
काठमाडौं : आज दशेभर नेकपा एमालेको जिल्ला अधिवेशन हुँदैछ। प्रतिकूल मौसम र आन्तरिक तयारीका कारण स्थगन भएकाबाहेक ६१ जिल्लामा आज एकै दिन जिल्ला अधिवेशन हुँदैछ।
एमालेको दशौँ राष्ट्रिय महाधिवेशनपछि अधिकांश जिल्ला कमिटीका अधिवेशन हुन लागेको हो। महाधिवेशन पूर्व एमालेले पालिकास्तरको अधिवेशन एकै दिन गरेको थियो। एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबाट भूगोल र विशेष क्षेत्रका जिल्लाको अधिवेशनको उद्घाटन थापाथालीस्थित केन्द्रीय कार्यालयको ‘एक्सन रूम’बाट एकैसाथ ‘भर्चुअल’रुपमा गर्दैछन्।
पार्टीको काठमाडौँ जिल्ला कमिटीले अध्यक्ष ओलीका उपस्थितिमा मूलपानीस्थित क्रिकेट खेल मैदानमा अधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय गरेको छ भने ललितपुर जिल्ला कमिटीले महासचिव शंकर पोखरेलका उपस्थितिमा अधिवेशन उद्घाटन कार्यक्रम राखेको छ।
एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार चिसो मौसम र आन्तरिक तयारी अपुग भएका हिमालीलगायत १६ जिल्लामा आज अधिवेशन तोकिए पनि स्थगन भएको छ। मौसमी प्रतिकूलताका कारण जिल्ला अधिवेशन आयोजना गर्न नसकिने हिमाली जिल्लाका हकमा केन्द्रीय कार्यालयसँगको परामर्शमा अर्को मिति तोकिनेछ।
एमालेले जिल्ला तथा प्रदेश अधिवेशनका लागि दशौँ राष्ट्रिय महाधिवेशनका लागि निर्धारण गरिएको पार्टी सदस्यतालाई नै आधार बनाउनेछ। अधिवेशनका लागि प्रतिनिधि चयनको अनुपात र मापदण्ड पार्टी विधानको व्यवस्थाअनुसार सम्बन्धित कमिटीले तय गर्नेछ। जिल्ला अध्यक्ष माथिल्लो कमिटीमा निर्वाचित भएको स्थितिमा निजकै अध्यक्षतामा जिल्ला अधिवेशन आयोजना गर्न सकिने भएको छ।
जिल्ला अधिवेशनका लागि अतिथि व्यवस्थापनको सहजीकरण प्रदेश सङ्गठन कमिटीले र प्रदेश अधिवेशनका लागि अतिथि व्यवस्थापनको सहजीकरण केन्द्रीय कार्यालयले गर्नेछ। अधिवेशनमा प्रतिनिधिलाई सर्वसम्मत नेतृत्व चयनका लागि प्रेरित गर्ने र सहमति हुन नसकेको अवस्थामा निर्वाचनको विधि अवलम्बन गर्न एमालेले सर्कुलर गरेको छ। निर्वाचनको विधि र प्रक्रियाका हकमा पार्टीको केन्द्रीय निर्वाचन आयोगको निर्देशनअनुसार गर्न पनि भनिएको छ।