PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

गण्डकीमा पृथ्वीसुब्बा र खगराजको टकराव पोखियो मैदानसम्मै, जिल्ला अधिवेशनलाई किन बनाए 'टसल'को थलो?



रिना थापा

गण्डकीमा पृथ्वीसुब्बा र खगराजको टकराव पोखियो मैदानसम्मै, जिल्ला अधिवेशनलाई किन बनाए 'टसल'को थलो?

पोखरा : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको १० औं जिल्ला अधिवेशन गण्डकी प्रदेशमा रोचक रह्यो। केन्द्रीय अध्यक्ष केपी शर्मा ओली भित्रकै नेताहरु पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारी चुनावी मैदानमा एकअर्काविरुद्ध उत्रिएपछि यहाँको अधिवेशन रोचक बनेको हो। दुबै एकै खेमाका नेता भएपनि प्रदेशमा यिनको आ–आफ्नै गुट राजनीति छ। गुट राजनीतिको प्रत्यक्ष प्रभाव यो अधिवेशनमा पनि देखियो।

गुरुङ र अधिकारीबिचको अन्तरद्वन्द्वका कारण सम्पन्न कास्की जिल्ला सभापतिमा दूई प्यानलबिच प्रतिस्पर्धा चल्यो। एकआपसमा रहेको तिक्तता साँध्न दुई नेताले अधिवेशनको मैदानलाई प्रयोग गरे।

कुन जिल्लामा कसको पकड?

कास्की अध्यक्षमा मनबहादुर गुरुङ, उपाध्यक्षमा तेजनारायण अधिकारी, सचिवमा बैनबहादुर अधिकारी र उपसचिवमा दर्शन लामा तथा नवराज ओझा निर्वाचित भए। अध्यक्ष र उपाध्यक्ष पदमा पृथ्वीसुब्बा निकट विजयी हुँदा सचिव तथा उपसचिवमा अधिकारी निकटले जिते। कास्कीमा बाहेकका प्रदेशका अन्य जिल्लामा पनि गुटगत राजनीति देखियो। हिमाली जिल्ला मनाङ र मुस्ताङबाहेक अन्य जिल्लामा एमालेको अधिवेशन सम्पन्न भएको छ। समग्र प्रदेशमा गुरुङकै वर्चस्व कायम भएको छ।

स्याङ्जामा पनि दुई प्यानल बनाएर निर्वाचन भएको थियो। जसमा पूर्व माओवादी रहेका सूर्यप्रसाद गैरे ‘पारस’ विजयी भए। उनका प्रतिस्पर्धी थिए संघीय सांसद नारायणप्रसाद मरासिनी। मरासिनीलाई अधिकारीको मात्र साथ रहँदा नवनिर्वाचित अध्यक्ष गैरेलाई केन्द्रीय सचिव पद्माकुमारी अर्याल र गुरुङको समर्थन रह्यो। उपाध्यक्षमा कृष्ण खाँण निर्विरोध निर्वाचित भएका थिए। सचिवमा राजेन्द्र डुम्रे, उपसचिवमा विश्व पौडेल र तारा शर्मा  निर्वाचित भए। उपसचिव पौडेल बाहेक अन्य गैरे प्यानलका हुन्।

यस्तै बागलुङको जिल्ला अधिवेशनमा दश बुँदे पक्षधर नेता हाबी भए। जिल्लामा दश बुँदे नेता हाबी बन्नुको प्रमुख कारण हो प्रदेश सांसद ईन्द्रलाल सापकोटा। माधव नेपाल समूहबाट जिल्लामा नेतृत्व गरिहेका सांसद सापकोटाले पार्टी फुटेपछि नेपालको साथ छोडेका थिए। सांसद सापकोटा गुरुङ निकट नेता मानिन्छन्। उनकै समर्थनमा अध्यक्षमा दश बुँदे पक्षधर हिराबहादुर केसी निर्विरोध निर्वाचित भए। यस्तै उपाध्यक्षमा लक्ष्मण पुन र सचिवमा विष्णु भुसाल निर्विरोध निर्वाचित भए। यस्तै उपसचिवमा गणेशबहादुर थापा र डम्मर श्रीस विजयी भए।

गुरुङको गृहजिल्ला लमजुङको अध्यक्षमा कृष्णप्रसाद अधिकारी निर्विरोध चुनिए। उपाध्यक्षमा यसोदा रिमाल, सचिवमा सुभाष पौडेल सर्वसम्मत चयन भए। यता उपसचिवमा द्वय जनक मिश्र र जितबहादुर गुरुङ निर्वाचित भएका हुन्। उनीहरु गुरुङ निकट हुन्।

यता पर्वत सर्वसम्मत रुपमै अधिवेशन सम्पन्न भयो।  अध्यक्षमा राजु पौडेल, उपाध्यक्षमा पदमपाणि शर्मा, सचिवमा गोविन्द पहाडी, सहसचिवमा शिव पौडेल र विमल लामिछाने निविरोध निर्वाचित भएका छन्।

म्याग्दीमा पनि सर्वसम्मत रुपमै नेतृत्व चयन भएको छ। अध्यक्षमा देबेन्द्रबहादुर कटुवाल, उपाध्यक्षमा बालकृष्ण सुवेदी, सचिवमा सुरत केसी, उपसचिवमा थमसरा पुन र राजकुमार थापा सर्वसम्मत चयन भएका हुन्।

तनहुँ एमाले अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ र उपसचिवमा प्रदीपराज अधिकारी र खिमबहादुर कुमाल सर्वसम्मत निर्वाचित भएका छन्। बाँकी पदमा भने चुनाव भएको थियो। निर्वाचनमार्फत उपाध्यक्षमा हरिराज कंडेल, सचिव राजेश्वर ढकाल विजयी भएका छन्।

गोरखा एमाले अध्यक्षमा प्रेम गुरुङ, उपाध्यक्षमा कृष्ण नेपाली र सचिवमा काजीराम रोका सर्वसम्मत चयन भए। यस्तै उपसचिवको लागि सहमति नजुट्दा निर्वाचन भएको थियो। निर्वाचन मार्फत उपसचिवमा शुरेश बाबु श्रेष्ठ र विशाल थापा चयन भएका छन्।

यस्तै नवलपुर एमाले अध्यक्षमा मुक्तिराम पाण्डे, उपाध्यक्षमा मनविर थापा, सचिवमा भिमलाल अधिकारी र उपसचिवमा भिमलाल कंडेल र यमुनाथ आचार्य सर्वसम्मत चयन भएका छन्।

कहिलेबाट शुरु भयो दुई नेताबीच टकराव?

गुरुङ र अधिकारीबिच तिक्तता सुरुआत एमालेको ९ औं महाधिवेशनबाट भएको देखिन्छ। ९ औं महाधिवेशनबाट गुरुङ सचित निर्वाचित भए। अधिकारी केन्द्रीय सदस्यमै हारे। अधिकारीले त्यतिबेला गुरुङमाथि आफूलाई केन्द्रीय सदस्यमा हराउन लागेको आरोप लगाएका थिए। यता गुरुङले आफूलाई सचिव पदमा हराउन अधिकारीले असफल कोसिस गरेको आरोप लगाए। दुबैबिचको आरोपप्रत्यारोपले आजसम्म निरन्तरता पाइरह्यो। गण्डकी प्रदेशको मुख्यमन्त्री पद दाबी गर्न किरण गुरुङलाई अधिकारीले नै उचालेको पृथ्वीसुब्बाको आरोप थियो। ९ औं अधिवेशनबाट सुरु भएको अन्तरद्वन्द्व नगरसम्म पुग्यो। अधिकारीले आफू निकट कृष्ण थापालाई पोखरा महानगरपालिकाको मेयर बनाउन चाहान्थे। तर गुरुङले मेयर पदमा आफू निकट मानबहादुर जिसीलाई इनिङ गराउन सफल बने। त्यसयता गुरुङ र अधिकारीबिच अघोषित रुपमा प्रतिष्ठाको लडाईँ चलि नै रहेको छ।

१० औं महाअधिवेशनबाट गुरुङ एमालेको उपमहासचिवमा चुनिए। संगठन विभाग प्रमुखमा खगराज। उहिल्यै नगर तहसम्म  पुगेको अन्तरद्वन्द्व अहिले जिल्ला अधिवेशनमा प्रष्टै देखिएको छ। सर्वसम्मत गराउन खोजिएको निर्वाचनमा कास्कीमा दुबै पक्ष प्यानल नै बनाएर चुनावमा होमिए। सुरुआतमा सर्वसम्मत रुपमै नेतृत्व चयन गर्न खोजिएको थियो। तर दुबै पक्षले आआफ्नो प्यानल बनाएर सामाजिक सञ्जालमार्फत मत मागे। अधिकारीको गृह जिल्लासमेत रहेको कास्कीमा गुरुङले पनि गुटगत राजनीति गर्दै हस्तक्षेप गरे। उसो त गुरुङ मुख्यमन्त्री बनिसकेपछि जिल्लामा आफनो पकड जमाउँदै गएका थिए। जिल्ला अधिवेशनमा गुरुङकै हस्तक्षेपका कारण अधिकारीले आफ्नै गृहजिल्ला मात्र नभई प्रदेशमा आफ्नो वर्चस्व गुमाउनु पुगे।

यसो भन्छन् कार्यकर्ता

दुबैबिचको अन्तरद्वन्द्वले जिल्ला अधिवेशनमा प्रतिस्पर्धाकमा रुपमा देखिँदा अस्वच्छ भएको एमाले भित्रकै जिल्ला नेता बताउँछन्। एमाले भित्रका केही नेता कास्की जिल्ला अधिवेशनलाई गुरुङ र अधिकारीबिचको प्रतिस्पर्धात्मक द्वन्द्व रहेको स्वीकार गर्छन्।

यता गुरुङ निकट एक नेताले भने गुटगत राजनीति र प्रतिस्पर्धा भन्न नमिल्ने धारण राखे। ‘जिल्ला अधिवेशनमा आंकाक्षी बढी भएका हुन् त्यसैले यसलाई गुटगत राजनीति भन्न मिल्दैन पदको महत्वाकांक्षा सबैमा हुन्छ, होला भित्रका केही नेताले केन्द्रका नेतासँग हात मिलाएर जानुभयो,’ ती नेताले भने।

अर्का एक नेताका अनुसार कास्कीमा सर्वसम्मत नेतृत्व चयनलाई नकार्दै सुरुआतमा प्यानल नै मिलाएर चुनावमा होमिन खोजेका अधिकारी थिए। यता अधिकारी निकट एक नेताले प्रतिस्पर्धाकै लागि गुट सिर्जना गर्दै चुनावमा होमिनु पार्टीभित्र विकृती फैलिएको धारणा राख्छन्।

‘प्रतिस्पर्धा आफैंमा नराम्रो त होइन तर चुनावको नाममा हुने विकृती विसंगति गुट सिर्जना गर्ने प्यानल सिर्जना गर्ने र नेताहरुले पनि उसैलाई सर्मथन गर्ने देख्दा पार्टीभित्र एक्क्तबद्दता देखिँदैन र हुँदैन,’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell