PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कोरोना संक्रमण बढेपछि फेरि ठप्प होला फिल्म क्षेत्र? प्रशासन भन्छ : खोप कार्ड देखाऊ, फिल्म हेर



लक्ष्मी बलायर

कोरोना संक्रमण बढेपछि फेरि ठप्प होला फिल्म क्षेत्र? प्रशासन भन्छ : खोप कार्ड देखाऊ, फिल्म हेर

काठमाडौँ : कोरोना महामारीले डेढ वर्ष थला परेको नेपाली फिल्म क्षेत्र बिस्तारै जुर्मुराउन थालेको थियो। अक्षय कुमार अभिनीत बलिउड फिल्म 'सूर्यवंशी' ले नेपाली सिनेमा हलमा दर्शक फर्काएको थियो। सूर्यवंशीले सिनेमा हलमा दर्शक फर्काएपछि नेपाली फिल्म निर्माता पनि फिल्म प्रदर्शन मिति तय गर्न तम्सिए। जसकारण 'चपली हाइट ३, लप्पन छप्पन २, प्रेम गीत ३, म यस्तो गीत गाउँछु २, सम्हालिन्छ कहिले मन' लगायत ‘होल्ड’मा रहेका ठूला बजेटका फिल्मको प्रदर्शन मिति तय भयो।

त्यसपछि प्रदर्शन भएको हलिउड फिल्म 'स्पाइडर म्यान' र बलिउडको 'पुष्पा: द राइज' रिलिज भएपछि त नेपाली सिनेमा हल भरिभराउ भए। यी फिल्मले बक्स अफिस नै तताए।

पुस १६ गतेदेखि भीमसेन लामाको निर्देशन रहेको हरर फिल्म 'कठपुतली' रिलिज भयो। फिल्मले दर्शकको राम्रै साथ र प्रतिक्रिया पनि पाइरहेको छ।

+++

तर, परिस्थिति फेरिएको छ। देशभर कोरोना संक्रमण ह्वात्तै वृद्धि भएपछि भर्खरै जुर्मुराउन थालेको फिल्म क्षेत्र फेरि ठप्प हुने त होइन भन्ने प्रश्न सिर्जना भएको छ।

भारतमा कोरोना संक्रमणका कारण बहुप्रतिक्षीत फिल्महरूको रिलिज मिति नै स्थगित भयो। नेपालमा पनि रिलिज टार्गेट सार्न थालिएको छ। 'प्रेम गीत ३' को प्रदर्शन मिति स्थगित भइसकेको छ भने रिलिजको लाइनअपमा रहेका फिल्म पनि ‘पर्ख र हेर’को अवस्थामा छन्।

कोरोना सङ्क्रमणको बढ्दो ग्राफलाई मध्यनजर गर्दै सरकारले भीडभाड हुने गतिविधिमा प्रतिबन्ध लगाएको छ। उपत्यकाका तीनै जिल्लामा मंगलबार राति १२ बजेदेखिनै २५ जनाभन्दा बढी भेला हुन प्रशासनले रोक लगाइसकेको छ। माघ ७ गतेबाट फिल्म हेर्न सिनेमा घर जानेहरूले अनिवार्य खोप कार्ड देखाउन पर्नेछ। प्रशासनको नयाँ नियमले सिनेमा क्षेत्रमा फेरि अन्योल बढाएको छ।

'चपली हाइट ३' रिलिज हुने

संक्रमण बढेसँगै बक्स अफिसमा नयाँ विदेशी फिल्म ‘लाइनअप’मा छैनन्। पुस ३० गते भने ‘चपली हाइट ३’ रिलिज हुने तय छ। सरकारको नयाँ नियमपछि ‘चपली हाइट ३’ रिलिज होला?

‘चपली हाइट’ का निर्माता अर्जुनकुमार भन्छन्, ‘यो फिल्म पुस ३० गते नै रिलिज हुन्छ। किनकि अहिले हल बन्द भएका छैनन्।’

क्युज सिनेमाका सञ्चालक सुमित मैनाली विदेशी फिल्मको रिलिज डेट स्थगित भएको तर 'चपली हाइट ३' रिलिजको लाइनअपमा रहेको बताउँछन्।

‘खोप कार्ड देखाऊ, फिल्म हेर’

गृह मन्त्रालयले स्थानीय प्रशासनलाई सर्कूलर जारी गर्दै भीडभाड हुने गतिविधि नियन्त्रणको निर्देशन दिइसकेको छ। साथै रेस्टुराँ, मल, सिनेमा हल, रंगशाला जाँदा खोप कार्ड अनिवार्य गरेको छ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले माघ ७ गतेदेखि खोप कार्ड अनिवार्य गर्ने निर्णय पनि गरिसकेको छ।

‘सार्वजनिक स्थान (कार्यालय, होटेल, रेस्टुरेन्ट, सिनेमा हल, रंगशाला, हवाई यात्रा, पार्क आदि) मा प्रवेश गर्दा यही माघ ७ गतेदेखि कोभिड-१९ विरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) साथमा राख्ने र यस्ता सबै निकायहरूले खोप कार्ड हेरेरमात्र प्रवेश दिने व्यवस्था गर्ने’ प्रशासनको सूचनामा भनिएको छ।

प्रशासनले माघ ७ गतेदेखि खोप कार्ड अनिवार्य गर्ने भने पनि कति ‘अकुपेन्सी’मा हल सञ्चालन गर्ने भन्नेबारे केही खुलाएको छैन। हाललाई ‘अकुपेन्सी’बारे केही छलफल नभएको र खोप कार्ड अनिवार्य गर्नेबारे मात्रै निर्णय भएको स्थानीय प्रशासनले जनाएको छ।

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले खोप कार्ड देखाएर सहजै फिल्म हेर्न सकिने र अहिले हलको सिट संख्याबारे निर्णय नभएको बताए।

अधिकारीले भने, 'अहिले सिनेमा हलमा खोप लगाएको जान पाइने मात्र नियम बनेको छ। जुन नियम पनि माघ ७ गतेदेखि लागू हुँदैछ। अकुपेन्सीबारे केही कुरा भएको छैन। पछि अवस्था हेरेर अन्य नियम बन्नेछन्।'

बुधबारदेखि माघ ९ गतेसम्म भने स्वास्थ्य मापदण्ड पालना गरेर सिनेमा हल सञ्चालन गर्न सकिने उनले बताए।

क्युज सिनेमाका सञ्चालक मैनाली सरकारको निर्णय पालना गर्दै हल सञ्चालन गर्ने बताउँछन्।

‘सरकारको निर्णय अनुसार नै हल सञ्चालन हुन्छ। हामी तयारी गर्दैछौँ,’ उनले भन्छन्।

कार्ड अनिवार्य उचित

सरकारले सिनेमा हल सञ्चालन हुनेगरी खोप कार्ड अनिवार्य गरेको निर्णयको निर्माता संघले समर्थन गरेको छ।

संघका अध्यक्ष आकाश अधिकारीले सिनेमा हलमा आउँदा खोप लगाएको कार्डको प्रमाणपत्र अनिवार्य हुनुपर्ने निर्णय राम्रो रहेको बताए। सिनेमा हल बन्द हुनुभन्दा स्वास्थ्य सुरक्षा अपनाउनु नै ठिक भएको उनको भनाई छ।

सार्वजनिक स्थलमा प्रवेश गर्न खोप लगाएको प्रमाण अनिवार्य हुनुपर्ने निर्णय स्वागतयोग्य रहेको चलचित्र संघका महासचिव तथा निर्देशक अशोक शर्मा बताउँछन्। स्वास्थ्य मापदण्ड अपनाएर सिनेमा हल खोल्न पाइने निर्णय उचित रहेको शर्माको भनाई छ।

चलचित्र निर्माता अर्जुनकुमार पनि फिल्म हल प्रवेशमा खोप कार्ड अनिवार्य गर्नु राम्रो भएको बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell