PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

मधेसी नेताहरु मन्त्री बन्न ओलीको शरणमा गएको शंकर पोखरेलको दाबी



राधेश्याम पटेल

मधेसी नेताहरु मन्त्री बन्न ओलीको शरणमा गएको शंकर पोखरेलको दाबी

वीरगंज : मधेसी नेताहरु मन्त्री बन्नको लागि पूर्वप्रधाममन्त्री केपी शर्मा ओलीको शरणमा विगतमा जान बाध्य भएको बताइएको छ। नेकपा एमालेका महासचिव शंकर पोखरेलले वीरगंज पुगेर यस्तो बताएका हुन्। नेकपा एमाले पर्सा जिल्लाको आठौं आधिवेशनलाई सम्बोधन गर्दै मंगलवार उनले यस्तो बताएका हुन्। उनले ओलीलाई  मधेशविरोधी नेता बताउने तथा जनताको मनमा वितृष्णा उत्पन्न गर्ने मधेशी नेताहरु मन्त्री बन्न ओलीको शरणमा पुगेको चर्चा गर्दै अगामी दिनमा पनि एमालेमा एकताको लहर ल्याउनु पर्ने आवश्यक रहको बताए। 

उनले पुस मसान्तभित्र एमालेमा अन्य पार्टीबाट स्वागत गर्न सकिने नेता कार्यकर्ताहरुलाई योजना बनाएर माघ र फागुन मसान्तसम्म पार्टीभित्र नेता कार्याकर्ता भित्र्याउने अभियान नै चलाउनु पर्ने केन्द्रीय तप्काका नेताहरुको निर्देशन रहेको उनले सुझाए।

उनले सुनकोशी डाइभर्सनले प्रदेश २ मा सिचाई १२ महिना पुग्ने योजना केपी ओलीको पालामा अघि बढिसकेको, दुई घण्टामा काठमाडौंको बजारसम्म यहाँको उत्पादन पुर्‍याउन बहुप्रतिक्षित तराई मधेस द्रुतमार्गको पुल र सुरुङमार्गको टेन्डर पुरा गराई निर्माणको चरणमा रहेकोले प्रदेश २ विकसित र समृद्धिको योजना नेकपाकै सरकारको पालामा अघि बढेको बताए।

उनले नेकपाबाट प्रचण्ड र माधव नेपालको गद्दारीको कारण पार्टी अलग्गिएको भन्दै अब नेकपा एमालेमा पार्टीभित्र गद्दारी गर्ने कसैको हिम्मत नहुने पनि उनले ठोकुवा गरे। वीरगंजलाई मुख्यमन्त्री गद्दीले छोडेर जनकपुरको गद्दीमा बसेर जनताको अधिकार नमिल्ने बताए। देशका बिकास प्रेमी तथा भारतलाई टक्ककर दिने पूर्व प्रधान मन्त्री ओली अहिले मधेशका सच्चा शुभचिन्तक रहेको बताए।

मधेशमा देखिएको विकास ओलीको कारण आज  भएको बताए। अहिले आएर विभिन्न दलका नेताहरु जस लिने गरेको तर तराई मधेश योजनाअनुसार मधेशमा काम भइरहेको बताए। स्थायी कमिटि सदस्य एवं प्रदेश २ का इन्चार्ज रघुबीर महासेठले तराई समृद्धि योजनाको लागि मुलुकभरीमा १४ सय निर्माण हुने सडकहरु देउवाको सरकारको पालामा सबै ठप्प भएको आरोप लगाए। नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा प्रदेश २ का सह इन्चार्ज प्रभु साहले नेकपा छुट्टिएर एमाले र माओवादी निर्माणपछि जनता नेता सबै एक ठाउँमा र राम्रा नेता सबै नेकपा एमालेमा आएकोले आगामी दिनमा मधेसमा नेकपा एमालेको लहर नै चल्ने विश्वास दिए।

नेकपा एमाले पर्साका अध्यक्ष एवं पर्सा इन्चार्ज प्रभु हजाराको सभापतित्वमा सुरु भएको कार्यक्रममा नेकपा एमाले प्रदेश २ की सह इन्चार्ज ज्वाला साह, प्रदेश २ का अध्यक्ष रामऔतर यादव, पोलिटब्यूरो सदस्यहरु सुमन प्याकुरेल, पुरुषोत्तम पौडेल, अच्यूत मैनाली, केन्द्रीय सदस्यहरु निर्मला देवकोटा, राजकुमार गुप्ता, अरविन्द सिंहलगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम संचालन जिल्ला सचिव मनोज गुप्ताले गरेका थिए। उद्घाटनसत्र पश्चात बन्द सत्र प्रारम्भ हुने छ। बन्द सत्रले सक्दो सहमति प्रणालीबाट जिल्ला समिति चयन गर्ने छ। पर्सामा करिब ७८३ जिल्ला अधिवेशन प्रतिनिधिहरुले बन्द सत्रमा सहभागी भएका छन्। जिल्ला अध्यक्षमा डा.विश्वम्भर शर्मा, जयप्रकाश थारु, विचारी यादव, सुन्दर कुर्मी, मनोज गुप्तालगायतको  दावेदारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell