
काठमाडौं: प्रधानमन्त्री कप टी २० राष्ट्रिय प्रतियोगिता अन्तर्गत आज मुलपानीमा सम्पन्न खेलमा कर्णाली प्रदेशले प्रदेश १ लाई हराएको छ। मुलपानी क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा कर्णाली प्रदेशले प्रदेश १ लाई ३१ रनले हराएको हो।
टस हारेर ब्याटिङमा उत्रिएको कर्णाली प्रदेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १२० रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको प्रदेश १ ले ८९ रन मात्र बनाउन सक्यो।
सुरुवाती ब्याटिङ गरेको कर्णालीका लागि कप्तान रवीन्द्र शाहीले सर्वाधिक ३६ रन बनाउँदा प्रकाश जैशीले २५ रन बनाए। त्यस्तै राज शाहले १५ तथा विपिन रावलले ११ रनको योगदान दिए।
बलिङतर्फ प्रदेश १ का मुकुन्द यादवले सर्वाधिक ३ विकेट लिँदा फिर्दोस अन्सारीले २ तथा कमल खत्री र सिद्धान्त लोहनीले समान १/१ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको प्रदेश १ ब्याटिङ सुरुबाटै धराशाही रहेपनि अन्तिम समयमा ब्याट्सम्यानहरुले लयमा फर्कने प्रयास गरेका थिए। जसमा फिर्दोस अन्सारीले सर्वाधिक २३ रन बनाउँदा श्रवण यादव र दीपेश कणेलले समान १५ रन तथा कप्तान सिद्धान्त लोहनीले १४ रन बनाए।
प्रतियोगिताको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबसँग पराजित भएको कर्णालीले दोस्रो खेलबाट पहिलो जित निकालेको हो भने प्रदेश १ पहिलो खेलमै पराजित भएको हो।