PahiloPost

May 14, 2024 | १ जेठ २०८१

बराबरीमा रोकिए संकटा र सातदोबाटो



पहिलोपोस्ट

बराबरीमा रोकिए संकटा र सातदोबाटो
फाइल फोटो

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा संकटा क्लब र सातदोबाटो क्लब बराबरीमा रोकिएका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा संकटा र सातदोबाटो १-१ गोलको बराबरीमा रोकिएका हुन्।

खेलमा अग्रता सातदोबाटोले बनाएको थियो। खेलको २३ औं मिनेटमा संकटाका गोलकिपर राजाबाबु थापाको गल्तीको फाइदा उठाउँदै सुशील राईले गोल गर्दै अग्रता दिलाए। तर, संकटाले पनि लगत्तै गोल फर्कायो। खेलको ३२ औं मिनेटमा जय गुरुङको पासमा दीपेश आले मगरले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको कडा प्रहार गोलमा परिणत भएको थियो।

३५ औं मिनेटमा संकटाका सुवास गुरुङको प्रहार गोल पोस्टमाथिबाट बाहिरिएको थियो। त्यस्तै ३८ औं मिनेटमा वान भर्सेस वानमा सातदोबाटोका दीपकराज सिंह ठकुरी चुकेका थिए।

पहिलो हाफमा १-१ को बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा दुवै पक्षले गोल थप्न सकेनन्।

दोस्रो हाफको सुरुबाटै सातदोबाटोले दवाब भने बनाएको थियो। खेलको ७८ औं मिनेटमा सातदोबाटोका मार्टिन सिलोको प्रहार गोल पोस्टमाथिबाट बाहिरिएको थियो।

संकटाका जोर्डन जुनियरको ८० औं मिनेटमा संकटाका जोर्डन जुनियरको हेडर बल सिधै सातदोबाटोका गोलकिपर अभिशेक बरालको हातमा पुगेको थियो।

बराबरीसँगै संकटा १४ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा यथावत छ भने सातदोबाटो ९ अंक जोडेर तालिकाको ८ औं स्थानमा छ।

खेलबारे प्रतिकृया दिँदै सातदोबाटोका प्रशिक्षक सुरज महर्जनले अवसरहरु बनाएर पनि त्यसलाई सदुपयोग गर्न नसकेको बताए।

'आज त दुवै टिमले राम्रो खेल्यो। हामीले पनि धेरै अवसर बनायौं। तर गोल भएन,' महर्जनले भने, 'हामीले ३ अंकका लागि खेलेको थियौं। तर १ अंक पनि नट ब्याड।'

अर्कोतर्फ संकटाका प्रशिक्षक विष्णु गुरुङले फिनिसिङमा चुक्दा अंक बाँड्नुपरेको बताए।

'फाइनल थर्डमा क्रिएटिभ हुन सकेनौं। र, स्कोर गर्न सकेनौं। जुन गोल हान्नु पर्ने थियो त्यो सकेनौं,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell