
काठमाडौं : काठमाडौं उपत्यकामा बढ्दै गरेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन रोक लगाइएको छ। आज दिउँसो उपत्यकाभित्रका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो।
'गृहबाट आएको निर्देशन कार्यन्वयन गर्ने निर्णय भइसकेको छ। थप परामर्श गरिरहेका छौं,' काठमाडौं जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भने।
सोमबार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई पत्रचार गर्दै सार्वजनिक स्थानमा २५ जना भन्दा बढी भेला हुन नदिने नियम कार्यान्वयन गर्न निर्देशन दिएको थियो। त्यस्तै कुनै पनि सभा, भेला, जुलसुलगायतका भिडभाड हुने कार्य रोक्ने निर्देशन दिएको थियो। सोमबारको मन्त्रीस्तरीय बैठकले माघ ७ गतेदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गरेको छ। कोभिड-१९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी)को आइतबारको बैठकले खोप कार्ड अनिवार्य गर्न सिफारिस गरेको थियो।
गृहले सो निर्णय कार्यान्वयन गर्न सम्बन्धित निकायहरुलाई निर्देशन दिइसकेको छ। होटल, रेष्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाइयात्रा सबैमा खोप लगाएको प्रमाण अनिवार्य गरिएको हो।