
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनबाट आउने परिणाम आफूहरुका लागि अनौठो नहुने बताएका छन्। नेकपा एमालेको जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनादेश विपरीत गठन भएको गठबन्धनका कारण संख्या केही तलमाथि हुने भएकाले आफूहरु परिणामबाट नडराउने बताएका हुन्।
'यो जनादेशबाट सिर्जना भएको परिस्थिति होइन। हिजोको बेग्लै परिस्थितिको दुरुपयोग गरेर पैदा गरेर आएको परिणाम हो। राष्ट्रियसभा निर्वाचनमा सकारात्मक परिणाम आएन भनेर अनौठो मान्नुपर्दैन,' उनले भने, 'अहिले हामी एक्लै अरुभन्दा मजबुत र माथि छौं। हिजोको परिस्थिति र जनमतको दुरुपयोग गरेर राष्ट्रियसभा निर्वाचननबाट प्रतिकूल परिणाम आउनसक्छ।'
गठबन्धनमा रहेका दलहरु अहिले कमजोर भएकाले गठबन्धन टिकाउन पर्छ भनेर कराइरहेको उनले बताए।
'जो जति कमजोर छ ऊ त्यति नै चर्को आवाजमा कराइरहेको छ। कमजोरलाई गठबन्धन चहिएको छ। एमालेलाई गठबन्धन चाहिएको छैन। चुनौति सामना गर्न तयार छौं,' उनले भने।
नेपाली कांग्रेस नेतृत्वको गठबन्धनलाई 'अपवित्र गठबन्धन' भन्दै उनले आफूहरुलाई 'जनताको रक्षा कबज' प्राप्त भएको दाबी गरेका छन्। आफूहरु फेरि जनादेश पाउने दिशातर्फ अग्रसर भएको भन्दै उनले सबै नेता कार्यकर्ता एमालेलाई जिताउन लाग्न आह्वान गरे।
आफ्नो नेतृत्वको सरकारले अध्यादेश ल्याउँदा माइतीघरमा विरोध प्रदर्शनमा उत्रेकाहरु नै अहिले सरकारमा रहँदा अध्यादेश ल्याउन तम्सिएको उनको आरोप थियो। ओलीले परामदेशबाट बनेको सरकारले नेपाललाई विकासको बाटोमा अघि लाग्न नसक्ने बताए।
'परमादेश सत्य होइन। जनादेश अन्तिम सत्य हो। यो सरकार आएपछि पूर्वाधार निर्माणमा, आर्थिक क्षेत्र, शिक्षा क्षेत्र ध्वस्त भएको छ। सीटीईभीटी समाप्त पार्ने प्रयास भइरहेको छ,' उनले भने।
उनले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई 'सरकार नै भन्नसक्ने अवस्था नरहेको' बताए। उनले आफूलाई हटाउन 'ड्रामा' सिर्जना गरिएको भन्दै जनताले आउने दिनमा सही निर्णय लिनेमा विश्वस्त रहेको समेत बताए।
'मतपत्रबाट प्रस्तुत गर्नुपर्छ। यो आग्रह लिएर जनतामा जान म सबैलाई आह्वान गर्छु,' उनले भने।
देशले नेकपा एमालेबाट धेरै अपेक्षा गरेको भन्दै उनले जनतालाई सचेत गराउन एमाले लाग्नुपर्ने उनले बताए।
'जनतालाई सचेत गराउन अब जिल्ला अधिवेशनले त्यसमा नेतृत्व गर्न क्षमता निर्माण होस्,' ओलीले भने।