
विश्वभर कोभिड -१९ संक्रमण फेरि बढ्दै गएको छ। विश्वका अधिकांश देशमा ओमोक्रन भेरियन्ट फैलिएसँगै संक्रमणको ग्राफ उकालो लागेको हो। ओमोक्रन भेरियन्टले विश्वका अधिकांश देशमा नयाँ रेकर्ड कायम गर्दै छ।
डेल्टा भेरियन्टसँग जुध्दै संक्रमणको जोखिम कम भइसकेको अवस्थामा कोरोनाको नयाँ भेरियन्ट 'ओमोक्रन' देखिएसँगै फेरि विश्वभर नै संक्रमण गति बढ्दै जाँदा विभिन्न देशहरु पुन: लकडाउन वा अन्य निषेधाज्ञाको दिशामा अगाडि बढेका छन्। गत साता चीनमा ओमोक्रनको पहिलो स्थानीय संक्रमण पुष्टि भएसँगै राजधानी बेइजिङको छिमेकी शहर थियानचिनमा मास टेस्टिङ गरिएको थियो।
विश्व स्वास्थ्य संगठनले डेल्टाभन्दा ओमोक्रन तीव्र रुपमा फैलिने भन्दै स्वास्थ्य मापदण्ड पालना गर्न आह्वान गरेको छ।
ओमोक्रनले संक्रमण बढाएसँगै युरोप र अमेरिका सबैभन्दा बढी प्रभावित भएका छन्। यता, युरोपियन मेडिसिन एजेन्सीले भने ओमोक्रन भेरियन्टको फैलावटसँगै कोरोना 'प्यान्डेमिक' (महामारी) बाट 'इन्डेमिक' (निश्चित क्षेत्रमा नियमित रूपमा देखिने रोग) का रुपमा विकसित हुँदै गएको जनाएको छ। यो भाइरससँग मानिस बाँच्न सक्ने समेत एजेन्सीले दाबी गरेको छ।
युरोपका मुख्य देशहरुले कोभिड-१९ लाई सामान्य फ्लूको रुपमा व्यवहार गर्न थालेका छन्। सोमबारमात्र स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेनले कोभिड-१९ लाई फ्लू जस्तै 'इनेडेमिक रोग'को रुपमा लिनुपर्ने टिप्पणी गरेका हुन्।
उनी युरोपका पहिला नेता हुन जसले युरोपियन युनियनलाई इन्डेमिकका रुपमा पाण्डेमिकलाई लिन आग्रह गरेका हुन्।
'अहिलेको अवस्था जुन हामीले वर्ष दिन अगाडि भोगेका थियौँ त्यस्तो होइन,' प्रधानमन्त्री सान्चेनले एक रेडियो अन्तर्वार्तामा भनेका थिए, 'मलाई लाग्छ कि हामीले कोभिड-१९ लाई इन्डेमिकको रुपमा लिनुपर्छ।'
स्पेन विश्वकै सबैभन्दा धेरै कोभिड-१९ भ्याक्सिन रोलआउट भएको देश हो। त्यहाँको ११ वर्ष माथिका ९०.४ प्रतिशत जनसंख्याले खोपको पूर्ण मात्रा लगाइसकेका छन्। त्यस्तै ६० वर्ष माथिका ८५.३ प्रतिशतले बुस्टर डोज पनि लिइसकेका छन्।
पहिलो वेभमा मृत्युदर १३ प्रतिशत रहेको स्पेनमा अहिले यो दर १ प्रतिशतमा झरेको छ।
त्यस्तै इटालीले ओमोक्रनको संक्रमण फैलिँदै जाँदा त्यहाँका ५० वर्षभन्दामाथिका व्यक्तिका लागि अनिवार्य खोप लगाउने घोषणा गरेका थियो। फ्रान्सले पनि कोभिड-१९ विरुद्धको खोप नलगाएका नागरिकहरुलाई अनिवार्य खोप लगाउन भनेको छ।
जनवरी १५ देखि १८ वर्ष माथिका सबै नागरिकलाई रेस्टुरेन्ट, बार, सिनेमा, कन्सर्टसहितका सार्वजनिक स्थानमा जानका लागि खोपको पूर्ण मात्रा लगाएको प्रमाण दिनुपर्ने व्यवस्था गरेको छ। यस्तो व्यवस्थालाई त्यहाँको राष्ट्रिय सभामा २१४-९३ मतले पारित गरिएको हो। यसअघि फ्रान्सले आफ्ना नागरिकलाई खोप वा नियमित कोभिड-१९ परीक्षणको दुई विकल्प दिएको थियो।
जर्मनले पनि लक्षित जनसंख्यालाई अनिवार्य खोपको प्रावधानलाई अगाडि बढाएको छ।
अर्कोतिर बेलायतमा ओमोक्रनको संक्रमणसँगै अघिल्ला संक्रमणका दैनिक रेकर्ड तोडिँदै गएका छन्। अस्पताल भर्ना हुने दर बढ्दै गए पनि अघिल्लो वेभमा भन्दा कम नै देखिएको छ।
गत सातामात्र बेलायती प्रधानमन्त्री बोरिस जोनसनले अघिल्लो वर्षभन्दा अहिले अस्पताल भर्ना हुने दर नियन्त्रणमै रहेको भन्दै दैनिक जीवनमा कडा प्रतिबन्ध लगाउन आवयश्क नभएको प्रतिक्रिया दिएका थिए।
बेलायतले सेल्फ आइसोलेसनको समयलाई पनि पछिल्लो समय १० दिनबाट सात दिनमा झारेको छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भने युरोपेली देशका यी कदमले घातक परिणाम निम्त्याउन सक्ने चेतावनी दिएको छ। उसले अहिले नै कोभिड-१९ लाई इन्डेमिक भन्न हतार हुने बताएको छ।
मध्ये मार्चसम्म युरोपको आधाभन्दा बढी जनसंख्या कोभिड-१९ बाट संक्रमित हुने प्रक्षेपण डब्लुएचओले मंगलबार सार्वजनिक गरेको थियो।
२०२२ को पहिलो सातामात्र पूर्वी युरोपमा ७० लाख मानिस संक्रमित भएको भन्दै डब्लुएचओको युरोप क्षेत्रका निर्देशक डाक्टर हान्स क्लुङ्गेले पश्चिमदेखि पूर्वसम्म यसले सामुन्द्रिक लहर जस्तै वेभ ल्याउन सक्ने चेतावनी दिएका थिए।
अहिले यस क्षेत्रका २६ देशका १ प्रतिशत मानिसमा हरेक साता कोभिड-१९ ले संक्रमित पारेको छ।
'यही अवस्थालाई हेर्ने हो भने आगामी ६ देखि ८ सातासम्म यस क्षेत्रका आधाभन्दा बढी जनसंख्या ओमोक्रनबाट संक्रमित हुनेछन्,' उनले भनेका छन्। सो क्षेत्रमा कम मात्रामा खोप वितरण भएको भन्दै उनले यसलाई नियन्त्रण गर्न कठिन हुन सक्ने बताएका छन्।
युरोप र मध्ये एसियाका ५३ देश मध्ये ५० देशमा ओमोक्रोनको संक्रमण फैलिरहेको भन्दै उनले पश्चिम युरोपमा डोमिनेन्ट भेरियन्ट बनिसकेको र यो बाल्कन क्षेत्रमा फैलिरहेको बताए।
पछिल्लो साता संकलित तथ्याङ्कले ओमोक्रोन तीव्र संक्रामक रहेको र यसको म्युटेसन मानव कोसिकामा सहजै प्रवेश गर्ने खालको भएको उल्लेख छ।
उनले ओमोक्रन नदेखिएका देशलाई यसलाई नियन्त्रण गर्ने अवसर रहेको भन्दै तत्काल योजना बनाएर काम गर्न भनेका छन्।
त्यस्तै ओमोक्रन देखिएका देशहरुले जोखिम पूर्ण जनसंख्यालाई सुरक्षित राख्नुपर्ने र स्वास्थ्य प्रणालीको सुधार गर्नुपर्ने बताएका छन्।
उनले विद्यालयहरुले बालबालिकाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याउने भन्दै विद्यालय 'अन्तिममा बन्द गर्नुपर्ने र सुरुमा खोल्नुपर्ने' क्षेत्रको रुपमा हुनुपर्ने बताएका छन्।
त्यसका लागि विद्यालयमा स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गर्नुपर्ने बताएका छन्।
कोभिड-१९ का लागि भन्दै डब्लुएचओले पाँच मन्त्र अगाडि सारेको छ। जसमा पहिलो-खोप, दोस्रो- तेस्रो मात्रा वा बुस्टर, तेस्रो- मास्कको प्रयोग बढाउने, चौथो- बन्द ठाउँहरुमा स्वच्छ हावाको सञ्चार, पाँचौँ नयाँ क्लिनीकल प्रोटोकलको निर्माण।