PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

जिल्ला अधिवेशनमा ओलीको ‘सोलो पर्फर्मेन्स’: केन्द्रमा एक तर जिल्लामा गुटमै टकराव



प्रकाश भण्डारी

जिल्ला अधिवेशनमा ओलीको ‘सोलो पर्फर्मेन्स’: केन्द्रमा एक तर जिल्लामा गुटमै टकराव

काठमाडौं: नेकपा (एमाले) को जिल्ला अधिवेशनमा अध्यक्ष केपी शर्मा ओली निकट नेताहरुबीच नै प्रतिस्पर्धा भएको छ। अधिवेशन प्रक्रिया सुरु भएका ६५ जिल्लामध्ये धेरै ठाउँमा सर्वसम्मत कमिटी चयन भए पनि चुनाव भएका ठाउँमा भने अध्यक्ष ओली निकट नेताहरु नै प्रतिस्पर्धामा उत्रिएका छन्।  

अधिवेशन सकिएर सर्वसम्मत र निर्वाचन भएका अधिकांश स्थानमा ओली समूहकै वर्चस्व छ। ओलीको 'सोलो पर्फर्मेन्स' जिल्ला तहमा पनि देखिएको छ। निर्वाचन भएका जिल्लामा पनि ओली समूहबीच नै प्यानल बनेको छ। केन्द्रमा ओलीलाई साथ दिइरहेका नेताहरुले भने आफ्नो भूगोलमा गुट बनाएर चुनाव लडिरहेका छन्।

चितवनमा भएको १०औँ महाधिवेशनमा अध्यक्ष ओलीलाई भीम रावलले चुनौती दिएका थिए। सर्वसम्मत नेतृत्व चयनका लागि पहल भए पनि रावल, घनश्याम भुसाल, भीम आचार्य र टंक कार्कीले निर्वाचन हुनुपर्ने अड्डी कसेपछि चुनाव भएको थियो। यद्यपि ओलीले बन्दसत्रमा प्रस्तुत गरेको सूची नै निर्वाचित भयो।

अहिले जिल्ला अधिवेशनमा महाधिवेशनभन्दा भिन्न ढंगले नेताहरुबीच प्रतिस्पर्धा भइरहेको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले बताए।

'हिजो एकै ठाउँमा उभिएका साथीहरुबीच पनि प्रतिस्पर्धा भएको छ। कति ठाउँमा हिजो फरक-फरक ठाउँबाट आएकाहरुको बीचमा पनि चुनाव भएको छ। कहीँ पनि सर्लक्क हिजोको जस्तो छैन्,' रिजालले भने।

ओली निकटमै प्रतिस्पर्धा

तत्कालीन एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायतले एमाले छोडेपछि अध्यक्ष ओलीलाई काउण्टर दिनसक्ने एमालेमा अर्को समूह छैन। नेता भीम रावलले महाधिवेशनमा प्रतिस्पर्धा गरेको भए पनि उनी समूहको प्रभाव एमालेभित्र कम छ। जसको परिणाम एमालेको जिल्ला अधिवेशनमा पनि देखिन्छ। बरु अहिले ओली समूहकै नेताहरुले तल्लो तहको नेतृत्वमा मोर्चाबन्दी गरिरहेका छन्। समूहभित्रै प्रतिस्पर्धा भइरहेको छ।  

सुदूरपश्चिममा एमाले सचिव तथा प्रदेश इञ्चार्ज लेखराज भट्ट, भीम रावल र स्थायी कमिटी सदस्य तथा सह-इञ्चार्ज कर्ण थापाको प्रभाव छ। उनीहरुको समर्थनका आधारमा जिल्ला कमिटीमा नेताहरुले प्यानल बनाएर प्रतिस्पर्धा भएको छ। अछाम, कैलाली र कञ्चनपुरमा प्यानलगत रुपमा प्रतिस्पर्धा भएको छ। कैलालीमा पूर्व अध्यक्ष रतन थापा विजयी भएका छन्। रणबहादुर चन्द थापासँग पराजित भए पनि चन्द प्यानलबाट सचिवमा डेजी पाण्डे निर्वाचित भए। पराजित भएका चन्दलाई भीम रावल, नारदमुनि राना, झपट रावल लगायतको साथ थियो भने थापालाई लेखराज भट्ट र कर्ण थापा लगायतले सघाएका थिए। प्यानलहरुलाई सघाउन नेताहरुले मोर्चाबन्दी गरे पनि थापा र चन्द दुबै नेता भने ओली समूहकै हुन्। एमालेको महाधिवेशनमा प्यानल बनाएर प्रतिस्पर्धा गर्न नहुने समझदारी भएको भए पनि जिल्ला अधिवेशनमा भने प्यानलगत रुपमा प्रतिस्पर्धा भएको छ।

अछाममा प्रकाश शाह र चन्द्र बोहोरा प्यानलबीच प्रतिस्पर्धा भयो।

कञ्चनपुरमा सुरेन्द्र विष्ट र वीरबहादुर थापाको प्यानल भिड्दा डोटी, बैतडी र डडेल्धुरामा सर्वसम्मत नेतृत्व चयन भएको एमालेले जनाएको छ। दार्चुला र बाजुरामा सर्वसम्मतिको प्रयास भइरहेको नेताहरुले बताएका छन्।

यसरी ओली निकटमै प्रतिस्पर्धा हुनेमा अर्को जिल्ला हो प्युठान। एमालेका पूर्व नेता वामदेव गौतमका पूर्व स्वकीय सचिव विजयविराज विष्टले एमाले नेता सूर्य थापा निकट नेता नेहरसिंह केसीलाई पराजित गर्दै अध्यक्षमा जितेका हुन्। गौतम निकट मानिने विष्ट एमालेको विवाद चरम अवस्थामा पुगेका बेला ओली पक्षमा उभिएका थिए।

गुरुङ भर्सेस् अधिकारी

ओली समूहमै रहेका नेताहरुले जिल्ला तहमा भने आफू निकटलाई एक ठाउँमा राखेर गुट बनाइरहेका छन्। दोलखामा ओली निकट मानिने नेताहरु पार्वत गुरूङ र आनन्द पोखरेल पक्षका नेताहरुबीच नेतृत्वका लागि प्रतिस्पर्धा भयो। गुरुङ निकटका नरबहादुर श्रेष्ठले पोखरेल पक्षका उम्मेद्वार भरत दुलाललाई पराजित गरेर अध्यक्ष निर्वाचित भए। सचिवमा पोखरेल निकटका हिरा थोकर विजयी हुँदा पदाधिकारीमा अधिकांश गुरुङले समर्थन गरेका उम्मेद्वार विजयी भए।

यता गण्डकीमा संगठन विभाग प्रमुख तथा स्थायी कमिटी सदस्य खगराज अधिकारी भर्सेस् उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ गुट सक्रिय छ। अधिकारी भर्सेस् गुरुङको टकराव कहाँसम्म छ भने कास्की र स्याङजामा दुबै गुटका प्यानलबीच प्रतिस्पर्धा भएको छ।

स्याङजामा सूर्यप्रसाद गैरे गुरुङको पक्षबाट निर्वाचित हुँदा अधिकारी निकट नारायणप्रसाद मरासिनी अध्यक्षमा पराजित भए। गैरेको पृष्ठभूमि पूर्व माओवादी हो। मरासिनी प्रतिनिधि सभाका सदस्य हुन्।

कास्कीमा पनि गुरुङ भर्सेस् अधिकारी भएको छ। अधिकारीले दामोदर बैरागीलाई अध्यक्षमा समर्थन गर्दा गुरुङले मनबहादुर गुरुङलाई अघि सारेका छन्।  

केन्द्रका विश्वासपात्र जिल्लामा विभाजित

ओलीका विश्वासपात्रका रुपमा लिने गरिन्छ नेताहरु विष्णु पौडेल र शंकर पोखरेललाई। लुम्बिनीमा राम्रो प्रभाव रहेका पोखरेल महासचिव छन् भने पौडेल उपाध्यक्ष छन्। अरु ठाउँमा जस्तै यहाँ पनि ओली गुटमै प्रतिस्पर्धा छ।

उनीहरुको गुटको असर वडा तहसम्मै रहेको बताइन्छ। लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री पोखरेलको सबैभन्दा बढी प्रभाव क्षेत्रका रुपमा बाँके, बर्दिया र दाङ रहेका छन्।

प्रदेशको राजधानी बुटवलबाट दाङको भालुवाङ सारिएपछि उनको पक्षको पार्टीभित्र र बाहिरको जनमत बिग्रिएको जिल्ला तहका एमालेका कार्यकर्ताहरुले बताउने गरेका छन्। रोल्पा र रुकुम पूर्वमा अधिवेशन प्रक्रिया अघि बढेको छैन् भने रुपन्देही, कपिलवस्तु, नवलपरासी पश्चिम, दाङ, पाल्पा, बाँके, बर्दियायामा सर्वसम्मत नेतृत्व चयन भएको थियो। पाल्पामा अध्यक्ष चयनको विषयलाई लिएर निवर्तमान अध्यक्ष मोहन थापाले एमालेबाटै अलग भएको घोषणा गरेका छन्।

जहाँ भएन सहमति

एमालेको जिल्ला तहमा अधिकांश ठाउँमा सहमतिबाट नर्तृत्व चयन भए पनि दोलखा, सिन्धुली, ताप्लेजुङ ओखलढुंगा, प्युठान, कैलाली, सुर्खेत, दैलेख, अछाम, कञ्चनपुर र सुनसरी लगायतका जिल्लामा निर्वाचन भएको छ। केही जिल्लामा आकांक्षी नेताहरुको संख्या धेरै देखिएपछि अधिवेशनको प्रक्रिया अघि बढ्न सकेको छैन। केही जिल्लामा मौसमी प्रतिकूलताका कारण अधिवेशनको प्रक्रिया सुरु हुन नसकेको हो।

रोल्पामा पुस २१ गते जिल्ला कमिटी सचिव निमप्रसाद रोकायको हृदयघातका कारण निधन भएपछि महाधिवेशन स्थगित भएको छ। मुगु, हुम्ला र मुस्ताङमा भने हिमपातका कारण अधिवेशन तत्काल सम्भव नभएको एमालेले जनाएको छ।

प्रचार विभागका उपप्रमुख रिजाल माघ २२ गतेसम्म सबै जिल्लामा अधिवेशन सम्पन्न भइसक्ने बताउँछन्।

ओली समूहको वर्चस्व

चुनाव भएको ठाउँमा बाहेक सर्वसम्मत अध्यक्ष चुनिएको अधिकांश ठाउँमा अध्यक्ष केपी शर्मा ओली निकट नेता अध्यक्ष चयन भएका छन्। योपटक धेरै जिल्लामा नयाँ नेतृत्व पनि छानिएका छन्।  

चुनाव भएको ठाउँमा पनि ओलीइतर कमजोर देखिएको छ। जसरी केन्द्रमा ओली निटकहरुको उपस्थिति बलियो छ त्यसैगरी जिल्लामा पनि ओली समूहकै नेताहरु नेतृत्वमा पुगेका हुन्। काठमाडौं उपत्यकाको तिनवटै जिल्लामा ओली निकट अध्यक्ष भएका छन्। काठमाडौंमा दिपक निरौला, भक्तपुरमा बचन देउजा र ललितपुरमा पुरुषोत्तम आचार्य अध्यक्ष चयन भएका छन्। तीनै जना ओली समूहकै हुन्। काभ्रेमा ओली पक्षकै अशोक ब्याञ्जु सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका हुन्।

यी ठाउँमा अधिवेशन गर्नै सकस

मुख्यगरी प्रदेश नम्बर २ का जिल्लाहरुमा अधिवेशन गर्न एमालेलाई सकस परेको छ। पर्सामा महासचिव शंकर पोखरेलले मंगलबार अधिवेशनको उद्घाटन गरेका छन्। प्रदेश २ का अधिकांश जिल्लामा पार्टी सदस्यता वितरणका विषयमा समस्या देखिएको र अहिले धेरै ठाउँमा समाधान भइसकेको एमालेले जनाएको छ। सदस्यता विवाद मिलेपछि रौतहटमा माघ १ र २ गतेका लागि अधिवेशन तोकिएको छ। सप्तरी र सिराहमा पनि सदस्यता विवाद समाधान भइसकेको छ।

प्रदेश २ मा सचिव तथा प्रदेश इञ्जार्च रघुवीर महासेठ र स्थायी कमिटी सदस्य तथा सह-इञ्चार्ज प्रभु साहबीच टकराव छ। हाल ओली समूहमै रहेका पूर्वमाओवादी नेता प्रभू साह र महासेठ निकट नेताहरुबीचमै मोर्चाबन्दीका कारण नेतृत्व चयनमा सकस परेको एमालेका नेताहरुले बताएका छन्।

साह महाधिवेशनभन्दा केही समयअघि ओलीसँग असन्तुष्ट रहेका थिए। तर, महाधिवेशन अघि भने उनले आफ्नो साथ ओलीलाई नै हुने घोषणा गरेपछि महासेठ र साहबीच प्रदेशमा प्रतिस्पर्धा चलेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell