PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

प्रधानमन्त्री कपको पहिलो दिन : कर्णालीविरुद्ध किन १० खेलाडीमै मैदानमा उत्रियो आर्मी?



पहिलोपोस्ट

प्रधानमन्त्री कपको पहिलो दिन : कर्णालीविरुद्ध किन १० खेलाडीमै मैदानमा उत्रियो आर्मी?
तस्बिर : क्यान

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आजबाट सुरु भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा प्रतियोगिता अन्तर्गतका खेल तय छन्। आज कीर्तिपुरमा सम्पन्न पहिलो खेलमा आर्मीले जित्दा मुलपानीमा पुलिसले जित निकाल्यो।

कर्णालीविरुद्ध कीर्तिपुरमा उत्रिएको आर्मीसँग मात्र १० खेलाडी थिए। आर्मीको सुरुवाती ११ मा रहेर पनि मैदानमा अनुपस्थित खेलाडी हुन् सोनु तामाङ। तामाङ 'एबसेन्ट हर्ट' हुँदा ब्याटिङ र फिल्डिङ दुवैमा आर्मीका १० खेलाडी मात्र रहे। अर्कोतर्फ भने कर्णालीबाट ११ जना नै खेलाडी मैदानमा थिए।

आर्मीका कप्तान विनोद भण्डारीले प्लेइङ सेटमा नाम पठाइसकेपछि सोनु तामाङ बिरामी भएकोले १० खेलाडीमै खेल्नुपरेको बताए।

'हामी सुरुमा ११ जना थियौं। सोनुलाई खेलाएको थियो। पछि उ बिरामी भयो भन्ने कुरा आयो। म्याच अफिसियलसँग कुरा गरिसकेपछि १० जनामात्र खेल्न पाउँछ भन्ने कुरा आयो। ज्वरो आयो भनेर उसलाई लिएर गएको रहेछ,' कप्तान भण्डारीले भने, 'फिल्डिङमा अर्को खेलाडी पनि उतार्न पाउनुपर्ने हो। मैले फिल्डिङका लागि कुरा गर्दा पाउँदैन भन्नुभयो।'

विभागीय टोलीमा नियमित अभ्यास गरिरहेका खेलाडी हुँदा एक जना कम भएर पनि खेल राम्रो भएको उनले बताए।

'हामीलाई बेनिफिट भनेको के हो भने रेगुलर सँगै खेलिरहेको खेलाडी हुन्छौं। त्यसले गर्दा एकअर्कासँग घुलमिल भएको हुन्छ। थाहा हुन्छ,' भण्डारीले भने, 'प्रदेशको चाहिँ ट्रेनिङ अलि कम भइरहेको हुन्छ। त्यसले हामीलाई प्लस प्वाइन्ट हो।'

१० खेलाडीमा खेल्दा फिल्डिङमा कठिन भएको उनले बताए। यद्यपि, प्रतिस्पर्धी टिम तुलनात्मक रुपमा केही सहज भएको उनले बताए।

'खेलाडी कम हुँदा गाह्रो त भइहाल्छ। एउटा स्पट फिल्डिङ खाली हुन्छ। अलिकति सजिलै भयो भनौं कर्णाली हुँदा। अरु टिम भएको भए अलिकति गाह्रो हुने थियो' उनले भने।

आर्मीको जित

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा आर्मीले कर्णाली प्रदेशमाथि ६३ रनको जित निकालेको छ। टस हारेर ब्याटिङमा उत्रिएको आर्मीले १९.१ ओभरमा ११६ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको कर्णालीले ५३ रनमा समेटियो।

आर्मीका लागि कप्तान विनोद भण्डारीले सर्वाधिक २९ रन बनाउँदा हरि चौहानले २० तथा रोहित कुमार पौडेल र कुशल मल्लले समान १०/१० रन बनाए।

बलिङतर्फ कर्णालीका प्रकाश जैसीले सर्वाधिक ३ विकेट लिँदा अनुज चुनराले २ विकेट तथा दिनेश अधिकारी, रवीन्द्र शाही र राज शाहले समान १/१ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको कर्णालीको ब्याटिङ जमेन। कर्णालीका लागि अर्जुन घर्तीले सर्वाधिक १६ रन बनाउँदा कप्तान रवीन्द्र शाहीले १५ रन बनाए। बलिङतर्फ आर्मीका जितेन्द्र मुखियाले सर्वाधिक ४ विकेट लिँदा सुसन भारी र शाहब आलमले समान २/२ विकेट तथा सोमपाल कामी र विक्रम सोबले समान १/१ विकेट लिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell