काठमाडौँ : कोरोनाको ओमिक्रोन भेरियन्टको सङ्क्रमण बढ्न नदिन काठमाडौं उपत्यका भित्रका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुले सक्रियता बढाएका छन्।
शुक्रवार प्रधानमन्त्री कार्यालयमा कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिको बैठक बसेको थियो। उक्त बैठकमा प्रधान मन्त्री शेरबहादुर देउवाले सङ्क्रमण बढ्न नदिन तथा उपचारमा विशेष ध्यान दिन निर्देशन दिएका थिए।
निर्देशक समिति बैठकमा देउवाले सीमा नाकाहरूमा चेक बढाउन, संक्रमितको खाना र बस्नको आवश्यक व्यवस्था मिलाउन पनि निर्देशन दिएका थिए। सीसीएमसी बैठकले पनि सङ्क्रमण बढ्न नदिन सतर्कता अपनाउने निर्णय गरेको छ।
सीसीएमसीको निर्णयअनुसार नै थप कार्यक्रम तय गर्ने प्रमुख जिल्ला अधिकारीले बताएका छन्। काठमाडौं उपत्यका भित्रका तीनवटै जिल्लाका सीडीओहरू सीसीएमसी बैठकमा भएका निर्णय कुरिरहेका छन्।
'अहिलेसम्म सीसीएमसीको कुनै पनि जानकारी आएको छैन। आज भोलि नै केही निर्णय आउला। त्यसलाई कसरी कार्यान्वयन गर्ने, थप कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरिरहेका छौँ,' ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी धनश्याम अधिकारीले भने।
सीसीएमसीको निर्णयपछि तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्ने तयारी भइरहेको छ। शुक्रवार बसेको बैठकले संक्रमणदर बढेमा चाँडै अर्को बैठकबाट स्मार्ट लकडाउन गर्ने विषयमा पनि छलफल भएको थियो। आवश्यकता अनुसार भिडभाड हुने स्थान, सिनेमा हल, विद्यालय तथा बजारमा स्मार्ट लकडाउन गर्नेबारे पनि छलफल भएको थियो।