PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

जब इटलीबाट भारत आएका दुई विमानका २९८ यात्रुमा देखियो कोभिड-१९ को संक्रमण...



पहिलोपोस्ट

जब इटलीबाट भारत आएका दुई विमानका २९८ यात्रुमा देखियो कोभिड-१९ को संक्रमण...
PHOTO: GETTY IMAGES/BBC

इटलीबाट भारत आइपुगेको दुई विमानका २९८ यात्रुमा कोभिड-१९ को संक्रमण पुष्टि भएको ल्याव रिपोर्ट आएसँगै भारतीय अधिकारीहरुले निजी प्रयोगशाला माथि छानविन सुरु गरेको छ। गत साता दुई विमानबाट ती यात्रु भारतको अमृतसर विमानस्थल आइपुगेका थिए। 

रोमबाट आएको विमानका कम्तिमा १७३ यात्रु र मिलानबाट आएका १२५ यात्रुमा कोभिड-१९  को संक्रमण पुष्टि भएको थियो। जसमध्ये ३० जनाको विमानस्थलमा नै पुन: परीक्षण गरिएकोमा दोस्रो पटक तीन जनामा मात्र संक्रमण देखिएको थियो। 

विमानस्थल अधिकारीले बीबीसी पञ्जावीसँग 'स्पाइस हेल्थ'को सेवा लिन बन्द गरिएको जानकारी दिएका छन्। 'यो म्यानुफ्याक्चरिङ कमजोरी थियो की मानवीय कमजोरी थियो भन्नेअनुसन्धान पछि पक्कै थाहा हुन्छ र कारवाही अगाडि बढाउने छौँ,' विमानस्थलका निर्देशक भीके सेठले भनेका छन्। 

अमृसरका सिभिल सर्जन डाक्टर चरनजित सिंहले प्रारम्भिक अनुसन्धानबाट उपकरणको ठिक ढंगले काम नगरेको देखिएको र यो विषय उच्च तहमा अनुसन्धान भइरहेको बताएका छन्। 

भारतको विमानस्थल प्राधिकरणले डिसेम्वर १५ देखि उच्च जोखिममा रहेका देशबाट आउने यात्रुको परीक्षणका लागि स्पाइस हेल्थको सेवा लिएको थियो।  

यसबिच इटलीबाट आएका दुई चार्टर्ड विमानका यात्रुमा देखिएको उच्च संक्रमण दरको विषयलाई स्पाइस हेल्थले अनुसन्धान गरिरहेको जनाएको छ। उसले वक्तव्य जारी गर्दै विमानस्थल अधिकारीले निर्धारण गरेको प्रविधि र सबै प्रोटोकलको पालना भएकोसमेत दाबी गरेको छ। 

यता, मिलानबाट आएका र संक्रमण पुष्टि भएका कम्तिमा १३ जना यात्रु क्वारेन्टाइनबाट भागेका छन्। 

हालसम्म भारतमा तीन करोड ५० लाखमा कोभिड-१९ को संक्रमण पुष्टि भइसकेको छ भने चार लाख ८४ हजारको मृत्यु भइसकेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell