
काठमाडौं : पछिल्लो समय विश्वभर सुस्त भएको कोरोना भाइरस संक्रमणको गति नयाँ भेरियन्ट 'ओमोक्रन' फैलिएसँगै फेरि बढ्न थालेको छ। निकै संक्रामक मानिएको 'ओमोक्रन' भेरियन्ट फैलिएपछि नेपालमा पनि दैनिक संक्रमितको संख्या बढ्दै गएको छ।
बुधवारसम्मको तथ्यांक अनुसार देशभर ३ हजार ७५ जनामा संक्रमण देखिएको थियो। जसमा १ हजार ३२२ जना काठमाडौं उपत्यकाका थिए। यो बुधवार फेला परेको संक्रमित मध्ये ४३ प्रतिशत हो। बुधवार काठमाडौंमा ९९० जना, ललितपुरमा २०६ जना र भक्तपुरमा १२६ जना संक्रमित थपिएका थिए।
हाल देशभर ११ हजार ६९० सक्रिय कोरोना संक्रमित रहेका छन्। जसमध्ये काठमाडौं उपत्यकामा मात्रै ६ हजार ६२९ जना सक्रिय संक्रमित छन्। यो कुल सक्रिय संक्रमित मध्ये ५६.७० प्रतिशत हो। हाल काठमाडौंमा ४ हजार ५११ जना, ललितपुरमा १ हजार २९६ जना र भक्तपुरमा ८२५ जना सक्रिय कोरोना संक्रमित रहेका छन्।
हालसम्म काठमाडौं उपत्यकामा ३ लाख ४३ हजार ७८२ जनामा कोभिड १९ संक्रमण पुष्टि भइसकेको छ। काठमाडौंमा २ लाख ६० हजार ५९९ जना, ललितपुरमा ५२ हजार ३४८ जना र भक्तपुरमा ३० हजार ८३५ जनामा संक्रमण पुष्टि भइसकेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
भारतमा डेल्टा भेरियन्टसँगै ओमोक्रन भेरियन्ट पनि फैलिएपछि नेपालमा पनि संक्रमितको संख्या ह्वात्तै बढेको हो। ओमोक्रन त्राससँगै सीमा नाकाबाट स्वदेश फर्किनेको घुइँचो लागेपछि सीमा क्षेत्रमा संक्रमितको संख्यामा वृद्धि भएको बताइन्छ।
काठमाडौं उपत्यकामा संक्रमण दर ह्वात्तै बढेपछि प्रशासनले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ। यस्तै, मास्क अनिवार्य लगाउन र स्वास्थ्य मापदण्ड पालना गर्न पनि आग्रह गरिएको छ। यद्यपि, बजारमा भने भिडभाड कायमै छ। उपत्यकामा सार्वजनिक निकाय र सार्वजनिक स्थलमा माघ ७ गतेदेखि खोप लगाएकाले मात्रै प्रवेश पाउने नियम बनाइएको छ। जसकारण खोप लगाउन अस्पतालमा मानिसहरुको भिड छ।
काठमाडौं उपत्यकाको तीन जिल्लाको संक्रमण ग्राफ :