PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

प्रदेश २ मा कोरोना संक्रमितको संख्या उकालो लाग्दै : समुदाय स्तरमै संक्रमण फैलिने खतरा बढ्यो



राधेश्याम पटेल

प्रदेश २ मा कोरोना संक्रमितको संख्या उकालो लाग्दै : समुदाय स्तरमै संक्रमण फैलिने खतरा बढ्यो

वीरगंज : प्रदेश २ का आठ जिल्लामै समुदाय स्तरमा कोरोना फैलिने खतरा बढेको छ। गत पुसको दोस्रो सातादेखि ह्वातै बढेको कोरोना संक्रमण अहिले प्रदेश २ को पर्सादेखि सप्तरीसम्मै फैलिसकेको छ।

प्रदेश २ को सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले बुधवार जारी गरेको तथ्यांक अनुसार आठ जिल्लामध्ये ६ जिल्लाबाट पुनः कोरोना संक्रमित भेटिन थालेका छन्। बुधवार भएको परीक्षणमा सप्तरीमा १ महिलासहित ५ जना, सिरहामा २ महिलासहित ६ जना, धनुषामा ११ महिलासहित १४ जना, महोत्तरीमा १ महिलासहित १० जना, सर्लाहीमा २ महिलासहित १२ जना, बारामा १ महिलासहित ४ जना र प्रदेश १ का दुई जना गरी १८ महिला र ५१ पुरुषमा कोरोना संक्रमण पुष्टि भइसकेको विज्ञप्तिमा उल्लेख छ। यो तथ्यांकमा वीरगंजको नारायणी अस्पताल र वीरगंज नाकाको हेल्थ डेस्कको तथ्यांक समावेश गरिएको छैन।

वीरगंजस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा बुधवार ९५ वटा नमुना परीक्षण भएकोमा १६ महिला र ३५ पुरुष गरी ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको माइक्रोबायोलोजिस्ट डा प्रभाकरराज पाण्डेले बताए। यसअघि गत सोमवार भएको ५४ वटा नमुना परीक्षणबाट ९ महिलासहित २२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। उनका अनुसार अहिले दैनिक भइरहेको परीक्षणमा ४५ प्रतिशतभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइरहेको छ।

नाकामा ४ सय एन्टिजेन परीक्षण गर्दा १८ जनामा कोरोना

नेपालको प्रमुख प्रवेशद्वार वीरगंज नाका भएर आउने नेपाली र भारतीय पर्यटकमा संक्रमित भेटिने दर बढ्दै गएको छ। वीरगंज महानगरको हेल्थ डेस्कद्वारा अहिले दैनिक सय जनाभन्दा बढीको एन्टिजेन परीक्षण गर्दा २० भन्दा बढीमा संक्रमण पोजिटिभ भेटिएको हेल्थ डेस्ककी डा अनिशा महतोले बताइन्।

उनका अनुसार गत पुस ८ गतेको परीक्षणमा दुई जनामा पोजिटिभ देखिएपछि जाँच र परीक्षणको दायरा बढाइएको थियो। यसअघि गत जेठदेखि पुस ७ सम्म दैनिक सयदेखि डेढ सयको हाराहारीमा एन्टिजेन परीक्षण गर्दा सबै नतिजा नेगेटिभ देखिएको थियो।

पुस ८ गतेपछि भित्रिने भारतीय र नेपालीहरुमा कोरोना पोजिटिभ भेटिएको हो। बुधवार साँझ ५ बजेसम्म गरिएको ४१५ परीक्षणमा ३ महिलासहित १८ जनामा पोजिटिभ भेटिएको छ भने मंगलवार भएको ४१३ परीक्षणमा २४ जनामा संक्रमण पोजिटिभ भेटिएको थियो।

गत पुस ८ गतेदेखि हालसम्म वीरगंज नाकाबाट भित्रिनेहरुमा झण्डै डेढ सय जनाभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको डा महतोले बताइन्। कोरोना पोजिटिभ देखिएका नेपालीको हकमा प्रशासनको सहयोगमा होम आइसोलेसनमा पठाइने गरिएको र भारतीयको हकमा भारतमै फर्काउने गरिएको उनले बताइन्।

ओमिक्रोन परीक्षणको लागि नमुना भण्डारण गर्न सकिएन

वीरगंज नाकामा भेटिइरहेको कोरोनाको जिन सिक्वेन्सिङ अर्थात ओमिक्रोन वा डेल्टा भेरियन्ट परीक्षणको लागि भण्डारणको उपकरण नभएकोले समस्या भइरहेको स्वास्थ्यकर्मीहरुले बताएका छन्। नारायणी अस्पतालको प्रयोगशालाले मासिक रुपमा भेटिएको पोजिटिभ केसको नमुना जिन सिक्वेन्सिङको लागि काठमाडौंको टेकुस्थित एनपीएचएलको प्रयोगशालामा पठाउने गरेको छ।

यसरी दैनिक रुपमा संक्रमितको संख्या बढ्दै ज्यादा समस्या उत्पन्न हुने उनको विश्लेषण छ। यसअघि नारायणी अस्पतालमै भण्डारण गर्न पठाउँदै आएको वीरगंज नाकाको हेल्थ डेस्कले दैनिक २० भन्दा बढी पोजिटिभ केस भेटिन थालेपछि बुधवारदेखि नमुना संकलन बन्द गरेको छ।

डा अनिशा महतोका अनुसार हेल्थ डेस्कसँग नमुना भण्डारण गर्ने फ्रिज छैन। नारायणी अस्पतालले पनि नमुना भण्डारण गर्न नमानेपछि आफूहरुले नमुना संकलनको काम बन्द गरेको उनले बताइन्।

‘हामीले वीरगंज महानगरसँग लामो समयसम्म नमुना भण्डारण गरेर राख्न सकिने फ्रिज माग गरेको छौँ’, उनले भनिन्, ‘जबसम्म फ्रिज आउँदैन, तबसम्म संकलन रोकेका छौँ, एउटा कोल्ड बक्समा ३६ वटा नमुना मात्र भण्डारण गरी राखेका छौँ।’

अशक्त र रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई समस्या

कोरोनाको ओमिक्रोन भेरियन्ट भेटिएको पुष्टि भएसँगै नेपालमा पनि महामारी बढिरहेको छ। तर, यो भेरियन्टको एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने दर अत्यधिक भएकोले अवस्था भयावह बन्न धेरै समय नलाग्ने स्वास्थ्य विज्ञहरुको आँकलन छ।

नारायणी अस्पतालका चिकित्सक डा उदयनारायण सिंहका अनुसार बितेको क्रिसमस डे, नयाँ वर्ष महोत्सव, दलका महाधिवेशन जस्ता कार्यक्रम तथा गतिविधिले गर्दा नेपालको राजधानी काठमाडौं, पोखरा, चितवनलगायत प्रदेश २ का आठ जिल्लामा कोरोना महामारी पुनः अस्वभाविक रुपमा बढिरहेको छ। तर, कोरोनाविरुद्धको दोस्रो मात्राको खोप लगाएकालाई धेरै असर नगरेको पनि भेटिएको उनको विश्लेषण छ।

‘ओमिक्रोनले सतही रुपमा मात्र असर गरिरहेको छ, छातीमा निमोनिया तीव्र रुपमा बढाएको छैन, खोप लगाउनेहरु एक हप्तामा निको भइरहेका छन्’, उनले भने, ‘तर, त्यही रोग प्रतिरोधात्मक क्षमता न्यून वा शारीरिक रुपमा अशक्त भएकालाई बढी समस्या हुन सक्ने भएकोले सावधानीको उपाय अवलम्बन गर्नु जरुरी छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell