PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

राजनीतिक गतिविधि कोभिड-१९ संक्रमणको ‘सुपर स्प्रेडर’!



प्रकाश भण्डारी

राजनीतिक गतिविधि कोभिड-१९ संक्रमणको ‘सुपर स्प्रेडर’!

काठमाडौँ: कोरोना संक्रमणको तेस्रो लहरको 'साइरन' बजिसकेको छ। विश्वभर फैलिँदो भाइरसको नयाँ भेरियन्ट 'ओमोक्रन' बाट नेपाल पनि प्रभावित भएको छ। जसकारण फेरि संक्रमितको संख्या दैनिक बढ्दै गएको छ। यसबीच, कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) ले कोरोना नियन्त्रणका लागि विभिन्न प्रतिबन्धसहितका उपाय सिफारिस गरिसकेको छ। सिफारिस अनुसार गृह मन्त्रालयले सर्कूलर जारी गरिसकेको छ।

एकातिर सरकार संक्रमण नियन्त्रणमा लागिरहेको छ अर्कोतिर संक्रमण फैलिनबाट रोक्न राजनीतिक दलहरूले चासो देखाएका छैनन्। पछिल्लो समय देशका प्रमुख राजनीतिक दलहरू महाधिवेशनमा होमिए। ओमोक्रनको गति विश्वमा बढ्दै जाँदा भएको राजनीतिक गतिविधि कतै संक्रमणको 'सुपर स्प्रेडर' बन्ने त होइन भन्ने प्रश्न उठेको थियो। अहिले देशमा फेरि संक्रमणको दर बढ्दै जाँदा पनि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) र सत्तारुढ दल नेपाली कांग्रेस तथा नेकपा (माओवादी केन्द्र) का गतिविधि संक्रमण रोक्नतर्फ केन्द्रित नै छैनन्।

भीडभाड हुनेगरि राजनीतिक दलका कार्यक्रम अहिले पनि जारी छन्।

माओवादी केन्द्रको ८औँ महाधिवेशन सम्पन्न भएपछि पुस १९ गतेको केन्द्रीय कमटीको बैठकमा सहभागी भएका शीर्ष नेताहरुमध्ये अधिकांशलाई संक्रमण देखिएको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित, नेताहरू नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत तथा केन्द्रीय कार्यालयका अधिकांश कर्मचारी संक्रमित छन्।

माओवादीले सतर्कता अपनाएन

केन्द्रीय कमिटीको बैठकमा नवनिर्वाचित २३६ जना केन्द्रीय सदस्य र अध्यक्ष प्रचण्डले शपथ लिएका थिए। बैठकपछि धेरै माओवादी नेताहरूलाई संक्रमण देखिएको थियो। त्यसपछि पुस २३ गते शुक्रबार प्रचण्डले कोरोना परीक्षण गराएका थिए। शनिबार प्रचण्डलाई संक्रमण पुष्टि भयो।

शपथमा सहभागीलाई संक्रमण देखिन थालेपछि माओवादी केन्द्रले अनिवार्य परीक्षण गराउन निर्देशन जारी गरेको छ। केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले अनिवार्य परीक्षणका लागि महाधिवेशनमा सहभागी भएका झन्डै १७ सय प्रतिनिधिलाई निर्देशन दिइएको बताए।

'शपथमा सहभागी भएकामध्ये ७/८ जनालाई नै संक्रमण देखिएको छ। त्यसैले महाधिवेशनमा सहभागी प्रतिनिधि सबैलाई परीक्षण गर्न र स्वास्थ्य मापदण्ड पालना गर्न निर्देशन जारी भएको छ,'उनले भने।

शुक्रबार परीक्षण गराएका प्रचण्ड 'आइसोलेट' हुनुको सट्टा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागी भए। सत्तारुढ दलका शीर्ष नेता सहभागी उच्चस्तरीय बैठकमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पनि सहभागिता थियो। त्यसपछि देउवाले शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए। बैठकमा सहभागी भएका सबै नेता विभिन्न कार्यक्रमहरूमा सहभागी भएका थिए। प्रचण्डलाई संक्रमण देखिएपछि सबै 'कन्ट्याक्ट ट्रेसिङ' मा परे।

राजनीतिक गतिविधि चुनौती

कोभिड-१९ संक्रमण जारी नै रहेका बेला एमाले, कांग्रेस र माओवादी केन्द्रले महाधिवेशन गरेका थिए। एमालेको मंसिर १०-१४ मा चितवनमा महाधिवेशन भएको थियो।

एमाले लगत्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौँमा नै महाधिवेशन गर्‍यो।  

काठमाडौँमा मंसिर २५ गतेदेखि सुरु भएको कांग्रेसको महाधिवेशन दुई सातासम्म चल्यो। एमाले-कांग्रेसको महाधिवेशनमा हजारौँको उपस्थिति रहेको थियो। कोभिड संक्रमण नियन्त्रणका लागि कुनै ठोस् मापदण्ड पालना गरिएको थिएन।

त्यसपछि माओवादी केन्द्रको महाधिवेशन काठमाडौँमा पुस ११ देखि एक हप्तासम्म चलेर सम्पन्न भयो।

माओवादीको महाधिवेशनमा एमाले र कांग्रेसको तुलनामा कमै भीडभाड थियो। तर पनि स्वास्थ्य मापदण्ड पालना गराउन माओवादीले कुनै पहल गरेन। फलस्वरूप माओवादीका नेताहरूमा भटाभट संक्रमण देखियो।

पुस १९ गते बसेको केन्द्रीय कमिटीको बैठकमा सहभागीलाई संक्रमण देखिएपछि माओवादी केन्द्रले पदाधिकारीको टुंगो लगाउन भन्दै पुस २५ गतेका लागि बोलाएको केन्द्रीय कमिटीको बैठक स्थगित भएको थियो।

प्रदेश र जिल्ला अधिवेशनबिनै महाधिवेशन सम्पन्न गरेको एमालेले अहिले जिल्ला अधिवेशन गरिरहेको छ। सरकारले २५ जनाभन्दा बढी जम्मा हुन नदिने व्यवस्था लागू गर्न लागेको भए पनि एमालेको जिल्ला अधिवेशन रोकेको छैन। सिसिएमसीले प्रतिबन्ध सिफारिस गरेको दिन नै काठमाडौँ र ललितपुरमा ठूलै जमघट गरेर एमालेले जिल्ला नेतृत्व चयन गरेको थियो। काठमाडौँबाट निर्वाचित पदाधिकारी राति नै पार्टी अध्यक्ष ओली निवास बालकोट पुगेका थिए।

प्रधानमन्त्री देउवा 'कन्ट्याक्ट ट्रेसिङ' मा परेपछि ओली पनि स्वतः ट्रेसिङमा परे। तर, ओलीले राजनीतिक भेटघाट जारी राखेका छन्। झापामा बग्गी चढेका ओली अहिलेसम्म विभिन्न राजनीतिक भेटघाटमा सरिक हुँदैछन्।

६४ जिल्लामा अधिवेशन सुरु गरेको एमालेमा अझै धेरै जिल्लामा प्रक्रिया सकिएको छैन। जारी अधिवेशन रोक्ने पक्षमा एमाले छैन।

सरकारले जारी गरेको मापदण्ड पालना गरेरै अधिवेशन भइरहेको दाबी गर्छन् एमाले पार्टी कार्यालयका सचिव डा.भीष्म अधिकारी।

'धेरै मान्छे जम्मा हुने महाधिवेशन सकिसकेको छ। अधिवेशनमा खासै धेरै मानिस जम्मा हुँदैनन्। स्वास्थ्य मापदण्ड पालना गरेर मात्रै अधिवेशन गर्नुस् भनेर भनिरहेका छौँ,' उनले भने।

संक्रमणसँगै हेलचेक्र्याइँ बढ्दै

राजनीतिक दलहरूले अझै धमाधम पार्टीका गतिविधि गरिरहँदा देशभरको संक्रमण भने दिनप्रतिदिन बढ्दो छ। पुस २५ गतेसम्मको तथ्याङ्क अनुसार परीक्षण गरिएका १० जनामध्ये १ जनामा संक्रमण पुष्टि भइरहेको छ। पछिल्लो एक सातामा संक्रमण ३०० प्रतिशतले बढेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। पुस १७ गतेयता नेपालमा संक्रमण बढ्दै गएको देखिएको हो। त्योदिन ५५ जनाको परीक्षण गर्दा १ जनामा संक्रमण देखिएको थियो।

पुस १७ गतेदेखि नै संक्रमणमा वृद्धि भइरहेको भए पनि त्यसयता राजनीतिक दलहरूका सभा सम्मेलनमा कुनै कमी आएका छैनन्। जसको निरन्तरता अहिलेसम्म पनि छ।

राष्ट्रियसभाको निर्वाचन अर्को जोखिम

राजनीतिक कार्यक्रम चलिरहँदा सरकारले नागरिकका लागि विभिन्न प्रतिबन्ध लागू गरिरहेको छ। सरकारले प्रतिबन्ध थपिरहेका बेला राष्ट्रियसभाको निर्वाचन संक्रमण फैलाउने हिसाबले अर्को चुनौती छ।  

माघ १२ गते चुनाव हुँदैछ।

प्रदेश अनुसार हुने चुनावमा ५३२ प्रदेशसभा सदस्य र  १४९३ स्थानीय तहका प्रमुख/उपप्रमुख सहभागी हुँदैछन्।

२५ जनाभन्दा बढी नागरिक भेला हुन प्रतिबन्ध लागे पनि चुनाव तोकिएकै समयमा हुने बताउँछन् निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेल।

'मतदान मात्रै बाँकी छ। पहिला पनि स्वास्थ्य मापदण्ड पालना गरेर निर्वाचन गरेको हामीसँग अनुभव छ। स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गरेर निर्वाचन हुन्छ। मतदाहारुको संख्या पनि धेरै छैन। मतदानस्थल पनि प्रदेशमा दुई वटा भएकाले बिहान १० बजेदेखि ३ बजेसम्ममात्रै मतदान हुन्छ। यही अवस्थामा निर्वाचन सर्दैन,' पौडेलले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell