
कोभिड १९ को 'ओमोक्रन भेरियन्ट' फैलिएसँगै विश्वभर फेरि स्वास्थ्य सतर्कता अपनाउन थालिएको छ। संक्रमण फैलिनबाट रोक्न र संक्रमण भएपनि त्यसबाट गम्भीर हुनबाट रोक्न कोरोना भाइरसविरुद्ध खोप लगाउन विश्व स्वास्थ्य संगठनले आह्वान गर्दै आएको छ। तर, कतिपय देशमा खोप लगाउनेको संख्या न्यून छ। संक्रमितको संख्या बढ्ने र खोप नलगाउनेको संख्या पनि वृद्धि हुँदा संक्रमण थप फैलिने भन्दै विभिन्न राष्ट्रहरुले कडा प्रतिबन्धहरु लागु गरेका छन्।
यसबिच क्यानडाको क्युबेकमा कोभिड १९ विरुद्धको खोप नलगाउनेले कर तिर्नुपर्ने व्यवस्था गरिएको छ। राज्यमा खोप नलगाउनेको संख्या धेरै हुँदा सरकारले खोप नलगाउनेलाई कर तिराउने निर्णय गरेको हो।
राज्य सरकारले यसरी कर तिराउने निर्णय गरेको भोलिपल्ट नै खोप नलगाएका नागरिकले पहिलो डोज लगाउनका लागि नाम लेखाउन सुरु गरेका छन्। क्युबेकका स्वास्थ्य मन्त्री क्रिस्टेन डुबेले खोप लगाउने मानिसको संख्या अहिले निकै उत्साहजनक भएको बताएका छन्। उनले दैनिक खोप लगाउनेको संख्या बढ्दै गएको भन्दै बुधवार १ लाख बढीले एकैदिन खोप लगाएको जानकारी दिए। दैनिक हजारौंले खोपको पहिलो डोज लगाउन नाम लेखाइरहेको समेत उनले बताए।
खोप लगाउन स्वास्थ्य अवस्थाका कारण नसक्नेहरुले भने कर तिर्नुपर्दैन। क्युबेकमा धेरै संख्यामा अस्पतालमा रहेका बिरामीले खोप लगाएका छैनन्।
क्युबेक सरकारका अनुसार खोप लगाउन योग्य करिब ९० प्रतिशतले पहिलो मात्रा लगाइसकेका छन्। तर, खोप नलगाउनेहरुले गर्दा जनस्वास्थ्यमा नै असर पर्ने देखिएपछि यस्तो निर्णय गरिएको हो।
क्यानडामा भ्याक्सिन लगाएकाहरुले मात्रै सार्वजनिक स्थान र सार्वजनिक सवारीसाधनमा प्रवेश पाउँछन्। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानडामा खोपलाई लिएर कडा व्यवस्था भएको भन्दै क्युबेकको निर्णयबारेमा भने छलफल भइरहेको बताए।
गत साता क्युबेक सरकारले खोप लगाएकाले मात्रै मदिरा र गाजा किन्न पाउने निर्णय गरेको थियो। यस्तै, रेष्टुराँमा जान, जिम वा कुनै खेलकुद गतिविधिमा जान खोप लगाएको प्रमाण देखाउनुपर्ने हुन्छ।