PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

वाग्मती प्रदेशमा राष्ट्रियसभा निर्वाचन : उम्मेद्वारहरुलाई चुनाव चिह्न प्रदान



निशा गुरुङ

वाग्मती प्रदेशमा राष्ट्रियसभा निर्वाचन : उम्मेद्वारहरुलाई चुनाव चिह्न प्रदान

हेटौँडा : वाग्मती प्रदेशका राष्ट्रियसभा सदस्य पदका उम्मेद्वारहरुलाई चुनाव चिह्न प्रदान गरिएको छ। राष्ट्रियसभामा वाग्मती प्रदेशबाट एक जना महिला र अन्य एक जना गरी २ जनाको पद रिक्त हुने हुँदा उक्त पदमा आगामी माघ १२ गते हुने निर्वाचनको कार्यक्रम अनुसार आइतवार चुनाव चिह्न प्रदान गरिएको हो।

नेकपा (एमाले)का उम्मेद्वार निर कुमारी कुँवर र गोपाल शाक्यलाई सूर्य, सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कृष्ण पौडेल र नेकपा (एकीकृत समाजवादी)की गोमा तिमिल्सिनालाई क्रमशः रुख र कलम चिह्न प्रदान गरिएको छ। त्यस्तै, नेपाल मजदुर किसान पार्टीका उम्मेद्वार कृष्णबहादुर तामाङ र गीता काफ्लेलाई मादल चुनाव चिह्न प्रदान गरिएको निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए।

आगामी माघ १२ गते बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान कार्यक्रम सञ्चालन हुनेछ। मतदानका लागि हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको हेटौँडा औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहलाई मतदान स्थल तोकिएको छ।

राष्ट्रियसभा निर्वाचनमा सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। अंकगणितीय हिसाबले बलियो रहेको गठबन्धनविरुद्ध एमाले एक्लै चुनावी मैदानमा उत्रिएको छ। नेमकिपाको उपस्थिति बलियो छैन।

वाग्मती प्रदेशमा राष्ट्रियसभा निर्वाचनमा १०९ प्रदेशसभा सदस्य तथा ११९ स्थानीय तहका प्रमुख उपप्रमुखले मतदान गर्नेछन्। प्रदेशमा १०९ प्रदेशसभा सदस्य र ११९ स्थानीय तहका २३७ जना प्रमुख तथा उपप्रमुख गरी कुल ३४६ जना मतदाता रहेका छन्।

राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १८ हुन्छ। जसअनुसार निर्वाचनमा १०९ प्रदेशसभा सदस्यको पाँच हजार २३२ मतभार छ भने स्थानीय तहका २३७ जना प्रमुख तथा उपप्रमुखको चार हजार २६६ मतभार छ। प्रदेशमा कुल ३४६ जना मतदाताको ९ हजार ४९८ मतभार गणना हुनेछ।

वाग्मती प्रदेश अन्तर्गत राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धन बलियो देखिएको छ। गठबन्धनमा आवद्ध दलका स्थानीय तहमा ११८ जना मतदाता छन्। प्रदेशसभामा ५९ जना छन्। स्थानीय तहमा नेपाली कांग्रेसको ६७, माओवादी केन्द्रको ३४ र एकीकृत समाजवादीको १७ मतदाता छन्। त्यस्तै, प्रदेशसभामा माओवादी केन्द्रको २३, कांग्रेसको २२, एकीकृत समाजवादीको १३ र जसपाको एक जना मतदाता छन्।

स्थानीय तहमा कांग्रेसको ६७ जनप्रतिनिधिको एक हजार २०६, माओवादीको ३४ जनप्रतिनिधिको ६१२ र एकीकृत समाजवादीको १७ जनाको ३०६ गरी कुल दुई हजार १२४ मतभार रहेको छ।

प्रदेशसभामा कांग्रेसको एक हजार ५६, माओवादी केन्द्रको एक हजार १०४, एकीकृत समाजवादीको ६२४ र जसपाको ४८ गरी कुल दुई हजार ८३२ मतभार छ। प्रदेशमा गठबन्धनको स्थानीय तह र प्रदेशसभा सदस्य गरी कुल १७७ जना मतदाताबाट चार हजार ९५६ मतभार छ।

एमालेको प्रदेशसभामा ४३ र स्थानीय तहमा ११५ गरी १५८ मतदाता छन्। जसमा प्रदेशसभाबाट दुई हजार ६४ र स्थानीय तहबाट दुई हजार ७० मतभार गणना हुनेछ।

यसरी हेर्दा एमालेसँग स्थानीय तह र प्रदेशसभाको कुल मतभार चार हजार १३४ छ। उता गठबन्धनसँग चार हजार ९५६ मतभार रहेकाले एमालेसँग जितका लागि आवश्यक मत पुग्दैन। एमालेलाई चुनावी मैदानमा सहभागी नभएका वाग्मती प्रदेशमका साना दलले मत दिएको खण्डमा पनि जितका लागि आवश्यक मत पुग्ने सम्भावना छैन।

प्रदेशका स्थानीय तहमध्ये चार वटा स्थानीय तहमा साना दलको नेतृत्व छ। जसमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को दुई र अर्को दुई तहमा नेमकिपाको नेतृत्व छ। नेमकिपा भने चुनावी मैदानमा होमिएको हुँदा एमालेलाई सघाउने सम्भावना छैन। राप्रपाले मत दिएको खण्डमा पनि एमालेलाई जितको लागि पर्याप्त हुने छैन।

यस्तै‚ प्रदेशसभातर्फ साना दलको सात मतदाता छन्। नेमकिपाको २, राप्रपाको २ र विवेकशील साझा पार्टीको तीन मतदाता छन्। प्रदेशमा साना दलसँग प्रदेशसभाका ७ जना र स्थानीय तहका ४ जना गरी कुल ११ जना मतदाता छन्। राप्रपा र विवेकशीलको स्थानीय तह र प्रदेशभामा कुल २७६ मतभार छ। यी दुई पार्टीले एमालेलाई समर्थन गरेको खण्डमा पनि जित्ने सम्भावना छैन। त्यसैले वाग्मती प्रदेशमा सत्तारुढ गठबन्धन दलको जित पक्कापक्की जस्तै देखिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell