PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

कम्युनिष्ट पार्टीबीच एकता तत्काल सम्भव नरहेको वैद्यको ठहर : प्रचण्डसँग एकता हुनै सक्दैन, विप्लव जी पनि त्यही बाटोमा सोझिनुभयो



पहिलोपोस्ट

कम्युनिष्ट पार्टीबीच एकता तत्काल सम्भव नरहेको वैद्यको ठहर : प्रचण्डसँग एकता हुनै सक्दैन, विप्लव जी पनि त्यही बाटोमा सोझिनुभयो

काठमाडौं: नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य 'किरण'ले संसदीय व्यवस्थाबाट जनताको समस्या समाधान हुन नसक्ने उल्लेख गर्दै जनवादी राज्यसत्ता स्थापनाको दिशामा अगाडि बढ्नुपर्ने बताएका छन्। 

पार्टी निकट क्रान्तिकारी पत्रकार महासंघले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वैद्यले यस्तो भनाई राखेका हुन्। 'हामीले देख्यौ नि समस्या समाधान हुन सकेका छैनन्। यसले पनि के पुष्टि हुन्छ भने यो व्यवस्थाले जनताको समस्या समाधान भएन। जनताको समस्या समाधान स्थापनाका लागि जनवादी राज्यसत्ता स्थापना हुनुपर्छ,' उनले भने।  

उनले अहिलेका राजनीतिक दलहरुबाट देशले निकास नपाउने उनले दाबी गरे। 'अहिले हामीले विभिन्न पार्टीका महाधिवेशन देख्यौँ। उनीहरुले देशको परिस्थिति के हो भन्ने देखाइदिएको छ नि,' उनले भने, 'एउटा (राप्रपा)को महाधिवेशन भयो हिन्दु राष्ट्र र राजतन्त्र रे। कांग्रेसको भयो, विचारको छलफल नै भएन। ओलीजीले तामझाम गरेर महाधिवेशन गरे, विचार सून्य देखियो। प्रचण्ड जीहरुले नयाँ विचार र नयाँ पार्टी भनेर कुरा गर्नुभयो। तर विचार त पुरानै देखियो।'
 
उनले अहिलेका राजनीतिक दलहरुले नेपालको स्वाधिनता रक्षा गर्न नसक्ने। 'यो सब चित्र हेरियो नि। यसरी यी पार्टीबाट देशको स्वाधिनताको रक्षा हुन सक्दैन। जनजीविकाको समस्याको समाधान हुन सक्दैन,' उनले भने, 'क्रान्तिकारीहरुको अवस्था पनि कमजोर छ। नयाँ राज्यसत्ताका लागि नयाँ जनवादी क्रान्ति गर्दै वैज्ञानिक समाजवादमा जाने र क्रान्तिकारीलाई गोलबन्ध गर्दै जाने हाम्रो रणनीति हो।' 

उनले दार्चुलामा सुरक्षाको चुनौती बढेर आएको दाबी गरे। 'लिपुलेक, लिम्पियाधुरा, कालापानीको सुरक्षा चुनौती बढेर गएको छ। मोदीले सडक बनिरहेको भनिरहेका छन्। राष्ट्रिय स्वाधिनताका लागि क्रान्तिकारी एक हुनुपर्छ,' उनले भने। 

पार्टी एकता र ध्रुविकरणका लागि लामो समयदेखि प्रयास भइरहेको भए पनि सिंगो पार्टीबीच पार्टी एकता सम्भव नदेखिएको बताए। 

'विचारधाराको कुरा फरक पर्‍यो। मसालकै कुरा गरौँ न। उहाँहरु जनवादको त कुरा गर्नुहुन्छ। तर, सरकारमा हुनुहुन्छ। गठबन्धनमा हुनुहुन्छ,' उनले भने। 

विप्लव पनि संसदीय बाटोतिर प्रचण्डकै लाइनमा सोझिएको आरोप लगाए। 

'विप्लवजीसँग कुरा भयो। नजानुपर्ने जानुभयो। आउनुस् विचारका लागि बहस गरौँ भन्यौँ। झट्टै क्रान्ति गर्ने भनेर जानुभयो। तर उहाँहरु तीन बुँदेमा आउनुभयो। अहिले भन्दै हुनुहुन्छ समाजवाद जनमत संग्रहबाट आउँछ। क्रान्ति भनेर जानुभएको शान्तिको कुरा गर्दै हुनुहुन्छ। प्रचण्ड जीहरु पनि संसदबाट समाजवाद भन्दै हुनुहुन्छ।  प्रचण्ड र विप्लवको लाइन एउटै हो। उहाँ (विप्लव)हरु त्यतै त्यतैतिर सोझिनुभयो। जुन पार्टीसँग एकताको सम्भावनाहरु थियो त्यो देखिएन।'

उनले माओवादी केन्द्रसँग पार्टी एकता सम्भव नभएको बताए। 

'उहाँहरु त माओवाद पनि छाडेर डबल नेकपा हुनु भएको हो। अदालतले जबरजस्ती फेरी माओवाद भिराइदिएको हो,' महासचिव वैद्यले भने, 'उहाँहरुले पूर्वमाओवादीको पार्टी एकता हुन सक्छ भनिरहनु भएको छ। यो भित्र अरु पनि पर्छन होला। तर हाम्रो पार्टीसँग हुन सक्दैन।'

उनले एमसीसी खारेज हुनुपर्ने भन्दै त्यसका लागि एमसीसी बिरोधी शक्तिसँग मिलेर अगाडि बढ्ने बताए। 

वैद्यले जनताका लागि संघीयता नआएको बताए। 'जनताका समस्या उस्तै छन्। झन अधिकार खोसिएका छन्। समृद्ध नेपाल सुखी नेपाली भनेपनि वास्तविक समस्या समाधान भएका छैनन्। जनताको समस्या समाधानका लागि सच्चा क्रान्तिकारी एक हुनुपर्छ,' उनले भने, '१० वर्षे जनयुद्ध भयो। जनआन्दोलन पनि भयो। तर,यसको प्रतिफल जनताले पाएनन्। फेरि पनि आन्दोलन गर्नुपर्ने भयो।' 

'राजसंस्थाबारे हामी राजतन्त्रलाई ब्युझाउँने पक्षमा होइनौँ। हामी गणतन्त्र हुँदै जनवादी गणतन्त्रमा जाने हो। हामी यो भन्दा उच्च कोटीको गणतन्त्रको बाटोमा छौँ,' उनले भने, 'यदि पूर्वराजाले राजतन्त्रको मोह छाडेर। राजतन्त्र व्युँताउने योजना छाडेर जनताको बीचमा जनताको पक्षमा लड्छन् भने सहकार्य हुन सक्छ। तर, त्यो सम्भावना पनि देखिँदैन।' 

उनले यसअघि आफ्नो टेलिभिजन अन्तर्वार्तालाई बंगाएर भ्रम छर्न खोजेको आरोपसमेत लगाए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell