
काठमाडौं: प्रधानमन्त्री कप टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज कीर्तिपुरमा सम्पन्न पहिलो खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई हराएको छ। टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा पुलिसले आर्मीलाई ४ विकेटले हराएको हो।
टस हारेर ब्याटिङमा उत्रिएको आर्मीले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १३७ रन बनाएको थियो। आर्मीका लागि कप्तान बिनोद भण्डारीले सर्वाधिक ४४ रन बनाउँदा सोमपाल कामीले ४२ रन बनाए। त्यस्तै हरि चौहान, कुशल मल्ल र शुसन भारीले समान १२ रन बनाए।
बलिङतर्फ पुलिसका करण केसीले सर्वाधिक ४ विकेट लिँदा गुलसन झा र योगेन्द्सिंह कार्कीले समान २/२ विकेट तथा आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले १/१ विकेट विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको पुलिसले १८ औं ओभरको समाप्तिमा लक्ष्य पुरा गर्यो। जसका लागि कुशल भुर्तेलले सर्वाधिक ३५ रन बनाउँदा राशिद खानले २८ र दीलिप नाथले अविजित २५ रन बनाए। त्यस्तै अनिल साहले २२ रन बनाए। बलिङतर्फ शाहब आलमले सर्वाधिक ३ विकेट, जितेन्द्र मुखियाले २ विकेट र कुशल मल्लले १ विकेट लिए पनि पुलिसलाई रोक्न सकेनन्।
जारी प्रतियोगितामा पुलिसको यो लगातार दोस्रो जित हो भने आर्मीको पहिलो हार हो। यसअघिको खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई हराएको थियो भने आर्मीले कर्णाली प्रदेशलाई हराएको थियो।