अमेरिकामा कोभिड-१९ का कारण मृत्यु हुनेको वास्ताविक संख्या बाहिर नआएको हुन सक्ने विज्ञहरुले आशंका गरेका छन्।
कोभिड-१९ को असर लामो समयसम्म रहनु र यसको असर र अन्य घातक जटिलताहरुको बारेमा मानिसलाई जानकारी नहुनुले कोभिड-१९ को कारण मृत्यु हुनेको संख्या 'अन्डर काउन्टेड (न्यून गणना )' भएको हुन सक्ने बताइएको छ।
ब्लुम्वर्गले अमेरिकाको वन अमेरिका नामको बीमा कम्पनीका सीईओलाई उदृत गर्दै यस्तो जनाएको छ। 'हामीले अहिले यो व्यवसायकै उच्च मृत्युहरु देखिरहेका छौँ,' सीईओ जे स्कट डेभिसनले भनेका छन्।
'अहिले काम गर्ने उमेर समूहका१८ वर्षदेखि ६४ वर्षका नागरिकहरुको मृत्युदर सुरुवाती चरणमा भन्दा चालिस प्रतिशतले बढेको छ। त्यस्तै ६५ वर्ष माथिका हरेक १०० अमेरिकीमध्ये १ जनाको मृत्यु भएको छ,' उनले भनेका छन्।
अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र सीडीसीका अनुसार सन् २०२० को फेब्रुअरी यता ९ लाख ४२ हजार ४३१ जनाको मृत्यु भएको अनुमान छ।
जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार हालसम्म अमेरिकामा ८ लाख ३९ हजार ४९७ जनाको मृत्यु भएको छ। त्यहाँ ६ करोड १५ लाख ५८ हजार ८५ जनामा संक्रमण पुष्टि भएको छ।
पछिल्लो २८ दिनमा मात्र एक करोड १४ लाख २६ हजार १२१ जनामा संक्रमण पुष्टि हुँदा ३९ हजार ७२ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ।
स्पेनीसभाषी, काला जातिका तथा भारतीय मुलका नागरिकहरु कोभिड-१९ का तीब्र रुपमा प्रभावित भएको सीडीसीको अर्को एक अनुसन्धानले देखाएको छ।
सीइओ डेभिसनले धेरै मृत्युहरू कोभिड-१९ को आधिकारिक गणनामा छुटेको हुन सक्ने बताएका छन्। 'कोभिड-१९ को संक्रमण फैलिएसँगै मृत्युदर पनि बढेको छ। काम गर्ने उमेर समूहको मृत्यु कोभिड-१९ को गणनामा छुटेका हुन सक्छन्। उनीहरु सबैको मृत्यु प्रमाणपत्रमा कोभिड-१९ नलेखिएको हुन सक्छ। तर, मृत्यु संख्या भने ठूलो छ,' उनले भनेका छन्।
कोभिड-१९ सँगै काम गर्ने उमेर समूहमा मृत्युको अर्को कारण औषधीको ओभरडोज देखिएको छ।
त्यस्तै त्यहाँका बीमा कम्पनीहरुले अशक्तताको दाबीहरुसमेत बढेको पाएका छन्।
'किनभने मानिसहरु स्वास्थ्य सेवाबाट वञ्चित हुन परेको छ। अस्पतालहरू भरिएका छन्,' उनले भनेका छन्।
स्वास्थ्य विज्ञहरुले अमेरिकामा आधिकारिक तथ्यांकभन्दा २० प्रतिशत मृत्यु बढी रहेको हुन सक्ने अनुमान गरेको युएसए टुडेले जनाएको छ।
अमेरिकाको मृत्यु दरलाई अनुसन्धान गरि तयार गरिएको रिपोर्टलाई उदृत गर्दै युएसए टुडेले गत महिना प्रकाशित गरेको आलेखमा पनि कोभिड-१९ को कारण मृत्यु हुने अमेरिकीको संख्या १० लाखको हाराहारीमा भएको उल्लेख गरेको छ। सो समयमा अमेरिकाले आधिकारिक रुपमा सात लाख ९३ हजार २०० को मृत्यु भएको तथ्यांक सार्वजनिक गरेको थियो।
'हामीले निश्चय नै न्यून गणना गरेका छौँ,' सीडीसीको मृत्युसम्बन्धि तथ्यांक हेर्ने डाक्टर बब एन्ड्रसनले भनेका छन्, 'तर, यदि हामी तथ्यांकलाई वास्तवमै सुधार गर्न चाहन्छौँ भने हामीले केही बढी गर्न बाँकी छ। हामीले जान्नुपर्छ कहाँ केसहरु छुटेका छन्।'
सन् २०२० मा भएको मृत्युसम्बन्धी तथ्यांकले पनि यसमा केही प्रकाश पार्न सक्ने रिपोर्टमा उल्लेख छ। २०२० मा मृत्यु भएका ३४ लाख अमेरिकीमध्ये एक तिहाईको मृत्यु घरमै भएको थियो। यस अवधिमा अघिल्ला वर्षहरुमा भन्दा घरमा मृत्यु हुनेको संख्या उल्लेख्य वृद्धि भएको छ।
त्यस्तै घरमै मृत्यु हुने दर ग्रामिण जनसंख्यामा बढी रहेको तथ्यांकले देखाएको छ।