पछिल्लो समय कजाकस्तानमा हिंसा भड्किएको छ। हिंसा भड्किएसँगै राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त र मध्य एसियाका लागि महासिचवका विशेष प्रतिनिधिले संयमता अपनाउँदै संवाद अगाडि बढाउन अनुरोध गरेका छन्। बिहीवार न्यूयोर्कमा पत्रकारसँग कुरा गर्दै महासचिवका प्रवक्ता स्टेफन दुजारिकले राष्ट्रसंघले कजाकस्तानको घटनालाई नजिकबाट नियालिरहेको जनाएका छन्।
उनले राष्ट्रसंघ र त्यहाँका अधिकारी बिच सम्पर्क भइरहेको र बिहीवार बिहानमात्र विशेष प्रतिनिधि नाटलिया घेर्मन र उप विदेश मन्त्री मुख्तार तिलेउवेर्दी बिच वार्ता भएको जनाएका छन्।
कजाकस्तानमा हिंसात्मक घटना बढ्दै जाँदा प्रदर्शनकारी र प्रहरी अधिकारीहरुको मृत्यु भएको छ। त्यहाँको ठूलो शहर अलमातेमा प्रहरीले दर्जन बढी प्रदर्शनकारीको हत्या गरेको बताइएको छ। राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्तको कार्यालयले जारी गरेको वक्तव्यमा कम्तिमा एक हजार प्रदर्शनकारी घाइते भएको उल्लेख छ।
जनवरी २ बाट सुरु भएको प्रदर्शनका क्रममा १२ सुरक्षाकर्मी समेत मारिएका छन्। त्यस्तै, ३ सय १७ प्रहरी अधिकारीको घाइते भएको उल्लेख छ।
कजाक सरकारले जनवरी ५ देखि अलमाते र राजधानी नुर सुल्तानका विभिन्न क्षेत्रमा कर्फ्यु जारी गरेको छ। कर्फ्यु राती ११ बजे देखि बिहान ७ बजेसम्म जनवरी १९ सम्मका लागि जारी गरिएको छ। कजाक अधिकारीका अनुसार दुई हजार बढी प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गत आइतवारदेखि कजाक शहरहरुमा इन्टरनेटले समेत प्रभावित भएको छ। शहरहरू पूर्ण रुपमा लकडाउन तिर गएका छन्। राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्तले कजाक सरकारलाई इन्टरनेट सुचारु गर्न आग्रह गरेकी छन्। कोभिड-१९ पेन्डामिकको समयमा इन्टरनेट आपतकालीन स्वास्थ्य सेवाका लागि अत्यावश्यक भएको भन्दै सुरु गर्न उनले कजाक सरकारलाई अनुरोध गरेकी हुन्।
यता बीबीसीले त्यहाँ १३ सुरक्षाकर्मीको मृत्यु भएको उल्लेख गरेको छ। जनवरी २ देखि त्यहाँ इन्धनको मूल्यवृद्धिको विरोधमा प्रदर्शन सुरु भएको थियो।
कजाकस्तान सोभियत युनियन विघटनपछि स्वतन्त्र भएको देश हो। मध्य एसियामा रुस र चीनको सीमामा अवस्थित कजाकस्तानमा एक करोड ९० लाख जनसंख्या छन्।
कजाकस्तानमा १८ वर्षसम्म पूर्व कम्युनिस्ट पार्टीका पोलिटव्युरो तथा रुसी नेतासँग सम्बन्ध रहेका नुर सुल्तान नजरवायेवले शासन गरेका थिए। उनले २०१९ मा राष्ट्रपतिबाट अवकास लिएका थिए। कजाकस्तानको राजधानी अस्तानालाई उनकै नामबाट नुर सुल्तान नामाकरण गरिएको हो। हाल त्यहाँ कसायम-जोमार्त टोकायेभ राष्ट्रपति छन्। कजाकस्तानमा सरकारको अनुमति विना प्रदर्शन गर्नु गैर कानुनी मानिन्छ।
जनवरी २ बाट तेल खानी रहेको शहर जहानओजनमा प्रदर्शन सुरु भएको बीबीसीले जनाएको छ। १० वर्ष अगाडि यही शहरमा हिंस्रक झडप भएका थिए। एक शहरबाट सुरु भएको प्रदर्शन देशभरी फैलिँदै गएको थियो।
सरकारले एलपी ग्यासको ‘प्राइस क्याप’ (मूल्य सीमा)लाई खुला गरिदिएपछि प्रदर्शन सुरु भएको थियो। एलपी ग्यासको मूल्य कम भएका कारण अधिकांश कजाक नागरिकहरुले ग्यासबाट चल्ने साधनको प्रयोग गर्दै आएका थिए। सरकारले एलपी ग्यासमा दिँदै आएको अनुदानलाई धान्न नसक्ने भन्दै मूल्य सीमालाई खुला गरिदिएको थियो। त्योसँगै ग्यासको मूल्य दोब्बरले बढेको थियो।
त्यसपछि त्यहाँ प्रदर्शन बढ्न थालेको थियो। प्रदर्शनकारीले पूर्व राष्ट्रपति नुरसुल्तान विरुद्ध नारावाजी गर्दै उनको प्रतिमा ढाल्ने प्रयास समेत गरेका थिए। उनी राष्ट्रपति नभए पनि त्यहाँको सरकारमा बलियो पकड राख्छन्। उनी हाल त्यहाँको सुरक्षा परिषदका प्रमुख हुन्।
उनले आफ्नी छोरी डारिगालाई भविष्यको नेताको रुपमा तयार गर्दै आएको प्रर्यवेक्षकहरुले बताउँदै आएका छन्।
रुसको संलग्नता
यसैबिच कजाकस्तानमा हिंसात्मक झडप बढ्दै जाँदा रुसी संलग्नता बढ्दै गएको छ। रुसी नेतृत्वको सेनाको टोली कजाकस्तानमा पुगेको छ। त्यहाँको सरकारको आग्रहमा रुसी सेनाको टोली त्यहाँ पुगेको बीबीसीले जनाएको छ। बिहीवार साँझ अल्माते शहरमा अधिक मात्रामा गोलावारीको आवाज सुनिएको समाचारमा उल्लेख छ।
त्यहाँका राष्ट्रपति टोकायेभले हिंसात्मक घटनामा ‘तालिम प्राप्त विदेशी आतंकवादी’को हात रहेको आरोप लगाएका छन्। बुधवार त्यहाँको सरकारी टेलिभिनमा अन्तर्वाता दिँदै उनले यस्तो आरोप लगाएका हुन्।
उनले अन्तर्वार्ताका क्रममा रुस नेतृत्वको कलेक्टिभ सेक्युरिटी ट्रिटी अर्गनाइजेसन (सीएसटीओ)लाई सहयोगको लागि अनुरोध गरेका छन्। यस अलाइन्समा रुस सहित पूर्व सोभियत संघका कजाकस्तान, वेलारुस, ताजिकिस्तान र अर्मेनिया सदस्य छन्।
कजाकस्तानमा २५ सय बढी रुसी सेनाहरु पुगेको रुसको आरआईए न्युज एजेन्सीलाई उदृत गर्दै बीबीसीले जनाएको छ।
उक्त टोली त्यहाँ कति समय रहन्छ भन्ने यकिन नभएको समाचारमा उल्लेख छ। रुसले उक्त टोलीलाई शान्ति स्थापना टोली भएको जनाएको छ। सीएसटीओको सुरक्षा परिषदले शान्ति सेना पठाउने निर्णय भएको सुरक्षा परिषद्को अध्यक्षसमेत रहेका अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले जानकारी गराएको रुसी समाचार एजेन्सी तास न्यूजले जनाएको छ।