PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

बालकोटतिर प्रम देउवाको दौड : एमाले अध्यक्ष ओलीसँगको भेटबाट निस्केला निकास?



पहिलोपोस्ट

बालकोटतिर प्रम देउवाको दौड : एमाले अध्यक्ष ओलीसँगको भेटबाट निस्केला निकास?
ओली र देउवा।

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफलका लागि भक्तपुरको बालकोटतिर लागेका छन्।

सबा ११ बजे प्रधानमन्त्रीको एमाले अध्यक्ष ओलीसँग भेट हुने देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए। 'सम्माननीय प्रधानमन्त्रीज्यू अहिले १०:१५ बजे प्रतिपक्ष दलका नेता केपी ओलीसँग उनकै निवास बालकोटमा गएर भेट गर्दै हुनुहुन्छ,' परियारले भनेका छन्।

लामो समयदेखि नेकपा एमालेले प्रतिनिधिसभा अवरुद्ध गर्दै आएको छ। संसदमा जारी गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले नै पहल गर्नुपर्ने सुझाव आएपछि देउवा आज त्यसका लागि बालकोट गएका हुन्।

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले संसद खुलाउने पहल कदमी स्वरुप एमाले अध्यक्ष ओलीसँग छलफल गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेको थियो। त्यसै अनुसार देउवाले ओलीलाई भेट्न लागेका हुन्। राष्ट्रिय सभामा रिक्त पदमा निर्वाचन हुँदैछ। त्यसमा एमाले एकातिर छ भने सत्तारुढ गठबन्धन अर्कातिर। त्यसैको मेसोमा देउवाको ओलीसँग हुन लागेको भेटलाई महत्वका साथ हेरिएको छ।

एमालेले नेकपा एकीकृत समाजवादी पार्टीलाई मान्यता दिएको आपत्ती तथा १४ जना सांसदमाथि पार्टीले कारवाहीका लागि गरेको पत्राचार सभामुखले कार्यान्वयनमा नल्याएको विषयलाई एजेन्डा बनाउँदै एमालेले संसद अवरुद्ध पार्दै आएको छ। एमालेले सभामुख अग्नि सापकोटाको राजीनामालाई पनि मुद्दा बनाउँदै आएको छ। त्यसैले संसद बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले अवरोध गर्दै आएका छन्।

देउवा र ओलीबिच आजको भेटले गतिरोध अन्त्य गर्छ अथवा राजनीति अन्य फरक मोडतिर धकेलिन्छ त्यसै भन्न सकिने अवस्था भने छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell