
काठमाडौं: प्रधानमन्त्री कप टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत आज कीर्तिपुरमा सम्पन्न दोस्रो खेलमा विभागीय टोली एपीएफले वाग्मती प्रदेशमाथि ७ विकेटको जित निकालेको छ। वाग्मतीले दिएको १२५ रनको लक्ष्य एपीएफले १८.४ ओभरमा ३ विकेट गुमाउँदै भेट्टाएको हो।
टस जितेर ब्याटिङमा उत्रिएको वाग्मतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२५ रन बनाएको थियो।
वाग्मतीका लागि इशान पाण्डेले सर्वाधिक २९ रन बनाउँदा नन्दन यादवले २४ रन बनाए। त्यस्तै सुवास खकुरेलले २१, आदिल खानले १९ रन बनाए।
बलिङतर्फ एपीएफका अविनास बोहोराले सर्वाधिक ४ विकेट लिँदा कमल ऐरीले २ विकेट तथा किशोर महतो र शरद भेषवाकरले समान १/१ विकेट लिए।
जवाफी ब्याटिङमा उत्रिएको एपीएफका लागि लोकेश बमले बिस्फोटक ब्याटिङ गर्दै अर्धशतकीय पारी खेले। बमले २४ बलमा १० चौका र १ छक्काको सहायतामा ५० रन बनाए। त्यस्तै ओपनर प्रदीप ऐरीले अविजित रहँदै ३६ रन बनाउँदा सुन्दिप जोराले अविजित १५ रन बनाए।
बलिङतर्फ वाग्मतीका रामनरेश गिरी, रिजन ढकाल र प्रतिश जिसीले समान १/१ विकेट लिए। प्रतियोगितामा एपीएफको यो लगातार दोस्रो जित हो। यसअघि सोमवारको खेलमा एपीएफले प्रदेश २ लाई हराएको थियो।
आजै टीयू मैदानमा सम्पन्न पहिलो खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई हराएको थियो। त्यस्तै मुलपानी मैदानमा सम्पन्न खेलहरुमा कर्णाली प्रदेशले प्रदेश १ लाई र प्रदेश २ ले गण्डकी प्रदेशलाई हराएको थियो।