PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

४० वर्षअघि हराएको लोकेश्वर पद्मपाणीको मूर्तिलाई नक्साल फर्काइयो, भगवान् फर्किँदा विहारमा उत्सव

४० वर्षअघि हराएको लोकेश्वर पद्मपाणीको मूर्तिलाई नक्साल फर्काइयो, भगवान् फर्किँदा विहारमा उत्सव

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नक्सालको शंकर कीर्ति महाविहारबाट करिब ४० वर्षअघि लोकेश्वर पद्मपाणी करुणामयको मूर्ति हरायो। मूर्ति बेपत्ता भएपछि स्थानीयले खोजबिन गरे। प्रहरी गुहारे। मूर्ति फेला परेन। त्यसपछि विहार पद्मपाणी करुणामयको मूर्ति बिहीन रह्यो।

४० वर्षपछि भने पद्मपाणी करुणामयको मूर्ति विहारमा फर्काइएको छ। राष्ट्रिय संग्रहालय छाउनीबाट आज गुरुजुको पल्टन र बाजागाजा सहित जात्रा गरेर विहार पुर्‍याइएको हो।

सम्पदा संरक्षण महाअभियानको अगुवाइ र गायक योगेश्वर अमात्यको पहलमा मूर्ति विहार फर्काइएको हो।

करिब दुई वर्षअघि नक्सालमा पुरिएको एक हितिको इतिहास खोज्ने क्रममा महाअभियान संचालन गरिरहेका याद्धवलाल कायस्थको टोली  शंकर कीर्ति महाविहार पुगेका थिए। त्यसक्रममा स्थानीयले विहारबाट पनि मूर्ति हराएको कायस्थको टोलीलाई बताएका थिए। महाअभियानले जसरी भएपनि मूर्ति खोजेर विहार फिर्ता गराउने वाचा गरेको थियो।

हिति खोज्दै गर्दा याद्धवलालको समूहले मूर्ति पनि खोजिरह्यो। उनले सामाजिक संजालमा महाविहारबाट मूर्ति बेपत्ता भएको खबर फैलाए। त्यही क्रममा एक विदेशीले उनले खोजिरहेको मूर्ति छाउनीस्थित राष्ट्रिय संग्रहालयमा रहेको भन्दै सन्देश पठाए। त्यसपछि उनी गायक योगेश्वर अमात्यसहित छाउनी पुगे। नक्सालबाट हराइरहेको मूर्ति छाउनीमै रहेको पुष्टि भयो। उक्त मूर्तिको अभिलेख नैनसिंह वाङ्देलको कितावमा समेत थियो। त्यसैले मूर्ति दाबी गर्न उनीहरुलाई सजिलो भयो।

'मूर्ति फेला परेपछि पहिला कमल पोखरी स्थित प्रहरी चौकीमा र त्यसपछि हनुमानढोका स्थित चौकीमा राखियो। पछि राष्ट्रिय संग्रहालयमा मूर्ति लगिएको रहेछ,' कायस्थले भने।

मूर्तिको इतिहास थाहा पाएपछि अमात्यले नेपाल प्रहरी प्रमुख शैलेश थापा क्षेत्रीसँग महा अभियानका सदस्यहरुलाई भेटाए। मूर्ति फर्काउने बारेमा सहजीकरणका उनले भेट गराएका थिए। चोरी भएको लोकेश्वर पद्मपाणी करुणामयको मूर्ति भेटिएपछि छाउनीस्थित संग्रहालयमा प्रदर्शनीमा रहेको थियो।

प्रहरीले मूर्ति फर्काउन सहजीकरण गर्ने भएपछि राष्ट्रिय संग्रहालयका प्रमुख जयराम श्रेष्ठले पनि सबै प्रक्रिया मिलाएर मूर्ति ६ दिनमा नै नक्साल फर्काउने वातावरण मिलाइदिए। फलस्वरुप आज ४० वर्षपछि  चोरी भएर हराएको लोकेश्वर पद्मपाणी करुणामयको मूर्ति महाविहार फर्काइएको छ। नेपाली सेनाले उपलब्ध गराएको बग्गीमा सवार गरी मूर्तिलाई महाविहारमा पुनर्स्थापना गरिएको हो।

'सबैको सहयोगमा मूर्ति प्रतिस्थापना गर्न सफल भयौं। प्रहरी, संग्रहालय र सेनाले निकै सहयोग गर्नुभयो। धेरै समय लाग्थ्यो होला ६ दिनमै काम सकियो,' याद्धवलालले भने।

मूर्ति फर्काउन संग्रहालय र प्रहरीमा पहल गरेका गायक अमात्य सम्पदाहरु यसरी फर्काउने काममा सहभागी हुन पाउँदा निकै खुशी लागेको बताउँछन्।

'हराइरहेको मूर्ति प्रहरी चौकी हुँदै संग्रहालयमा रहेछ। यसबारेमा कसैलाई थाहा भएन। याद्धवलाल भाइहरुको समूहले खोजबिन गरेपछि संग्रहालयमा रहेको मूर्ति फर्काउन सहज भयो। प्रहरीले निकै सहयोग गर्‍यो,' अमात्यले भने।

मूर्ति नक्साल फर्किएपछि स्थानीय पनि खुशी देखिएका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell