बुटवलः नेकपा (एमाले) अर्घाखाँचीको आठौं अधिवेशनले पिताम्बर भुसाललाई अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको छ। अर्का प्रत्यासी जीवनारायण कोइरालाले भुसाललाई नै समर्थन गरेपछि सर्वसम्मत नेतृत्व चयन भएको हो।
उपाध्यक्षमा ईश्वरा पोखरेल, सचिवमा तेजबहादुर रायमाझी र उपसचिवमा शम्भु पोखरेल र भीम केसी सर्वसम्मत चयन भएको एमाले अर्घाखाँचीले जनाएको छ।
भुसाल २०५४ सालमा साविक बाँगी गाविसको अध्यक्ष पदमा निर्वाचित भएका थिए।
अधिवेशनले ९० सदस्यीय जिल्ला कमिटी चयन गरेको छ।
पाल्पाको अध्यक्षमा घिमिरे
यस्तै, एमाले पाल्पाको अधिवेशनले धनेन्द्रराज घिमिरेलाई अध्यक्षमा चयन गरेको छ। उपाध्यक्षमा देवीलाल लामिछाने, सचिवमा रामजी पोखरेल र उपसचिवमा टीका थापा तथा सुनिता शर्मा चयन भएका छन्। अधिवेशनले घिमिरेको नेतृत्वमा १०५ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ।
दाङको अध्यक्षमा बस्नेत
एमाले दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत निर्वाचित भएका छन्। बस्नेत निवर्तमान उपाध्यक्ष हुन्।
शुक्रबार सम्पन्न १३औँ जिल्ला अधिवेशनले बस्नेतको अध्यक्षतामा १२१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। उपाध्यक्षमा राममणि पाण्डे, सचिवमा मनोहर बुढाथोकी, उपसचिव कृष्ण भुसाल र हिरादेवी पुनलाई चयन गरेको छ। सर्वसम्मत नेतृत्व चयन गरिएको छ।