PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रधानमन्त्री कपमा विभागकै दबदबा, प्रदेशका खेलाडीलाई खै त 'एक्सपोजर' ?



मुकुन्द घिमिरे

प्रधानमन्त्री कपमा विभागकै दबदबा, प्रदेशका खेलाडीलाई खै त 'एक्सपोजर' ?

काठमाडौं : प्रधानमन्त्री कप टी २० राष्ट्रिय प्रतियोगिता सोमवारबाट सुरु भएको छ। ८ वटा खेल सम्पन्न भइसक्दा समूह 'ए' बाट विभागीय टोली नेपाल पुलिस क्लब दुई खेलमा जित निकाल्दै शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा २ अंक जोडेको त्रिभुवन आर्मी क्लब छ।

त्यस्तै, समूह 'बी' मा ४ अंक जोडेको एपीएफ शीर्ष स्थानमा छ। २ अंक जोडेको वाग्मती प्रदेश दोस्रोमा छ। प्रतियोगितामा कुनै पनि विभागीय टोलीले प्रदेशको टोलीसँग पराजय व्यहोरेको छैन।

विभागको यस्तो दबदबा यसपटक मात्र होइन। प्रधानमन्त्री कपको पाँचौं संस्करणसम्म आइपुग्दा उपाधि सँधै विभागीय टोलीकै पोल्टामा छ। अझ फाइनलमा प्रतिस्पर्धा गर्ने टोली समेत विभागीय नै छन्। प्रदेशका टोलीलाई फाइनलमा पुग्नु नै सकसपूर्ण हुन्छ।

यसपटक प्रतियोगिताको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई पराजित गर्‍यो। आर्मीका एकजना खेलाडी 'एबसेन्ट हर्ट' हुँदा पनि आर्मीले सहजै जित निकाल्यो। आर्मीको फिल्डिङ र ब्याटिङ दुवैमा एकजना कम खेलाडी उत्रिएका थिए। यद्यपि, आर्मीले ४ विकेटको सहज जित निकाल्यो। यसले नै देखाउछ विभाग र प्रदेश बिचको 'ग्याप'।

विभागीय टोलीमा नियमित अभ्यास गरिरहेका खेलाडी हुँदा एक जना कम भएर पनि खेल राम्रो भएको आर्मीका कप्तान बिनोद भण्डारीले बताएका थिए।

'नियमित खेलाडीहरु नै हामीसँग खेलिरहेका छन्। त्यसले हामीलाई फाइदा पुर्‍यायो,' भण्डारीले भने, 'प्रदेशको प्रशिक्षण भने अलि कम भइरहेको हुन्छ। त्यो हामीलाई प्लस प्वाइन्ट हो।'

उनले थप भने, 'खेलाडी कम हुँदा गाह्रो त भइहाल्छ। एउटा स्पट फिल्डिङ खाली हुन्छ। अलिकति सजिलै भयो भनौं कर्णाली हुँदा। अरु टिम भएको भए अलिकति गाह्रो हुने थियो।'

प्रदेश भर्सेस विभाग

एपीएफसँगको पराजय पछि राष्ट्रिय टोलीका पूर्व कप्तानसमेत रहेका वाग्मती प्रदेशका कप्तान ज्ञानेन्द्र मल्ल विभाग र प्रदेश बिच 'सिस्टम र सेटअप'को फरक भएको बताए।

'जब प्रदेशको टिम पनि राम्रो सँग सेटअपमा र सिस्टममा आउँछ। खेलाडीलाई पनि एउटा करियर पाथको हिसाबले पेड हिसाबले राख्ने हो भने, उनीहरुलाई मोनिटर गर्ने हो भने प्रदेशले विभागलाई टक्कर दिन सक्‍छ,' वाग्मतीका कप्तान मल्ल भन्छन्, ' विभागीय टोलीको हेर्ने हो भने एक्सपोजर पनि एकैपटक माथिल्लो लेभलमा छ। राष्ट्रिय टोलीमा परिसकेको खेलाडीहरु कोही दश वर्ष, कोही पाँच वर्ष छ भने धेरैजसो प्रदेश टिममा नयाँ खेलाडीहरु छन्।'

उनले थप भने, 'को कसरी खेल्छ थाहा छैन। धेरै खेलाडी पनि आइरहेको छ। प्रदर्शनको हिसाबले दिइरहनु पर्ने पनि अवस्था छ। सकारात्मक पक्ष भनेको युवा खेलाडी आइरहेका छन्। धेरै ठाउँबाट। उहाँहरु यो लेभलको एक्सपोजर नियमित पाउने हो भने सम्भावना चाहीँ देखिन्छ।'

अनुभवी र राम्रो 'सेटअप' भएका विभागीय टोलीसँग भर्खरै 'फर्मेसन' भएर खेल्न आएका प्रदेशका टोलीलाई कठिन हुने गरेको मल्लको बुझाइ छ।

उनी भन्छन, 'प्रदेशका खेलाडीहरुलाई एकैपटक यो लेभलमा र प्लेटफर्ममा म्याचअप गर्न गाह्रो भइरहेको छ।'

विभाग र प्रदेशलाई समान स्तरको बनाउन प्रदेशमा अझ 'एक्पोजर' दिनुपर्ने उनको बुझाइ छ।

'प्रदेशमा पनि जिल्ला जिल्लाको अझै धेरै खेलहरु भयो भने राम्रो हुन्छ। त्यो सम्भावना बोकेका खेलाडी देख्छु केही प्रदेशहरुमा। एक्सपोजर र एक्सपिरियन्सको अभाव देखिन्छ,' उनले भने, 'पहिलो कुरा ग्रास रुटको क्रिकेट देखिएको छैन। चाहे त्यो स्कुल क्रिकेट होस, कलेज क्रिकेट होस एज लेभल या क्लब होस। ४/५ वटा गेमको आधारमा छनोट भएको देखिन्छ।'

प्रदेशका खेलाडीहरुमा राम्रो सम्भावना देखिएको भन्दै मल्लले उनीहरुलाई राम्रो 'प्लेटफर्म'को आवश्यकता खड्किएको बताए।

'जिल्ला जिल्ला बिच लिग भयो भने खेलाडीले राम्रो एक्सपोजर पाउँछ। अनुभव हुन्छ। सिनियर खेलाडीहरुको अनुभव साटासाट गर्ने हो भने राम्रो हुन्छ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell