PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

मोदीको लिम्पियाधुरा 'कमेन्ट' बारे देउवा मौन, कांग्रेस भित्रकै प्रतिपक्षको आक्रोश : आमा लुटिँदा नबोल्नेलाई जिउँदै मरेको भनिन्छ



पहिलोपोस्ट

मोदीको लिम्पियाधुरा 'कमेन्ट' बारे देउवा मौन, कांग्रेस भित्रकै प्रतिपक्षको आक्रोश : आमा लुटिँदा नबोल्नेलाई जिउँदै मरेको भनिन्छ

काठमाडौं : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केही दिनअघि नेपाली भूमि लिम्पियाधुरामा भारतीय पक्षले सडक निर्माण गरेको र थप सडक बन्दै गरेको बताएका थिए। मोदीले नेपालको भूमिलाई भारतको भन्दै सडक निर्माण भएको भन्दै गरेको भिडियो सार्वजनिक भएपछि नेपालमा चर्को आलोचना भएको थियो।

मोदीले नेपालको भूमिमा सडक निर्माण भएको बताए पछि शेरबहादुर देउवा नेतृत्वको सरकारलाई भारतसँग जवाफ माग्न माग समेत उठ्यो। तर, देउवा सरकारले यस विषयमा भारतसँग केही प्रष्टिकरण मागेको छैन। मोदीले सार्वजनिक रुपमा नै नेपालको भूमिमाथि दाबी गरिरहँदा देउवा चुप लागेर बसेको भन्दै आलोचना समेत भयो। भारतीय मिडियाले समेत देउवाले केही नबोलेको भन्दै समाचार प्रकाशन गरे।

केही समय अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिम्पियाधुरामा सडक निर्माण भएको र थप सडक स्तोरन्नतीको काम भइरहेको बताएका थिए। केपी शर्मा ओली नेतृत्वको सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नयाँ नक्सा जारी गरेको थियो। त्यसयता मोदीले नक्सा विवादबारे अभिव्यक्ति दिएका थिएनन्। कांग्रेस नेतृत्वको सरकार बनेपछि उनले लिम्पियाधुरा भारत नै भूमि भएको भन्दै त्यहाँ सडक निर्माण भइरहेको बताएपछि नेपालमा आलोचना भएको थियो। तर, देउवा नेतृत्वको सरकारले मोदीको उक्त भनाइमा विरोध जनाएको छैन।

देउवा सरकार चुप बसिरहँदा उनकै नेतृत्वमा रहेको पार्टीका नेताहरुले भने भारतसँग जवाफ माग्नुपर्ने माग उठाएका छन्।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले भारतीय शासकले नेपाललाई हेर्ने दृष्टिकोण परिवर्तन गराउन पार्टी सभापति शेरबहादुर नेतृत्वको सरकार लाग्नु पर्ने बताएका छन्। उनले भारत सरकारलाई लिम्पियाधुराको विषयमा कुटनीतिक नोट पठाउनुपर्ने माग समेत गरेका छन्।

बुधवार स्याङ्जामा आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्री शेरबहादर देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीलाई कुटनीतिक नोट पठाउन आग्रह गरेका हुन्। उनले नेपालको स्वाधिनता अरु देशको भन्दा कम नभएको भन्दै मोदीले लिपुलेक कालापानीबारे झूटो दावी गरेको बताए।

'नेपालको स्वाधिनता सानो हुने कुरै होइन। भारत चीन बराबरै हो। यो कुरा किन बुझ्दैनन् भारतीय शासकले ? भारतीय प्रधानमन्त्रीले गरेको दावा झुटो हो। नेपालको भूमि नेपालकै हुन्छ,'गुरुङले भने।

 गुरुङले भारतीय पक्षले अबका दिनमा नेपालको भूमिबारे कुरा उठाउन नपाउनेगरी वार्ता गर्नुपर्ने बताए।

भने,'भारतलाई कुटनीतिक नोट पठाएर भारतीय प्रधानमन्त्रीसँग सिधा वार्ता गरेर अब आइन्दा भारतीय प्रधानमन्त्री र शासकहरुले कुरा उठाउन नपाउने गरेर टुङ्ग्याउन पर्छ।'

यस्तै, नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पनि शेरबहादुर देउवा सरकारमाथि निशाना साँधेका छन्। सिमाना मिचिएकोमा सरकार मौन रहेको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन्।

'देशका सिमाना मिचिँदा कोही राष्ट्रवादी बोल्दैनन्, आन्तरिक कुरा हुने हो भने बवाल गर्दछन्। देश भनेको आमा हुन्,आमा लुटिँदा नबोल्नेलाई जिउँदै मरेको भनिन्छ क्यारे,त्यसैले पीडाले आहत म आफैलाई पनि श्रद्धाञ्जली बाहेक म के भन्न सक्छु र,' भण्डारीले भनेका छन्।

गुरुङ र भण्डारी देउवा इतर समुहका नेता हुन्।

मोदीले सडक निर्माण भइरहेको बताएको भिडियो सार्वजनिक भएपछि प्रमुख प्रतिपक्ष नेकपा एमालेका साथै सत्तारुढ गठबन्धनमै रहेको नेकपा एकीकृत समाजवादीले समेत विरोध जनाइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell