PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

देउवाको ओलीलाई प्रस्ताव: ‘तपाईँ अवरोध हटाउनुस्, म एमसीसी ल्याउँछु पास गरौँ'



प्रकाश भण्डारी

देउवाको ओलीलाई प्रस्ताव: ‘तपाईँ अवरोध हटाउनुस्, म एमसीसी ल्याउँछु पास गरौँ'

काठमाडौँ: प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद्को अवरोध हटाउन गरेको प्रस्ताव नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेका छन्।

देउवाले संसद्को अवरोध हटाउन र अमेरिकी सहायता सम्झौता मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पास गर्न ओलीलाई प्रस्ताव गरेका थिए। शनिबार ओली निवास बालकोट पुगेका देउवाले ओलीसँग झन्डै एक घण्टा कुरा गरे। देउवा-ओलीका बीचमा एक्ला-एक्लै रूपमा वार्ता भएको हो।

भेटपछि ओलीले कुराकानी राम्रो भएको बताएका थिए।

देउवाका दुई प्रस्ताव

सरकार सञ्चालनका लागि गठित उच्चस्तरीय राजनीति संयन्त्रको शुक्रबारको बैठकले ओलीलाई भेटेरै संसद् अवरोध हटाउनका लागि पहल गर्न देउवालाई अनुरोध गरेको थियो। उक्त निर्णय अनुसार देउवाले ओलीलाई शनिबार भेटेका हुन्। यसअघि उच्चस्तरीय राजनीति संयन्त्रका संयोजक रामचन्द्र पौडेलले पनि ओलीलाई भेटेका थिए। पौडेलले ओली संसद्को अवरोध हटाउन इच्छुक नदेखिएको बताएका थिए। पौडेलपछि शनिबार देउवाले ओलीलाई भेटका हुन्।

भेटमा देउवाले ओलीलाई संसद्को अवरोध हटाउन र एमसीसी पारित गर्न आग्रह गरेको एमालेको संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए।

'संसद् अवरोध खुलाउँ र म एमसीसी प्रस्ताव ल्याउँछु पास गरौँ भनेर प्रधानमन्त्रीले अध्यक्षलाई भन्नुभयो,'नेम्वाङले भने।
देउवाले गरेको दुवै प्रस्तावलाई ओलीले अस्वीकार गरेका हुन्।

के भने ओलीले?

देउवाले गरेको प्रस्ताव अस्वीकार गर्दै ओलीले सत्तारुढ दलहरूको भूमिका प्रस्ट नभएको बताएका छन्। उनले संसद्को अवरोध हटाउने विषयमा आफ्नो पार्टीको अडान यथावत् रहेको र फेरि पनि यथावतै रहने बताएको नेम्वाङले जानकारी दिए। यस्तै, एमसीसी पारित गर्ने विषयमा पनि ओली देउवाको प्रस्तावबाट पन्छिएका छन्। उनले सत्तारुढ दलहरूसँगै एमसीसी पास गर्नका लागि आवश्यक संख्या भएकाले एमालेको भूमिका नहुने बताएका थिए। ओलीले सरकारले संसद्को अवरोध हटाउन लागि पहल नगरेको बताएका थिए।

उनले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा वा माधवकुमार नेपाललगायतका सांसदलाई एमालेले गरेको कारबाहीको सूचना सार्वजनिक गर्नुपर्ने माग गरे। ओलीले अवरोध हटाउन लागि सरकारले गरिरहेको पहल केवल औपचारिक मात्रै भएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए।

'अवरोधका बारेमा हाम्रो जे माग छ सरकारले त्यसमा औपचारिकता मात्र पूरा गर्ने गरेको छ। आज पनि औपचारिकता मात्रै पूरा गर्‍यो। त्यसैले अवरोध जारी नै हुने भयो। एमसीसीका बारेमा सत्तापक्षसँगै आवश्यक बहुमत पनि छ। उसको जिम्मेवारी पनि हो। तर यसमा सरकारले केही गरेको छैन। त्यसैले सरकारले काम नगरेसम्म हामी त के भन्ने भन्नुभयो अध्यक्षले,'ओलीलाई उद्धृत गर्दै नेम्वाङले भने।

एमालेले नै मागेको वान टु वान कुराकानी

एमालेका सांसदहरूले संसद्को अवरोध हटाउन देउवाले ओलीसँगै कुराकानी गर्नुपर्ने बताउँदै आएका थिए। सभामुख सापकोटाले अवरोध हटाउन भन्दै गरेको पहललाई अस्वीकार गर्दै एमालेका नेताहरूले सापकोटासँग वार्ता हुन नसक्ने बताएका थिए।

ओलीले आफ्नो अडानलाई यथावत राखेर संसद्को बर्खे र हिउँदे दुवै अधिवेशनलाई अवरुद्ध पारेपछि देउवा वार्ताका लागि अग्रसर भएका हुन्।

यसअघि देउवाको दूतको रूपमा गृहमन्त्री बालकृष्ण खाणले पनि ओलीलाई दुई पटक भेटेका थिए। तर, उक्त प्रयास सफल भने हुन सकेन। सभामुख सापकोटाले एमालेको माग बमोजिम हिउँदे अधिवेशनमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउने गरेका छन्। तर, उक्त बैठकमा पनि एमालेले औपचारिकताका लागि मात्रै सहभागिता जनाइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell