PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

फ्याट-फ्याट कसरी भेटिँदैछ नोटका बण्डल? गाडीको डिकीदेखि चाउचाउका कार्टुनभित्र पैसै पैसा!



सविन ढकाल

फ्याट-फ्याट कसरी भेटिँदैछ नोटका बण्डल? गाडीको डिकीदेखि चाउचाउका कार्टुनभित्र पैसै पैसा!
फाइल फोटो

काठमाडौं : 'हाम्रो कम्पनीको पैसा हो। कारोबारबाट उठेको रकम पठाएको हो।'

सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले कम्पनीको लेटरप्याडबाटै पत्राचार गरेपछि राजश्व अनुसन्धान विभागको अनुसन्धान अर्कैतिर सोझियो।

सौर्य एयरलाइन्सका कर्मचारी रेशा शाक्य पोखरेल र विराटनगर स्टेसन म्यानेजर प्रकाश पौडेललाई विभागले रिहा गर्‍यो। उनीहरुलाई छुटाउन सौर्य एयरलाइन्सका अध्यक्ष पोखरेले विभागमा ५० लाख रुपैयाँ धरौटी बुझाए। अब विभागको अनुसन्धान अध्यक्ष पोखरेलमा सोझिएको छ। विभागले अध्यक्ष पोखरेलको बयानसमेत लिएको छ। उनले सो रकम विमानको टिकट बिक्रीबाट उठेको बयान दिएका छन्।

अध्यक्षले टिकटबाट उठेको बयान दिए पनि विभागको अनुसन्धान भने जारी नै छ। संशय ज्युँदै छ - के टिकटको नै पैसा थियो त त्यो? टिकटको पैसा भए चाउचाउको कार्टुनमा हालेर 'चोरबाटो' किन पठाउन परेको थियो? ५० लाख रुपैयाँ विराटनगरदेखि काठमाडौंसम्म फ्लाइटमा पठाउनुभन्दा बैंकमा डिपोजिट गर्नु र त्यसैबाट थप कारोबार गर्न सकिन्न थियो? यस्ता कयौं प्रश्नले पनि सौर्य एयरलाइन्सबाट बरामद गरेको ५० लाख रुपैयाँ शंकाको घेरामा परेको छ।

'उहाँले संस्थाको पैसा भन्नुभएको छ। त्यसबारे थप अनुसन्धान गरिहेका छौं,' राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेलले भने।

गत शनिवार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट एयरलाइन्सका सहयोगी मोरङ विराटनगर महानगरपालिका-४ घर भएकी ३३ वर्षीया रेशा शाक्य पोखरेललाई प्रहरीले पक्राउ गरेको थियो। सौर्य एयरलाइन्सको उडान नम्बर एसएयु ७२४ बाट रकम आएको थियो। गोप्य सूचनाको आधारमा प्रहरीले विमानबाट आएको भद्रपुर लेखिएको रातो रङ्गको ब्यागभित्र करेन्ट चाउचाउको कार्टुन फेला पार्‍यो। त्यसको भित्र ५० लाख रुपैयाँ भेटिएको थियो।

विमानमा ५० लाख रुपैयाँ भेटिएको सात दिन बित्न नपाउँदै धनुषामा यस्तै प्रकृतिको ३८ लाख रुपैयाँ भेटियो। स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। भारतबाट नेपाल आउने क्रममा धनुषा लक्ष्मीनिया -१ सिंगरजोडा बस्ने २३ वर्षीय अमितकुमार यादवलाई उक्त रकमसहित पक्राउ गरेको हो। उनले मोटरसाइकलको डिकीमा लुकाएर ल्याइएको रकम चेकका क्रममा प्रहरीले फेला पारेको हो। रकमको स्रोत के हो? कहाँ लगिँदै थियो? भन्ने प्रश्नको जवाफ अहिले खोजीकै विषय बनेको छ।

प्रत्येक महिना बढ्दै अवैध मुद्रा बरामद

कारको डिकीमा स्पेयर टायरमुनि लुकाइएर होस् वा मोटराइकलको पेट्रोल राख्ने ठाउँमा लुकाएर अवैध रकमको कारोबार हुने गरेको देखिएको छ। प्रहरीले पक्राउ गरेको सङ्ख्या हेर्दामात्र प्रत्येक महिना थपिँदो देखिन्छ ट्रेन्ड। चालु आर्थिक वर्षको पाँच महिनामा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ५ गुणाले बढेको देखिएको छ यस्तो कारोबार। अर्थात् ३ सय प्रतिशतले यस्ता अवैध मुद्रा बरामद भएको छ। नेपाल प्रहरी भने आफ्नो सक्रियताका कारण सङ्ख्यात्मक बृद्धि देखिएको दाबी गरिरहेको छ।

'हाम्रो सक्रियता प्रमुख हो। त्यसपछि अपराधिक गतिविधिहरु हुन्डी र अन्य कारोबार गर्नेहरु भएकाले नै हो,' नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुँवरले भने।

चालु आर्थिक वर्षको पाँच महिनामा प्रहरीले देशभरबाट स्रोत नखुलेको ५ करोड ८७ लाख ५५ हजार ५ सय ६७ रुपैयाँ बरामद गरेको छ। अघिल्लो आर्थिक वर्षको पाँच महिनासँग तुलना गर्दा २ सय ९२ प्रतिशतले बरामद रकम बढेको देखिएको छ।

नेपाल प्रहरीले मात्र आर्थिक वर्ष २०७७/७८ मा अवैध अर्थात् स्रोत नखुलेको ७ करोड १ लाख ३५ हजार ९ सय ४४ रुपैयाँ बरामद गरेको थियो। यो अघिल्लो वर्षको तुलनामा झन्डै ७ सय ६ प्रतिशतले बढेको थियो।

यसरी बरामद भएको मुद्रासहित प्रहरीले पक्राउ परेका व्यक्तिलाई राजश्व अनुसन्धान विभाग वा सम्पत्ति शुद्धिकरण विभागमा पठाउँछ। व्यक्ति सम्बन्धित केसहरु प्रायजसो सम्पत्ति शुद्धिकरण विभागमा जाने गरेको छ। कुनै पनि संस्था वा फर्मको केस भने राजश्व अनुसन्धान विभागले हेर्छ।

'बजारमा देखिने अन्डर भ्यालुएसन र बिलिङले पनि बजारमा अवैध मुद्राको कारोबार भएको हुनसक्ने देखिन्छ,' राजस्व अनुसन्धान विभागका महानिर्देशक पौडेलले भने।

गत असोज ८ गते चन्द्रागिरि नगरपालिका स्थित चेक प्वाइन्टबाट भारतीय नागरिक सागर सीताराम लोखण्डे र कृष्ण आदातेलाई प्रहरीले समात्यो। लोखण्डेको झोलाबाट ५० लाख रुपैयाँ र आदातेको साथबाट ४५ लाख रुपैयाँ बरामद भयो। सम्पत्ति शुद्धिकरण विभागले तीन महिना लगाएर अनुसन्धान गरेको थियो उनीहरुमाथि। उनीहरुले ल्याएको रकम चितवनको गुरुकृपा सुनचाँदी पसल संचालन गर्ने विलाश हनुमन्त यादवको भएको खुल्यो। यादवले राजस्व चुहावट समेतको सम्बद्ध कसुरबाट प्राप्त गरेको सम्पत्तिको गैरकानुनी स्रोतको रकमलाई रुपान्तरण गर्न खोजेको देखिएको थियो। विभागले उनीहरु विरुद्ध मंसिर २९ गते विशेष अदालतमा गैरकानुनी रुपबाट प्राप्त भएको रकम जफत गरी सोही बराबरको बिगो माग दाबीसहित मुद्दा दर्ता गरेको थियो। यसपछि अरु घटना भने अनुसन्धानमा नै रहेको छ।

पछिल्लो समय व्यक्तिको साथबाट धेरै मात्रमा भेटिएको यस्तै अवैध मुद्रा २०७७ पुस २० गते बरामद भएको थियो। ३० वर्षीय अमितकुमार गुप्ता चालकसहित नागढुङ्गाबाट समातिए उक्त केसमा। भारतको गोरखपुर घण्टाघरका गुप्तालाई बिहान ४ बजेर २७ मिनेटमा काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर २ स्थित नागढुङ्गा चेक प्वाइन्टमै समातेको थियो।

गुप्ता चढेको प्रदेश ३-०१-०२३ च २२५९ नम्बरको सिल्भर कलरको गाडीभित्र रकम फेला परेको थियो। उनी कपिलवस्तुबाट कारमा काठमाडौं आउँदै थिए। कारको डिकीमा स्पेयर टायरमुनि लुकाइएको रकम फेला पारेको थियो त्यतिखेर। कारभित्र रहेका तीन वटा कालो रङका झोलामा १ करोड ४७ लाख रुपैयाँ भेटिएको थियो। प्रहरीले थप अनुसन्धानका लागि रकमसहित दुई जनालाई सम्पत्ति शुद्धिकरण विभाग बुझायो। विभागले अनुसन्धान गर्दा उनीहरू नेपालमा सुन किन्न रकम लिएर आएको खुल्यो। विभागले विशेष अदालतमा २ करोड ९२ लाख रुपैयाँ माग दाबीसहित मुद्दा दायर गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell