'तिमीले भगवानको मूर्ति किन चोरेको?'
डा एमिलिन स्मिथले मूर्ति चोरलाई प्रश्न गरिन्।
'किनभने उनीहरु त्यो मूर्तिको रक्षा गर्न सक्दैनन्। विदेशमा तिनीहरुको भगवान् सुरक्षित राख्न ल्याएको हुँ।'
चोरको उत्तर सोझो र तार्किक सुनिन्छ।
युनिभर्सिटी अफ ग्लासगोमा आर्ट क्राइम र क्रिमिनोलोजीका लेक्चरर हुन् डा. एमिलिन। अनुसन्धानका क्रममा उनी मूर्ति चोर र तस्करसम्म पुग्छिन्। जब मूर्ति वा कलाकृतिको तस्करी र लेनदेन गर्नेसँग उनको साक्षत्कार हुन्छ, उनी यसैगरी प्रश्न गर्छिन्। अनि अपराधीहरुले आफ्नो अपराधको औचित्य पुष्टि गर्न दिएका यस्तै उत्तरको सामना गर्नुपर्छ उनले।
तस्करहरुले जतिसुकै तार्किक जवाफ दिए पनि एमिलिनलाई थाहा छ - यसरी मूर्ति चोरेर विदेशका म्यूजियम वा निजी कलेक्शनसम्म पुर्याउनुको उद्देश्य चोरिएका वस्तुलाई सुरक्षित बनाउनु पक्कै होइन। र, थाहा छ, उनी जे सुनिरहेकी हुन्छिन् ती त कलाकृतिको गैरकानुनी व्यापारमा संलग्न रहेका समूहको ‘रेडिमेड’ उत्तर न हुन् जससँग जोडिएको छ लाखौं डलरको कारोबार।
अनुसन्धानकर्ताकै रुपमा उनले कयौं चोर र तस्करहरुसँग भेटिन्। म्यूजियम संचालक र निजी संकलकसँग पनि भेटिन्। जहाँ गइन् 'अन्डर कभर' कहिलै गइनन्। त्यसैले उनीहरुसँग ‘डिल’ गर्न सजिलो भयो। जति कुरा हुन्थ्यो त्यति नै यो विषय ‘इन्ट्रेस्टिङ पजल’ लाग्थ्यो उनलाई। किनभने तस्करहरु यस विषयमा निकै व्यग्र सुनिन्थे। फरकफरक देशको अवस्था र कानुनबारे जानकार हुन्थे उनीहरु। कोही त आफूलाई ‘कल्चरल हेरिटेज सेभियर’ कै संज्ञा दिन भ्याउँथे।
'आर्ट क्राइम'बारे अध्यापनमा तल्लिन उनले एसियाली राष्ट्रहरुमा हुने गरेको सम्पदा र कला तस्करीबारे धेरै अनुसन्धान गरेकी छिन्। विदेशका म्यूजियममा पनि धेरैजसो कलाकृतिहरु यतैका छन्। केही उपनिवेशकालमा लगिएका छन्। कति त चोरी तस्करी मार्फत् कसरी पुगे कसैलाई थाहा छैन।
एक पटक नेपालबाट मूर्ति चोरेर लगेका व्यक्तिसँग पनि उनले प्रश्न गरिन्।
'यो विदेशमै सुरक्षित छ। नेपालीहरुले त्यसको हेरचाह गर्न सक्दैनन्।'
एक चोरले जवाफ फर्काए।
'मैले यसो गरेँ किन भने म चाहन्छु नेपालको यो सांस्कृतिक सौन्दर्यताबारे अरु देशले थाहा पाओस्,' अर्का चोरको जवाफ!
जबजब उनी कलाकृतिको गैर कानुनी कारोबार वा चोरी गर्नेहरुको उत्तर सुन्छिन् उनलाई नमीठोगरी पीडाले घोच्छ।
उनलाई थाहा छ जसरी उनीहरुले आफ्नो गलत कामको औचित्य पुष्टि गर्ने प्रयास गरे पनि त्यो गैर कानुनी नै हो।
'उनीहरुको यस्तो कुरा सुन्दा पीडा महसुस हुन्छ। यो अपराधिक र हानिकारक व्यवहार हो,' उनले भनिन्, 'किनभने जब तिमी कुनै समुदायको आस्थाको केन्द्र चोरी गर्छौं त्यससँगै त्यहाँका अमूर्त सम्पदा पनि ध्वस्त हुन्छ। कथा, संगीत, पर्वहरु पनि प्रभावित हुन्छ।’
+++
नेदरल्याण्डसकी एमिलिन युवावयदेखि नै सांस्कृतिक विषयहरुसँग नजिक थिइन्। पुरातत्वको विषयमा स्नातकोत्तर गरिसक्दा नै उनले थाहा पाइसकेकी थिइन् - सांस्कृतिक सम्पदाहरुको विश्वभर हुने व्यापार। जब उनी म्यूजियम पुग्थिन्, त्यहाँ रहेका कलाकृतिबारे जिज्ञासु हुन्थिन्।
कुनै अन्जान राष्ट्रको कलाकृति कसरी त्यहाँ आइपुग्यो?
आफैलाई प्रश्न गर्थिन्।
यो कलाकृति बनाउने वा त्यसलाई पुज्ने मान्छेहरुलाई त्यो मूर्ति यहाँ छ भन्ने थाहा छ कि छैन?
प्रश्नले सताउँथ्यो उनलाई। त्यसैको उत्तर खोज्ने हुट्हुटीले उनलाई ‘आर्ट हिस्ट्री’ को विद्यार्थी बनायो। तर, कलाकृतिको इतिहास मात्रै थाहा पाएर के गर्नु? पुरातत्वको दृष्टिकोणबाट हेर्ने हो भने कुनै मूर्ति वा कलाकृतिको उत्पत्ति स्थानबाट कसरी यी वस्तुहरु हराए भन्ने जान्नु पर्थ्यो।
त्यसैले उनलाई कलाकृतिको ‘ट्रान्स नेशनल ट्रेड’ (अन्तर्राष्ट्रिय व्यापार) सहित अपराधिक सञ्जाल कसरी चल्छ भन्ने थाहापाउन मन लाग्यो। पुरातत्वबाट उनले ‘क्रिमिनोजोली’ को अध्ययन सुरु गर्नुपछाडिको कारण यही थियो। स्कटल्याण्डको ग्लासगो विश्वविद्यालयबाट त्यसैमाथि विद्यावारिधि (पीएचडी) गरिन् उनले।
पढाई र अध्ययनका सिलसिलामा उनी एसियाली देशहरु पुगिन्। त्यहाँका स्थानीय र रैनाथे संस्कृति बुझिन्। हराएका मूर्ति र अन्य कलाकृतिको दस्तावेजिकरण गरिन्।
गएको कात्तिकमा उनी नेपाल आउँदा डोल्पासम्म पुगेकी थिइन्। त्यहाँका मूर्त र अमूर्त सम्पदाका बारेमा स्थानीयसँग कुराकानी र अनुसन्धानकै क्रममा बाँकी देशमा झै उनलाई प्रश्न सोधियो।
जब उनी एसियाली राष्ट्रहरुको भ्रमण गर्छिन् तब मानिसहरु आफ्नो सांस्कृतिक सम्पदाका बारेमा कुरा गर्दा निकै भावुक हुन्छन्। अनुसन्धानका क्रममा पुगेका हरेक राष्ट्रका मानिसहरु उनीसँग प्रश्न गर्छन् : तिमी कहाँबाट आएको? बाहिर हाम्रो सम्पदालाई कसरी हेरचाह गरिरहेका छन्? हाम्रो सम्पदा विदेशका संग्राहलयमा किन छन्? मेरो भगवानलाई टीका लगाउने गरिएको छ?
जहाँ जान्छिन् उस्तैखाले प्रश्न। तिनको उत्तर के दिने उनलाई नै थाहा छैन। उनलाई थाहा छ - चोरिएर बाहिरका संग्राहलयमा रहेका मूर्ति वा अन्य कलाकृतिसँग त्यहाँका स्थानीयको जीवन शैली जोडिएको हुन्छ। एउटा चोरीले वर्षौंदेखि हुँदै आएको सांस्कृतिक पुस्तान्तरण विथोलिएको हुन्छ।
‘जब यी प्रश्नहरुको सामना गर्छु तब निकै दोषी महसुस गर्छु। नेपालको सम्पदा जोगाउन र फिर्ता गर्ने लडाइँमा म सक्दो सहयोग गर्न चाहन्छु,’ उनले भनिन्।
‘सम्पदा विरासत हो’
मंसिर १८ गते पाटनको पट्को टोलमा तीन दशकभन्दा अघि चोरी भएको लक्ष्मी नारायणको मूर्ति अमेरिकाबाट फिर्ता ल्याएर स्थापना गरियो। कात्तिकमा डोल्पा पुगेर स्कटल्याण्ड फर्किएकी उनी लक्ष्मी नारायणको मूर्ति स्थापना भएको कार्यक्रम हेर्न फेरि नेपाल आइन्। विदेशबाट यसरी आफ्नो देवता फर्किँदा स्थानीयमा देखिएको उल्लासमा उनी पनि मस्त देखिन्थिन्।
नेपालका हजारौं कलाकृति बाहिर रहेकोले अझै धेरै काम गर्नुपर्ने उनको बुझाई छ।
नेपालका देवदेवी र अन्य कलाकृतिहरु सेतो रंगको भित्ताले घेरिएका म्यूजियमका सिसाका बासकहरुमा कैद छन्। मन्दिरमा हुनुपर्ने देवता यसरी ‘वस्तु’ का रुपमा प्रदर्शनी हुँदा सांस्कृतिक र धार्मिक मूल्यमा चोट पुगिरहेको एमिलिनको बुझाई छ।
‘विभिन्न देशका कलाकृतिहरु राखिरहेको म्यूजियममा हिँड्नु र पूजा भइरहेको मन्दिरमा हिँड्नु, मूर्तिहरु हेर्नु, सांस्कृतिक सम्पदाहरु हेर्नुको छुट्टै महत्व छ,' एमिलिनले व्याख्या गरिन्, ‘तिनीहरु 'कल्चरल हेरिटेज' हुन्। उनीहरुको प्रयोग हुनुपर्छ। यो मूर्ति वा कलाकृति जहाँको हो त्यहाँ नै फिर्ता हुनुपर्छ। स्थानीयले आफ्नो परम्परा अनुसार त्यसको प्रयोग गर्न पाउनुपर्छ।’
नेपाल कसरी बन्यो अपराधको केन्द्र?
हाल विदेशमा रहेका ‘एसियन आर्ट’हरु अधिकांश उपनिवेशकालमा लगिएका हुन्। नेपालमा कसैको उपनिवेश त थिएन तर एसियामा त्यसको बढ्दो प्रभावले यहाँ पनि सम्पदाको तस्करी हुन थाल्यो।
‘१९७० को दशकमा जब नेपाल सबैका लागि खुल्यो, धेरै मानिस यहाँ आए। 'हिप्पी'को हब बनेको थियो नेपाल। यही समयको सेरोफेरोमा नेपाल शरणार्थी संकटबाट पनि गुज्रियो। यही बेला यहाँका कलाकृति धेरै बेचिए,’ उनले भनिन्।
बाहिरी विश्वका लागि नयाँ रहेको नेपालका कलाकृतिमा धेरैले ‘पैसा’ देखे। नेपाल एकातिर अमेरिकी र युरोपियनहरुका लागि सांस्कृतिक सामाग्री किन्ने बजार बन्यो। अर्कोतिर बाहिरबाट आएका मानिसहरु यहाँका हिन्दु र बौद्ध संस्कारसँग सम्बन्धित कलाकृतिप्रति मोहित भए। काठमाडौंका गल्लीगल्ली घुम्न सिपालुहरु यहाँका सांस्कृतिक सन्दौर्य आफैसँग लैजान चाहन्थे। नेपालका कलाकृतिहरु जब विदेशिन थाले त्यसको ‘माग र बजार’ पनि ह्वात्तै बढ्यो। र, यहाँ मूर्तिहरुको व्यापार अनि चोरी बढेको उनी बताउँछिन्।
एमिलिनका अनुसार नेपालका हजारौं कलाकृतिमध्ये केही संग्रहालयको 'सो-केस'मा छन्। केही बन्द कोठाभित्र। नेपालजस्तो सांस्कृति विविधताले भरिएको तर भौगोलिक हिसाबले सानो राष्ट्रबाट कलाकृति कसरी तस्करी हुन्छ त?
‘लुपहोल्स (कमी कमजोरी)को फाइदा उठाउँदै,' उनको सोझो जवाफ अनि थप व्याख्या, 'सबै देशको कानुन समान हुँदैन। नेपालबाट सांस्कृतिक कलाकृतिहरु बाहिर लैजानु गैरकानुनी हो। तर अरु राष्ट्रहरुमा पनि लुपहोल्स छन्। हङ्कङको कुरा गर्ने हो भने धेरै लुपहोल्स छन्। केही राष्ट्रमा बेचबिखन खुलेआम हुन्छन्। तस्करहरुले यसकैको फाइदा उठाउँछन्।’
नेपालमा खुला सीमा भएका कारण सजिलै मूर्ति र अन्य कलाकृति बाहिरिएको उनको निचोड छ।
‘यस्ता सामाग्रीको सुरक्षाको लागि युनिफर्म लिगल सिस्टम छैन। त्यसैले सजिलै तस्करी हुन्छ। मूर्तिहरु बेचबिखन गर्न नेपालबाट चोरिन्छन् र 'ट्रान्जिट कन्ट्री'हरुमा पठाइन्छ। त्यसपछि 'मार्केट कन्ट्री'मा पठाइन्छ। जहाँ त्यसको व्यापार सजिलै गर्न सकियोस,’ उनले तस्करी र त्यसको कारोबारको शैली व्याख्या गरिन्।
एमिलिनले ४० वटा संग्राहलयमा रहेका 'चोरिएका मूर्ति'हरुको 'डाटाबेस' बनाएकी छिन्। तीमध्ये सबै संग्राहलयमा नेपाली कलाकृति छन्, हजारौंको संख्यामा। अझै कति कहाँ छन् कसैलाई थाहा छैन। थाहा भए पनि सजिलै फिर्ता ल्याउने सम्भावना कम छ।
‘सबैलाई एकसाथ फिर्ता ल्याउन वा माग्न गाह्रो छ। कतिपय सामाग्री कहाँको हो भनेर हामीलाई थाहै छैन। तर, हामी प्रयास गरिरहेका छौं। नेपाल हेरिटेज रिकभरी क्याम्पेन त्यसैको उपज हो,’ अहिलेसम्म मिलेको सफलताबारे सुनाइन्।
मूर्तिको मनोविज्ञान र अर्थशास्त्र
‘म बुझ्छु। यो निकै सुन्दर कलाकृति हो। र, 'यु वान्ट टु ह्याभ इट?,’
उनले चोरी गर्नेको मनोविज्ञानबारे बताउने प्रयास गरिन्।
अनुसन्धानका क्रममा गैरकानुनी व्यापारमा संलग्न धेरै मानिसले ‘आर्ट’लाई अचाक्ली माया गर्ने गरेको पाइन्। मूर्ति वा कुनै वस्तुको ‘एस्थेटिक्स’लाई मन पराउने धेरै भेटिए। यसरी मूर्ति चोरी गर्ने र किन्नेहरु आफूसँग रहेका कलाकृतिसँग गाँसिएका कथाबारे पनि उत्तिकै जानकार हुने रहेछन्।
‘उनीहरु कलालाई माया त गर्छन्। तर, त्यो सम्पदा त्यहीँ नै रहोस् भनेर चाहँदैनन्। उनीहरु त्यसलाई वस्तु ठान्छन् र त्यसलाई संग्राहलय र निजी संग्रहमा इन्जोय गर्न रुचाउँछन्,’ एमिलिनले भनिन्।
मूर्ति चोरी, तस्करी र लेनदेनमा संलग्नहरु जति नै मूर्तिप्रति आकर्षित हुन् वा त्यसको सांस्कृति कथाबारे जानकार हुन् - उनीहरुको मुख्य उद्देश्य त्यसबाट नाफा कमाउनु नै हो। मूर्ति र अन्य सांस्कृति कलाकृतिको तस्करीमा रमाउनेहरु धेरै छन्। किन भने यसमा जोखिम कम छ। जोखिम नेपाल वा 'सोर्स कन्ट्री'बाट ट्रान्जिट राष्ट्रहरुमा समाउलान् भन्ने बेलासम्म मात्रै रहन्छ। ‘मार्केट कन्ट्री’ पुगेपछि रोक्ने कोही हुँदैन।
‘यी सब पैसाकै लागि गरिएको हो। यसको इकोनोमिक भ्यालु छ। त्यसैले त एउटै कलाकृति पटकपटक बिक्री भइरहेको छ। सजाउन वा देखाउन मात्रै अक्सन हाउसमा यस्ता वस्तु राखिँदैन,’ उनले बजारशास्त्रको व्याख्या गरिन्।
आखिर किन तस्करी बढिरहेको छ त?
‘१० डलरमा किनेको मूर्ति मिलियन डलरमा बेच्न पाए पछि के हुन्छ?,' उनको प्रश्न आयो। सँगै जवाफ पनि, 'मन्दिरमा रहनुपर्ने कलाकृति बाहिर सजिलै पैसा कमाउने माध्यम बनेको छ। नेपालबाट एउटा मूर्ति चोरी हुन्छ। दलालले बिचमा कयौंसँग त्यसको डिल गर्छ। र, अन्त्यसम्म केही डलरमा बिक्री भएको मूर्ति मार्केट कन्ट्रीसम्म पुग्दा त्यसको भाऊ मिलियन डलरसम्म पुग्छ।’
अब प्रश्न गर्नुपर्छ प्रश्न
विदेशस्थित संग्राहलयमा जाँदा नेपाली कलाकृति वा भगवानको मूर्ति देख्यो भने तपाईं के गर्नु हुन्छ? के यसरी नेपालकै मूर्तिहरु देख्दा कहिलै म्यूजियमलाई सोध्नु भएको छ : हाम्रो मूर्ति वा सम्पदा तिम्रो म्यूजियममा कसरी आयो?
एमिलिन अहिले प्रश्न गर्ने बेला आइसकेको बताउँछिन्। तर, म्यूजियमका 'क्युरेटर'हरु यसरी प्रश्न सोध्दा ‘डिफेन्सिभ’ रुपमा प्रस्तुत हुन्छन्। ‘किनभने उनीहरुलाई थाहा छ त्यहाँ केही गलत भएको छ,' एमिलिनले अनुभवका आधारमा निचोड सुनाइन्।
नेपाल सहित विभिन्न एसियाली देशबाट धेरै मूर्तिहरु बाहिरिएको थाहा हुँदाहुँदै पनि यो व्यापारका बारेमा कमैमात्रै प्रश्नहरु उठ्थे। चोरिएका वा तस्करी गरि 'मार्केट कन्ट्री'का संग्राहलयमा सार्वजनिक रुपमा नै अरु देशका मूर्ति र कलाकृतिहरु राखिँदा बिरैले उठ्थ्यो प्रश्न। तर, समयले कोल्टे फेरेको छ।
तलेजु मन्दिर र हाल सिकागोमा रहेको प्रताप मल्लले चढाएको हार
एमिलिनको बुझाईमा अहिले म्यूजियमसँग प्रश्न सोध्ने ‘ट्रेन्ड’ बढेको छ। त्यसैले आउँदा दिनमा सिसाका ग्लासभित्र बन्द भगवानहरु मन्दिरमा फर्किनेमा आशावादी छिन् उनी।
‘अहिले मानिसहरु प्रश्न गर्न थालेका छन्, क्रिटिकल प्रश्न। हराएका मूर्तिहरु कहाँ छन् भनेर खोज्न थालेका छन्। यो राम्रो सुरुवात हो,’ उनले भनिन्, ‘अब मानिसहरु यसबारेमा सचेत हुनुपर्छ। जब उनीहरु संग्राहलय वा प्राइभेट कलेक्सनमा नै किन नजाओस्, वा होटलमा नै किन नहोस् क्रिटिकल प्रश्न गर्नुपर्छ।’
मूर्ति र कलाकृतिको तस्करी नियन्त्रण एकल प्रयासले हुन सक्दैन। सरोकारवाला सबै मिलेर यसको नेतृत्व लिएमात्रै अपराध कम हुने उनको बुझाई छ। अर्को भनेको, स्थानीय स्तरबाट नै स्थानीय कलाकृति र मूर्तिहरुको ‘डाटाबेस’ तयार हुन आवश्यक ठानेकी छिन् उनले।
‘स्थानीय समुदाय यसबारे अनभिज्ञ छन्। एकपटक चोरेपछि कसरी खोज्ने थाहा छैन। भेटिए कसरी फिर्ताको पहल गर्नेबारे जानकार छैनन्। पहुँच नि हुँदैन। कतिपयसँग कुनै प्रमाण नै हुँदैन,’ उनले भनिन्।
यसरी प्रश्न उठ्दा पश्चिमा र अमेरिकी म्युजियमका ‘क्युरेटर’ वा विज्ञहरुले आ-आफ्नो अडानलाई ‘सेट ब्याक’ गरेर स्थानीयको आवाज सुन्नुपर्ने एमिलिन बताउँछिन्।
‘यसको समाधान युरोप र अमेरिकाबाट आउँदैन। समाधान रैथाने समुदायले के चाहन्छ, त्यहाँबाट आउँछ। र, 'मार्केट कन्ट्री'हरु, म्युजियम र यसमा संलग्नहरुले उनीहरुको कुरा सुन्नुपर्छ,’ एमिलिनको प्रष्ट बुझाई छ, ‘यो अन्तरदेशीय अपराध हो। यसलाई रोक्न सबै एक ठाउँमा उभिनुपर्छ।'
उनलाई थाहा छ यो खुला र भावनात्मक विषय पनि हो। भनिन्, 'त्यसैले अहिले नै रोक्न गाह्रो होला। तर, कुनैबेला हामीले यसको समाधान अवश्य फेला पार्नेछौं।’