PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

ए डिभिजन लिगमा आठौं चरणका खेल सुरु हुँदै, आज दुई खेल



पहिलोपोस्ट

ए डिभिजन लिगमा आठौं चरणका खेल सुरु हुँदै, आज दुई खेल
जितपछि सेलिब्रेसन गर्दै सातदोबाटोका खेलाडी: फाइल फोटो।

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आजबाट आठौं चरणका खेल सुरु हुँदैछन्। जसअन्तर्गत आज दुई खेल हुँदैछन्।

आज हुने पहिलो खेलमा संकटा क्लब र सातदोबाटो युथ क्लब आमनेसामने हुनेछन्। दशरथ रंगशालामा हुने पहिलो खेलमा सातदोबाटो बिग्रिएको लयलाई फर्काउने होडमा हुनेछ। सुरुवाती तीन खेलमा अपराजित रहेको सातदोबाटो त्यसयताका चार खेलमा जितविहीन छ।

'गेम हो। राम्रै गर्न खोजिरहेका थियौं। केटाहरुले मेहेनेत गरेकै छन्। टिमवर्क नभएको जस्तै देखिएको थियो। स्ट्राइकरलाई सपोर्ट पुगेको जस्तो देखिएन।' सातदोबाटोका प्रशिक्षक सुरज महर्जनले भने।

त्यस्तै अर्कोतर्फ लिगको पराजयविहीन तीन टोली मध्येको एक संकटा क्लब आफ्नो लयलाई निरन्तरता दिन चाहन्छ। यद्यपि लिगमा महत्वपूर्ण योगदान दिइरहेका विदेशी डिफेन्डर घाइते हुँदा त्यसको प्रभाव भने टिममा पर्नेछ।

'डिफेन्डर नहुँदा हाम्रो टिममा घाटा चाहीँ हुन्छ। सातदोबाटोको मार्टिन्स खेल्न नपाउँदा खेल बराबरीमै जाला। ,' संकटाका सहायक प्रशिक्षक राजकुमार केसीले भने, 'उनको एङ्कल स्टील नै राख्नुपर्ने भएकाले लिग खेल्दैन जस्तो छ। उनको रिप्लेसमेन्ट इन्डियन फर्वाड आउने कुरा छ।'

संकटा ७ खेलबाट १३ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ भने ८ अंक जोडेको सातदोबाटो आठौं स्थानमा छ। दिउँसो १ बजे दशरथ रंगशालामा यी दुई टोलीबीच प्रतिस्पर्धा सुरु हुनेछ।

त्यस्तै आजै हुने दोस्रो खेलमा एपीएफ र जावलाखेल युथ क्बल भिड्दैछन्। दुबै टोली लिगको सुरुका खेलहरुमा लगातार पराजय ब्यहोरेको कारण सुरुवाती चरणमा लगातार रेलिगेशन जोनमा रहेका टिम हुन्। तर पछिल्ला खेलहरुमा दुबै टोलीले आफ्नो प्रदर्शन सुधार्दै आफूलाई रेलिगेशन क्षेत्रबाट माथि उठाएका छन्।

'टिम तयारी त शतप्रतिशत तयार छ। ८ औं चरणमा खेलाडीले धैर्यका साथ राम्रो प्रदर्शन गर्छन् भन्ने आशा छ,' जावलाखेलका प्रशिक्षक किशोरकुमार केसीले भने, 'एपीएफले सुधारिएको गेम पस्किरहेको छ। विदेशी खेलाडीले पनि राम्रो खेल खेलिरहेका छन्। टेक्निकल्ली हामी बलियो हौं कि भन्ने लागेको छ।'

अर्कोतर्फ एपीएफका सहायक प्रशिक्षक रत्नकाजी जावलाखेलले राम्रो प्रदर्शन गरिरहेको बताउँदै उनीहरुको कमजोरी र बलियो पक्षलाई मध्यनजर गर्दै तयारी गरिरहेको बताए।

'तयारी राम्रो भइरहेको छ। जावलाखेलको टिम राम्रो हो। उनीहरुको गोल निस्कन नसकेको हो,' एपीएफका प्रशिक्षक महर्जनले भने, 'रेलिगेशन जोन छोडेको हो, तर डर अझैछ। अब आजको ३ अंक महत्वपूर्ण छ।'

अंकतालिकामा जावलाखेल ७ अंक जोडेर नवौं स्थानमा छ भने एपीएफ ६ अंक जोडेर १० औं स्थानमा छ। खेल साँझ पौने ५ बजे दशरथ रंगशालामा सुरु हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell