PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

राष्ट्रियसभा निर्वाचनमा ओलीले पराजय स्वीकार गरेको माधव नेपालको भनाइ, एमालेलाई दिए भजनमण्डलीको संज्ञा



पहिलोपोस्ट

राष्ट्रियसभा निर्वाचनमा ओलीले पराजय स्वीकार गरेको माधव नेपालको भनाइ, एमालेलाई दिए भजनमण्डलीको संज्ञा

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा हार स्वीकार गरिसकेको बताएका छन्।

पार्टीको काठमाडौं महानगर कमिटीले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा सम्बोधन गर्दै नेपालले राष्ट्रियसभाको निर्वाचनमा ओलीले हार स्वीकार गरेको बताएका हुन्।

नेकपा एमाले अध्यक्ष ओलीले शुक्रबार पार्टीका जिल्लाहरुको अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रियसभा निर्वाचनको परिणाम आफ्नो पार्टीका लागि प्रतिकूल आउन सक्ने बताएका थिए। ओलीले निर्वाचनबाट आउने परिणामलाई अनौठो नमान्न पार्टीका नेता कार्यकर्तालाई भनेका थिए।

ओलीको सोही भनाईलाई उधृत गर्दै नेपालले ओलीले आफ्नो राष्ट्रियसभाको निर्वाचनमा आफ्नो पार्टीको पराजय निश्चित् छ भनेर मानेको बताएका हुन्।

'आज तपाईहरुले सुन्नु भएको होला, केपी ओलीको एउटा भाषण। त्यो भाषणमा अब राष्ट्रियसभाको चुनावमा हाम्रो पराजय निश्चित् छ भनेर स्वीकार गरिएको छ। सुन्नु भयो, हैन ? हार स्वीकार गरेका छन। पराजय स्वीकार गरेका छन्। तर कसरी स्वीकार गरे होला? त्यो दम्भी स्वभावले त दिँदैन। त्यो स्वभाव कस्तो छ भन्दाखेरी नयाँ नेतृत्व विकास गर्नै नदिने' नेपालले भने।

उनले ओलीले देशभर एकसाथ जिल्लाहरुको अधिवेशन उद्घाटन गरेर नयाँ नेतृत्व स्थापित हुन नदिएको आरोप समेत लगाए।

भने, '७७ जिल्लामा एकैपटक जिल्ला अधिवेशन उद्घाटन गर्ने। देशैभरी एकैचोटी। यसले के हुन्छ, थाहा छ ? नयाँ नेतृत्व स्थापित हुँदैन।'

नेपालले ओलीसँग उनको देवत्वकरण गर्ने मानिसहरु मात्रै रहेको र अन्य मानिसहरु विद्रोह गरेर आफ्नो पार्टीमा प्रवेश गरिरहेको दाबी गरे।

'नेतालाई देउता बनाउनेलाई देवत्वकरण भनिन्छ। देवत्वकरण भईसकेपछि त्यो देउताको वरीपरी पूजकहरुमात्रै हुन्छन्। भजनभण्डली। देउताको त भजन गर्नु पर्‍यो नि। त्यहाँ सिद्धान्तनिष्ट कार्यकर्ताहरु छैनन्। आलोचनात्मक चेत भएका मानिसहरु छैनन्,' नेपालले भने, 'त्यहाँ पूजक प्रवृत्ति बोकेकाहरु, हनुमान प्रवृत्ति भएकाहरु, अझै भनौं गणेश प्रवृत्ति भएकाहरुलाई मात्रै ठाउँ छ। त्यसो हुनाले त्यो समूह भित्र विद्रोह भईरहेको छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell