
काठमाडौं : काठमाडौं उपत्यकामा बढ्दै गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि छलफल गर्न र केही नियमहरु लागु गर्न तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ। आज दिउँसोसम्ममा बैठक बसेर केही नियमहरु लागु गर्न लागेको काठमाडौं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए।
' आज दिउँसोसम्म बैठक बसेर साँझसम्म केही निर्णय आउने छ,' सहायक सिडिओ अधिकारीले भने।
सोमबार गृहमन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पत्रचार गर्दै सार्वजनिक स्थानमा २५ जना भन्दाबढी भेला हुन नदिने नियम कार्यान्वयन गर्न निर्देशन दिएको थियो। त्यस्तै कुनै पनि सभा, भेला, जुलसु लगायतका भिडभाड हुने कार्य रोक्ने निर्देशन दिएको थियो। त्यसैलाई नै मध्यनजर गर्दै आज सिडिओहरुको बैठक बस्दैछ।
'संक्रमणको अवस्था हेर्दा आज भोलिबाट नै नियम कार्यान्वयन गर्नु पर्ने अवस्था देखिएको छ। चाँडै नियम कार्यान्वयन गर्ने तयारीमा छौं,' सहायक सिडिओ अधिकारीले भने।
सोमबारको मन्त्रीस्तरीय बैठकले माघ ७ गतेदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गरेको छ। सिसिएमसीको आइतबारको बैठकले कार्ड अनिवार्य गर्न सिफारिस गरेको थियो।
गृहले सो निर्णय कार्यान्वयन गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिइसकेको छ। होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाइयात्रा सबैमा खोप लगाएको प्रमाण अनिवार्य गरिएको हो।
त्यस्तै सीमा नाकामा एन्टिजेन परीक्षणलाई प्रभावकारी बनाउन र संक्रमित देखिएकालाई आइसोलेसनमा राख्न सम्बन्धित जिल्ला कोभिड १९ संक्रमण व्यवस्थापन केन्द्रलाई समन्वय गर्न निर्देशन दिइएको छ। सोमबार मात्र देशभर १४ सय भन्दाबढी कोरोना संक्रमित थपिएका छन्।
गृहमन्त्रालयले संक्रमणको अवस्था हेरेर जिल्लामा 'स्मार्ट लकडाउन' गर्ने अधिकार पनि सिडिओलाई नै दिएको छ। अहिलेको अवस्थाको मूल्यांकन गरेर सरोकारवाला निकायहरुसँग छलफलपछिमात्रै 'स्मार्ट लकडाउन' तत्कालै गर्ने वा नगर्ने भन्ने निर्णय हुने सहायक सिडिओ अधिकारीले बताए।
काठमाडौंमा हाल ४ हजार १८८ जना सक्रिय कोरोना संक्रमित छन्। पछिल्लो तथ्यांक अनुसार काठमाडौंमा २ हजार ६५५ जना, ललितपुरमा ९०० जना र भक्तपुरमा ६३३ जना संक्रमित रहेका छन्।