PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

एक सातामा ३०० प्रतिशतले बढ्यो कोरोना संक्रमण, जोखिममा उपत्यका



पहिलोपोस्ट

एक सातामा ३०० प्रतिशतले बढ्यो कोरोना संक्रमण, जोखिममा उपत्यका

काठमाडौँ : पछिल्लो साता देशभर कोभिड १९ संक्रमण दर तिब्र गतिमा वृद्धि हुँदै गएको छ। पुस २५ गतेको तथ्यांक अनुसार परीक्षण गरिएका प्रत्येक १० जनामध्ये एक जनामा संक्रमण पुष्टि भएको छ। पछिल्लो एक सातामा मात्र संक्रमण ३०० प्रतिशतले बढेको छ।

अंग्रेजी नयाँ वर्षको दिनयता दैनिक संक्रमण दर बढ्दै गएको हो।  पुस १७ गते (जनवरी १) का दिन भएको परीक्षण मध्ये १.८२ प्रतिशत अर्थात सरदर ५५ जनाको परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको थियो। त्यस दिन कुल २० हजार ९५९ जनाको परीक्षण गर्दा जम्मा ३८२ जनामा संक्रमण देखिएको थियो। परीक्षण गरिएका मध्ये पाँच हजार ७ आरटी-पीसीआर (संक्रमित ३४२) र १५ हजार ९५९ एन्टिजेन (संक्रमित ४०) थिए।

यो संक्रमण दर पुस २५ गते आइतवार सम्म आइपुग्दा औसत १० जनाको परीक्षण गर्दा १ जनामा संक्रमण देखिन थालेको छ। आइतवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार ८ हजार ८४८ जनाको नमुना परीक्षण गर्दा एक हजार १६७ जनामा संक्रमण पुष्टि भएको हो।

एक साता साता अगाडि पुस १९ मा १२ हजार ४९८ जनाको नमुना परीक्षण गर्दा २.६१ प्रतिशतमा संक्रमण पुष्टि भएको थियो। सो दिन ९ हजार ७ सय नमुनाको आरटी-पीसीआर परीक्षण गरिएकामा ३ प्रतिशतमा मात्र संक्रमण थियो। जुन पुस २५ गते सम्म आइपुग्दा ९.५० प्रतिशत पुगेको छ। 

यसै गरी संक्रमण तिब्र हुँदै गए देशको कुल जनसंख्याको ४० प्रतिशत जनसंख्या सम्म कोभिड-१९ बाट संक्रमित हुने स्वास्थ्या तथा जनसंख्या मन्त्रालयले प्रक्षेपण गरेको छ।

संक्रमण हरेक २-३ दिनमा दोब्बर हुँदै गएको भन्दै मन्त्रालयका सचिव डाक्टर रोशन पोखरेलले कोभिड-१९को तेस्रो लहर आउँदा सम्म नेपालमा १ करोड २१ लाख ५१ हजार २२२ जना संक्रमित हुने अनुमान गरिएको जानकारी दिए। यो कुल जनसंख्याको ४० प्रतिशत हो।

पुस २२ गते संक्रमण दर ४.५ प्रतिशत रहेकोमा २३ गते ६.५, २४ गते ७.१ हुँदै २५ गते ९.१ पुगेको छ।

जोखिममा उपत्यका

हाल नेपालमा रहेका सक्रिय संक्रमित मध्ये ५१ प्रतिशत बढी राजधानी उपत्यकामा मात्र रहेका छन्। हाल नेपालमा ६ हजार ७५५ जना सक्रिय संक्रमित रहेका छन्। जसमध्ये तीन हजार ४८१ जना सक्रिय संक्रमित उपत्यकामा मात्र छन्। जुन ५१.५३ प्रतिशत हो।

जसमध्ये दुई हजार ९० जना काठमाडौं, ८०३ जना ललितपुर र ५८८ भक्तपुरमा रहेका छन्। हालसम्म नेपालमा ४९ लाख २८ हजार ६२४ आरटी-पीसीआर र ८ लाख ५८ हजार ३७९ नमुनाको एन्टिजेन परिक्षण भएकोमा ९ लाख ३० हजार ४ जना संक्रमित पहिचान भएका छन्।

जसमध्ये १.४ प्रतिशतको मृत्यु भएको छ। हालसम्म नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ६०४ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell