
उत्तरी चीनको थियानचिनमा शहर भरीका नागरिकहरुको न्यूक्लिक एसिड टेस्ट हुने भएको छ। बेइजिङको छिमेकी शहर थियानचिनमा २० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएपछि आम परीक्षण थालिएको छ।
शुक्रवार साँझ ६ बजेदेखि शनिवार राती ९ बजेसम्मको परीक्षणका क्रममा २० जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो।
त्यस्तै चीनमा पहिलोपटक स्थानीय रुपमा दुई जनामा जिन सेक्वेन्सिङबाट भेरियन्ट अफ कन्सर्न/ओमोक्रन पुष्टि भएको छ। यससँगै आम रुपमा परीक्षण अभियान थालिएको हो।
त्यस्तै १८ अन्य संक्रमितमध्ये अधिकांश दिवा सेवा र प्राथमिक विद्यालयका विद्यार्थी र उनीहरुका परिवार रहेको उल्लेख छ। दुई ओमोक्रन पुष्टि भएका पनि सोही विद्यालयका रहेको त्यहाँको नगरपालिका स्वास्थ्य आयोगका निर्देशन कु छिङले जानकारी दिएको सिन्ह्वाले जनाएको छ।
पछिल्लो संक्रमणले भाइरस तीन पुस्तामा फैलिएको छ। थप संक्रमण पुष्टि हुन सक्ने अनुमान गरिएको छ।
यसैबीच पछिल्लो ओमोक्रन संक्रमण इम्पोर्टेड केससँग सम्बन्धित छन् कि छैनन् भन्ने पुष्टि भइसकेको छैन।
थियानचिनको चार जिल्लामा २४ घण्टामा परीक्षण सम्पन्न गर्ने बताइएको छ। त्यस्तै अन्य १२जिल्लामा सोमवार बिहान ७ बजेसम्म परीक्षण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
त्यहाँका स्थानीयलाई ग्रिन हेल्थ कोड नेगेटिभ परीक्षण रिपोर्ट आएपछि मात्र दिइने बताइएको छ।
यसैबीच चीनमा शनिवारसम्म २ अर्ब ८९ करोड कोभिड-१९ भ्याक्सिन वितरण भइसकेको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगको तथ्यांकमा उल्लेख भएको सिन्ह्वाले जनाएको छ।