाँडामा सामुदायिक स्तरमा डाइनिङ र भान्सा बनाए। टान पश्चिमाञ्चल, अन्नपूर्ण गाउँपालिका र एक्यापको सात लाख आर्थिक सहयोग पदमार्ग बनाउन खर्च भयो।
दुई वर्षसम्म टेन्टमै मात्र रहन्थे यहाँ पुग्ने पर्यटक। गएको वर्ष पनि अनुदान पाए उनीहरुले। अहिले तीनवटा कोठा पाहुनका लागि तयार छ। घरबासको कृषि फार्म पनि छ जहाँ पाहुनाले अर्गानिक खाना पाउँछन्।
थमडाँडाबाट पदयात्री माथितिर पनि उक्लिन सक्छन्। घान्द्रुक, टाढापानी, नागे ठाँटी हुँदै घोरेपानीको यात्रा पर्यटकले आफू अनुकल तय गर्छन् यहीबाट। रामका अनुसार थमडाँडाबाट घान्द्रुक पुग्न चार घण्टा, टाढापानी र नागे ठाँटी पुग्न पाँचदेखि छ घण्टा लाग्छ।
रामले यसरी रुटका रुपमा अगाडि बढाउनुपूर्व नै गाउँलेलाई नलागेको होइन - दाङसिङ मोहरियालाई पर्यटकिय गन्तव्यका रुपमा स्थापित गर्नुपर्छ भन्ने। अग्रसरता देखाउने नभएका मात्र हुन्। अहिले रामको प्रयासमा गाउँले खुशी छन्।
यही रुटको तमु, दाङसिङ र मोहरियमा गरी ८ वटा घरवास छ। थमडाँडामा एउटा मात्र छ। पर्यटकको चाप बढेसँगै घरवासको संख्या बढ्ने नै छ।
अहिलेसम्म ६ सय जना नेपाली र डेढ सय विदेशी यस पदमार्गमा पुगेका छन्। राम आफ्नो सम्पर्कमा आएका पर्यटकलाई त्यही रुटबाट लैजान्छन्। अरु गाइड साथीभाइलाई पनि त्यही रुटबाट पर्यटकलाई अवलोकन गराउन भन्छन्। शान्त छ तर नयाँ भएकाले कतिपय पर्यटकको रोजाइमा पर्दैन यो रुट।
राम दाङसिङ–मोहरिया ट्रेक रुट चिनाउन मेहनत गरिरहेका छन्। उसो त यसमा स्थानीय र प्रदेश सरकारसँगै टानको पनि साथ मिलेको छ। अन्नपूर्ण गाउँपालिका ८ मा पर्ने थमडाँडा पदमार्गलाई गाउँपालिकाले पनि प्राथमिकतामा राखेको छ। वर्षेनी पदमार्गले सहयोग पाएको कारण त्यही हो।
यद्यपि समस्या पनि छन्। थमडाँडामा खानेपानी र बिजुली अभाव छ। ‘थोरै संख्यालाई पुग्ने पानी जोहो गर्न सकेका छौँ त्यो पनि अस्थायी रुपमा,' उनले सुनाए, 'पानीको स्रोत टाढा छ।’ पदमार्गमा रहेका खोलामा पुल पनि खाँचो छ।
रामको रफ्तार तीब्र थियो - पदमार्ग प्रवर्द्धनको। तर, कोरोना भाइरसको चपेटाबाट थमडाँडामात्र कसरी बच्न सकोस्? संक्रमित बढे, पर्यटक घटे।
लय लिँदै गर्दा लरबरायो यस क्षेत्र।
‘पर्यटक आउँदै थिए। कोरोनाले अप्ठ्यारो पार्यो,’ उनले सुनाए, ‘अहिले फेरि नयाँ भेरियन्टले तर्साइरहेको छ।’
रामलाई थाहा छ - संकट पनि स्थायी होइन। त्यसैले आशावादी सुनिन्छन् उनी। वैकल्पिक पदमार्गका रुपमा थमडाँडा कुनै दिन गजबले चिनिने विश्वास छ उनलाई। पदमार्थ स्थापित गर्ने र अस्तव्यस्त मोटरको बाटो पुग्न नदिने - प्रयत्न जारी छ उनको। उनलाई थाहा छ - मोटरमाटो बिस्तारले पदमार्ग विस्थापित हुनेछ।
‘मोटरमाटो नपुगेका पनि वैकल्पिक पदमार्गको रुपमा उदाहरण दिन पाएका छौँ सडकको ट्रेक नै जाने हो भने घान्द्रुकको बाटो छ,’ रामले विकल्पसहित सुनाए, ‘माथि बस्ती नभएकाले सडक लैजानु आवश्यक छैन।’
(तस्बिर सौजन्यः राम ढुंगाना)